सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

सरकारले मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोज्याे : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन् ।

मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरूको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको जिकिर थियो । स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबी समेत गरे ।

अध्यक्ष ओलीले मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको बताए । उनले भारतलाई खुसी पार्न प्रधानमन्त्री दाहालले त्यहाँबाट आउने तरकारीहरूको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति समेत जनाए ।

नेपालीहरू मारेर भए पनि विदेशीहरूलाई खुसी पार्ने काममा सरकार लागि परेको अध्यक्ष ओलीको भनाइ थियो । उनले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको बताए । उनले स्ववियु निर्वाचनमा अनेरास्ववियूलाई विजयी गराउने काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

अनेरास्ववियूले मुलुकको राजनीतिक परिवर्तनमा ठूलो योगदान गरेकाले स्ववियु निर्वाचनमा सोही संगठनलाई जिताउन लाग्नुपर्ने उनले बताए ।