एक वर्षभित्र तनहुँलाई अन्धकारमुक्त बनाइँदै

काठमाडौँ : एक वर्षभित्र तनहुँ जिल्लालाई अन्धकारमुक्त बनाउने लक्ष्यका साथ विद्युतीकरण तीव्ररूपमा अघि बढाइएको छ । तनहुँ जलविद्युत् आयोजनाले प्रभावित भएका क्षेत्रमा विद्युत् विस्तार थालेको हो । आयोजनाले एक सय ४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको छ ।
जिल्लाको ऋषिङ गाउँपालिका-१ झापुटारस्थित उक्त आयोजनाबाट जिल्लाको साविक १७ वटा गाउँ विकास समिति प्रभावित भएका छन् । प्रभावित भएका क्षेत्रमा बिजुली विस्तारका कार्य भइरहेको आयोजना व्यवस्था निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना (तनहुँ विद्युतीकरण आयोजना)का साइट इन्चार्ज लक्ष्मण रेग्मीले जानकारी दिए ।
उक्त आयोजनाबाट प्रभावित झण्डै सात हजार घरधुरीका बासिन्दाहरू लाभान्वित हुनेछन् । 'विद्युत् विस्तारकार्यका लागि डेढ वर्षे आयोजना शुरु भए पनि बाढीपहिरो र कोरोनाका कारण सोचेअनुरुप प्रगति गर्न नसकिएको हो , उनले भने, 'सेती नदीको दक्षिण र काली नदीको उत्तर क्षेत्रमा विद्युत् विस्तारको काम भइरहेको छ ।'
जिल्लाको घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिकाको पूरै, शुक्लागण्डकी, व्यास नगरपालिका, बन्दीपुर र आँबुखैरेनीका बाँकी रहेका क्षेत्रमा विद्युत् विस्तार गर्ने काम भइरहेको उनले जानकारी दिए । बन्दीपुर गाउँपालिका–६ स्थित सराङघाट र घिरिङ गाउँपालिका–४ को सामुङमा गरी कूल तीन करोड रुपैयाँको लागतमा सबस्टेशन निर्माण भइरहेको छ ।
घिरिङ गाउँपालिकाको अन्य क्षेत्रमा बिजुली पुगे पनि गड्यौलीटारमा भने अझै पुर्याउन बाँकी छ । उनले भने , 'त्यस क्षेत्रमा तत्काल विद्युत् सञ्चालन गर्ने गरी काम भइरहेको छ ।' सबस्टेशन जडानका लागि आवश्यक पर्ने उपकरण करिब ८० प्रतिशत आइसकेको र तारहरू आउन बाँकी रहेको बताइएको छ । विद्युत् प्राधिकरण तनहुँको कार्यक्षेत्रभित्र रहेका करिब ९५ प्रतिशत क्षेत्रमा विद्युत् पहुँच पुगिसकेको प्राधिकरणका सूचना अधिकारी लोकेन्द्रबहादुर कुँवरले जानकारी दिए ।
तनहुँका सबै पालिकामा विद्युत् पुगेको भए पनि भित्री क्षेत्रमा छरिएर रहेको बस्तीमा विद्युत् पुर्याउन नसकिएको हो । उनले भने, 'त्यस्ता क्षेत्रमा विद्युत् विस्तार गरी अन्धकारमुक्त बनाउनका लागि प्राथमिकतामा राखेर काम थालिएको छ ।' विद्युत् प्राधिकरण तनहुँबाट मात्रै करिब ३६ हजार घरधुरीमा विद्युत् लाइन विस्तारकार्य भइसकेको प्राधिकरणले जनाएको छ ।
ग्रामीण क्षेत्रका सबै घरधुरीमा बिजुली विस्तारका लागि विद्युत्पोल गाड्ने, लाइन विस्तार र सबस्टेशन निर्माणलगायतका काम द्रुतगतिमा अघि बढाइएको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताए । २०६८ सालको जनगणनाअनुसार तनहुँको जनसङ्ख्या तीन लाख २३ हजार दुई सय ८८ छ । तनहुँमा ७८ हजार ३ सय ९ घरधुरी छन् भने दुई हजार ३ सय ६२ बस्तीमा छरिएर रहेको तथ्याङ्कमा उल्लेख छ । (रासस)

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया