शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

पल शाह छुटेपछि अदालतमा धर्ना

पोखरा- फागुन १४ गते बलात्कारको अभियोग भोगिरहेका कलाकार पल शाह (पूर्णविक्रम) जेलमुक्त भए । उनलाई उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो । कलाकार शाह छुटेको खुसियालीमा उनका सयौं समर्थकले र्‍याली नै आयोजना गरेको थियो ।

तर, उनी छुटेको एक हप्ता नपुग्दै अदालतले गलत नजिरको प्रतिपादन गरेर फैसला गरेको भन्दै किशोरीहरूले उच्च अदालत पोखरा बाहिर धर्ना दिएका छन् । उनीहरूले ‘गलत नजिर प्रतिपादन गर्न बन्द गर’,  ‘पितृसत्ताको पहरेदार बनेका न्यायालय होसियार’, ‘न्यायालयलाई गल्ती गर्ने छुट छैन’ भन्दै प्रदर्शन गरेका हुन् । अदालतले गरेको फैसलाले न्यायको पर्खाइमा बसेका पीडितहरूलाई अन्याय गरेकाले उक्त फैसलालाई तत्काल फिर्ता गर्नुपर्ने उनीहरूको माग छ ।

धर्नामा सहभागी सलिजा श्रेष्ठले अदालतले जुन नजिर बनाएर पलविरुद्धको फैसला गर्‍यो यसलाई तत्काल सच्चाउनुपर्ने बताइन् । ‘नवलपूर जिल्ला अदालतले बालयौन दुराचारको अभियोगमा साढे २ वर्षको सजायको फैसला सुनाएको थियो । तर, यहाँ (उच्च अदालत) बाट त्यो फैसलालाई बदर गरियो । यदि उहाँ गलत हुनुहुन्थेन भने बालयौन दुराचार अभियोग पनि लाउने थिएन नि त,’ उनले भनिन् ।

यो घटनासँगै बालिका बलात्कारको अन्य घटना परेकाहरूको पक्षमा आफूहरू धर्नामा बसेको उनले सुनाइन् । ‘पल शाहसँग सम्बन्धित घटना मात्र नभएर बालहिंसा तथा यौन हिंसाको विरुद्ध हामी बोलेका हौं,’ उनले भनिन्, ‘हाम्रो सहभागिता थोरै होला तर सत्य बोल्नका लागि भिड चाहिन्छ भन्ने छैन ।’

तनहुँ जिल्ला अदालतले बलात्कारको कसूरमा शाहलाई सफाइ दिए पनि उनी थुनामुक्त हुन पाएका थिएनन् । नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र दश लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध शाहले उच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा दाबी नपुग्ने भन्दै सफाइ पाएपछि कलाकार शाह जेलमुक्त भएका हुन् ।