सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

ओलीसहित एमाले नेतालाई देउवासहित कांग्रेस नेताको जवाफ : अब सहयोग गर्न सक्दैनौँ

काठमाडौँ  : नेपाली कांग्रेसले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ । आज सभापति देउवाको निवास बुढानीलकण्ठमा भएको छलफलमा कांग्रेसले यसविषयमा स्पष्ट पारेको हो । 

‘प्रधानमन्त्रीज्यूले विश्वासको मत दिन आग्रह गर्नुभयो,’ कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले भने, ‘सहयोग गर्न नसक्ने कुरा हामीले राख्यौँ । उहाँको क्रियाकलाप, व्यवहारको हिसाबले सहयोग गर्न नसक्ने स्पष्ट छ ।’ 

 ओलीले सहयोग मागेको विषयमा उनलाई उदृत गर्दै महतले भने, ‘विश्वासको मत मैलले लिँदै छु यसमा कांग्रेसको सहयोगको अपेक्षा छ’  छलफलमा कोभिड नियन्त्रण गर्न प्रभावकारी काम गर्न नसकेको, नागरिक उपचार नपाएर अक्सिजन,बेड नपाएर पीडामा रहेको विषयमा पनि प्रधानमन्त्रीको ध्यानकर्षण गराएको कांग्रेसले जनाएको छ ।  कोभिड भ्याक्सिनमा विचौलिया मुछिएको विषयमा पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको महतले बताए ।  

त्यस्तै अध्यादेशमार्फत संवैधानिक परिषद् लगायत अध्यादेश संसदलाई छलेर ल्याएको भन्दै आपत्ति जनाएको कांग्रेसले जनाएको छ । ओलीले देउवासहितका नेतालाई लोकतन्त्रको लागि सगैँ लडेको भन्दै विश्वासको मत दिन पनि भनेका थिए ।  

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेका शीर्ष नेताहरुलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेका थिए । कांग्रेस पदाधिकारीबाट हिजो मात्रै ओलीविरुद्ध अविश्वासको मत खसाल्ने र अन्यलाई पनि अविश्वासकै मत खसाल्न पहल गर्ने निर्णय गराएका देउवालाई भेट्न ओलीसहित गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेललाई लिएर बुढानीलकण्ठ पुगेका हुन् ।

कांग्रेसको तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा.शशांक कोइराला, पूर्ण बहादुर खड्का र पूर्व महामन्त्री कृष्ण सिटाैला, पार्टी सहमहामन्त्री डा.प्रकाशशरण महत सहभागी थिए।

प्रधानमन्त्री ओली आफैँले विश्वासको मत लिन भन्दै बैशाख २७ गते प्रतिनिधि सभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गरे अनुसार बैठक बोलाइएको छ ।  कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव समूह प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताउँदै आएका छन् । एमालेकै माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने शंका कायमै छ । यसो भयो भने ओलीले विश्वासको मत पाउँदैनन् । 

त्यस्तै जेठ ६ गते राष्ट्रिय सभा उपनिर्वाचन पनि तोकिएको छ । उपनिर्वाचनमा एमालेले माओवादी छोडेर आएका गृहमन्त्री थापालाई नै उमेदवार बनाउँदै छ । यता कांग्रेस र माओवादी केन्द्रले भने डा.खिमलाल देवकोटालाई साझा उमेदवार बनाउने निर्णय गरेका छन् ।  अहिले कांग्रेस नेताहरूकाे मात्रै छलफल चलिरहेकाे छ ।