एक वर्षमा हुनुपर्ने काम सात वर्षमा पनि भएन, उपमहानगरको चरम लापरबाही

जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिकाको लापरबाहीले सात वर्षमा पनि जानकी मन्दिर अगाडि रहेको तेलहा—मडहा पोखरीको सौन्दर्यीकरणको काम पुरा हुन नसकेको छैन । एक वर्षमा सौन्दर्यीकरणको काम सक्नेगरी ठेक्का सम्झौता भए पनि सात वर्षमा पनि बन्न नसकेको हो । मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम-१० स्थित पोखरी सौन्दर्यीकरणको काम एक वर्षमा सक्नेगरी २०७३ भदौ २५ मा ठेक्का लागेको थियो ।
तर ६/६ पटक म्याद थप भए पनि जनकपुरधाम उपमहानगरपालिकाको लापरबाहीलेकाम पुरा हुन सकेको छैन । हालको संघीय आयोजना कार्यान्वयन इकाईले तेलहा र मडहा ती दुवै पोखरीको सौन्दर्यकरणको काम ९५ प्रतिशत सम्पन्न भए पनि जनकपुरधाम उपमहानगरपालिकाको कारण पाँच प्रतिशत काम पुरा हुन नसकेको जनाएको छ । जनकपुरधाम उपमहानगरले पोखरीको जग्गा अतिक्रमण गरी बनाइएका संरचना र टहरा हटाउन नसक्दा केही भागमा ईटा जोडाई, फ्लामको फ्रेन्चिङ्ग र रिटेरिङ्ग वालको काम बाँकी रहेको छ ।
संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख प्रदीप खनालले मडाहा पोखरीको घाट निर्माण र तेलहा पोखरीको तिन तिर रिटेलिङ्ग वाल र दक्षिणपट्टी घाट निर्माणसहित ९५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । तर उपमहानगरपालिकाले नक्सा बमोजिम सीमाङ्कन गरिएका पोखरीको जग्गामा निर्मित संरचना र अस्थायी संरचना हटाउन नसक्दा निर्माण गर्न नसकिएको उनले बताए ।
सुगम कमल सुगम जेभी कन्स्ट्रक्सन कम्पनीले तात्कालीन शहरी विकास तथा भवन निर्माण कार्यालयबाट पाएको ठेक्काको ६/६ पटक म्याद थप भइसकेको छ । आउँदो चैत मसान्तसम्म अन्तिम पटकका लागि म्याद थप गरिएको हो । यस पटक सम्पन्न भएन भने निर्माण कम्पनीको ठेक्का नै रद्द हुनेछ । एक करोड ३७ लाख २९ हजार रुपैयाँमा लागेको ठेक्कामा अहिलेसम्म १ करोड १८ लाख ४२ हजार रुपैयाँ खर्च भइसके पनि काम भने अधुरै छ ।
प्रमुख खनालले, 'अतिक्रमित संरचना हटाउनुका साथै दुवै पोखरीको सरसफाई गर्न उपहानगरलाई पटक पटक ताकेता गर्दा पछिल्लो पटक अस्थायी संरचना हटाउन माघ २० मा ७ दिने सूचना प्रकाशित गरेको थियो । तर हालसम्म ती संरचनाहरू हटाइएको छैन ।'
जनकपुरधाम-१० को कि.नं. ११७ को २ कट्ठा, कि.नं. १३५ को मडहा पोखरी र कि.नं. १६३ को तेलहा पोखरीको ५ धुर जमीन बिक्री, जसमा संरचना निर्माण भई पसल सञ्चालनमा रहेका छन भने तेलहाको पूर्वपट्टी जग्गा अतिक्रमण भई घरसहितका स्थायी संरचना नै निर्माण भइसेकेका छन् र पश्चिमपट्टी मन्दिर र उपमहानगरको मिलोमतोमा फलफूल र प्रसाद सामाग्री वितरणका लागि जग्गा भाडामा लगाइएको छ । यसबारे जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई सम्पर्क गर्दा दिनभर मोबाइल स्वीच अफ थियो । प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीलाई पटक पटक फोन गर्दासमेत उठाएनन् ।
गैरजिम्मेवार जनप्रतिनिधि
गत कात्तिक २ गतेका दिन पोखरी सरसफाईको विषयलाई लिएर स्थानीय युवा र प्रहरीबीच झडपसमेत भएको थियो । झडपमा तीन जना घाइते भएका थिए भने ९ युवा पक्राउ परेका थिए ।
त्यस बेला उपमहानगरपालिकाका मेयर मनोज साहले ती पोखरीको सौन्दर्यकरणको काम संघीय सरकारबाट शहरी विकास तथा भवन निर्माण कार्यालयबाट भइरहेकोले हामीले त्यसमा केही गर्न नसक्ने अभिव्यक्ति दिएका थिए ।
उनले अभिव्यक्ति दिएको चार महिनापछि उपमहानगरपालिकाले पोखरीको डिल अतिक्रमणगरी बनाइएका घर, पसल र ठेलालगायतका स्थायी एवं अस्थायी खाली गर्न भनी माघ २० गतेका दिन सात दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद सकिएको तेश्रो साता बित्न लाग्दा पनि उपमहानगरपालिकाले पोखरीको डिल अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउन सकेका छैन भने पोखरीको फोहोरसमेत सरसफाई गर्न सकेको छैन ।
भ्रष्टाचारको अखडा
वर्षौदेखि सौन्दर्यीकरणको पखाईँमा रहेका ती दुवै पोखरी संघदेखि प्रदेशसम्म भ्रष्टाचारको अखडा बनेका छन् । दुवै पोखरी सौन्दर्यकरणको लागि संघीय सरकारबाट २०७१ सालमा समेत गरी दुई/दुई पटक ४० लाख निकासा गरियो तर हालसम्म त्यस बजेटबाट के कति काम भयो त्यसको अत्तोपत्तो छैन ।
प्रदेश सरकारले समेत एक पटक ४० लाख र त्यसपछि गत आर्थिक वर्ष २०७८/०७९ मा डेढ करोड रुपैयाँ ती पोखरीहरूको सौन्दर्यीकरणको लागि बजेट छुटयाएको थियो । तर के काम भयो त्यसको अत्तोपत्तो छैन ।
संघीय सरकारबाट ठेक्का लागिसकेका योजनामा प्रदेश सरकारले बजेट निकासा गर्नुको कुनै औचित्य नभई कागजमा काम सम्पन्न गरेर रकम भ्रष्टाचार गर्ने उद्देश्य रहेको आरोप लाग्दै आएको छ ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया