यस्तो छ कर्णालीमा सरकार परिवर्तनको चर्चा

सुर्खेत- केन्द्रमा नयाँ समीकरण बनेसँगै कर्णाली सरकार फेरबदलको विषयमा चर्चा सुरु हुन थालेको छ । नेकपा एमाले सरकारबाट बाहिरिए पनि मुख्यमन्त्री राजकुमार शर्मा भने आफ्नो पद सुरक्षित रहनेमा ढुक्क छन् ।
४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि २१ सिट आवश्यक पर्छ । अहिलेको अवस्थामा कांग्रेस र माओवादीको मात्र पनि पर्याप्त बहुमत पुग्छ । हाल प्रदेश सभामा माओवादीसँग १३ सिट छ नेपाली कांग्रेससँग १४ सिट छ । यस्तै नेकपा एकीकृत समाजवादीको १ सिट छ भने राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् ।
यसअघि माओवादी, कांग्रेससहित पाँच दलीय गठबन्धनका बेला कांग्रेस र माओवादीको आलोपालो मुख्यमन्त्री पद पाउने छलफल भएको थियो । उतिबेला कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नै मुख्यमन्त्रीमा निरन्तरता हुन चाहन्थे । यद्यपी चुनावको समयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्ला पुगेर कर्णालीमा शाही नै मुख्यमन्त्रीमा निरन्तरता पाउने वचन समेत दिएका थिए । जसका कारण हुम्लामा कांग्रेसले प्रतिनिधि सभा र १ सिट प्रदेश सभामा माओवादीलाई दिन राजी भएको थियो । तर, केन्द्रमा गठबन्धन टुटेपछि मुख्यमन्त्रीमा निरन्तरता पाउने शाहीको आशामा ‘ब्रेक’ लागेको थियो । पुसको अन्तिम साता एमाले, राप्रपा र समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका शर्माले एक महिना अघि मन्त्रिमण्डललाई पूर्णता दिएका थिए ।
हाल कर्णालीमा एमालेले तीन वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ । एमालेका विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्रालय, टेकराज पछाईले सामाजिक विकास मन्त्रालय र जीतबहादुर मल्लले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यस्तै माओवादीले मुख्यमन्त्रीसहित भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेको छ । माओवादीकी उर्मिला विकलाई राज्यमन्त्री समेत जिम्मेवारी दिएको छ ।
अहिले केन्द्रबाट कुनै सर्कुलर नआएकाले प्रदेशमा नयाँ समीकरणको विषयमा छलफल नभएको माओवादी कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले बताइन् । ‘अहिले सरकारको विषयमा केही छलफल भएको छैन,’ केसीले भनिन्, ‘माथिबाट सर्कुलर आएमा त्यही बमोजिम अघि बढ्छौ ।’
सभामुखको सन्दर्भमा भने केसीले कानुन बमोजिम अघि बढ्ने औँल्याइन् ।
यता कांग्रेसका सांसद जानकी सिंहले राष्ट्रपतिको चुनावपछि मात्र सरकार गठनको प्रक्रिया अघि बढ्न सक्ने बताइन् । कांग्रेस संसदीय दलका नेता शाही भने यति बेला प्रदेश बाहिर भएकाले पनि यस विषयमा छलफल हुन नसकेको उनको भनाइ थियो । एमालेले सरकार बनाउन कुनै पनि हालतमा बहुमत जुटाउन सक्ने देखिँदैन । जसका कारण तीन मन्त्री पदसँगै सभामुख पद पनि गुमाउने जोखिम देखिएको छ ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया