आम निर्वाचनको झल्को दिने स्ववियु

६२ ओटा आंगिक क्याम्पस र १०४० वटा सम्बन्धन प्राप्त कलेजहरू भएको देशकै ८० प्रतिशत विद्यार्थीहरू पढ्ने त्रिभुवन विश्वविधालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही चैत्र ५ गतेलाई तोकेको छ । त्रिविले स्ववियुको मिति तय गरेपछि देशका अरु विश्वविधालयले पनि चैत्रको पहिलो हप्ताकै आसपास मिति तय गरेका छन् ।
क्याम्पसहरूमा अहिले जाने हो भने आम निर्वाचनकै झल्को दिनेगरी विद्यार्थी संगठनका साथीहरू लागि परिरहेको अनुभव हुन्छ । सम्भावित सभापतिका उम्मेदवारहरूले त आफ्नो भिजिटिङ कार्ड पनि एक महिना पहिलेदेखि नै बाड्न थालेका छन्। चुनावलाई नै देखाएर विद्यार्थीहरू माझ गएको ढोङगरी प्रशासनलाई ज्ञापन पत्र दिन विद्यार्थीहरू बिचमा अहिले प्रतिस्पर्थानै चलेको छ । यसका साथै विद्यार्थीमाझ गएर एकाई बनाउन त विद्यार्थी संगठनबीच मारामार छ । यी सबै घटनाक्रम नियाल्दा यस्तो लाग्छ, कि देश भरिनै आम चुनाव नै हुँदैछ । त्यही एकाध न्युज च्यानलले विद्यार्थी निर्वाचनलाई दलहरूको शक्ति मापनको संज्ञा दिएको र त्यही भ्रममा परेर विद्यार्थीको निर्वाचनलाई संगठनहरूले जीवन मरणको संज्ञा दिएर लागेको देख्दा उदेक लागेर आउँछ ।
निर्वाचन प्रकिया लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । निर्वाचन भएपछि जित वा हार हुनु त्यसको अर्को सामान्य पाटो हो । तर विडम्बना नेपाली समाजले जितलाई निकै ठूलो र हारलाई पीडादयक रूपमा ग्रहण गर्ने हुँदा यो विद्यार्थी संगठनमा लागू नहुने कुरै भएन । त्यही भएर विद्यार्थी संगठनहरू कोही पनि आफूले हार्ने ठाउँमा निर्वाचन गराउने चाहना राख्दैनन् । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भनेको ‘यदि समयलाई निकाली दिने हो भने हरेक मान्छे विजेता र पराजित हो’ भनाइ हाम्रो नेपाली समाजले मनन गर्न जरुरी छ । हारलाई पनि सहर्ष स्वीकार्ने वातावरण तयार गर्न अब हाम्रो समाजले ढिलो गर्न हुन्न ।
यही हारको मानसिकताबाट नेविसंघ, अखिल, अखिल (क्रान्तिकारी) संगठनहरूमाथि उठेको भए १४/१४ वर्षसम्म विद्यार्थी हकहितका कुरा गर्ने स्ववियुको निर्वाचन हरेक २/२ वर्षमा हुन्थ्यो । जसले गर्दा अहिलेका विद्यार्थीहरू माझमा विद्यार्थी संगठनको औचित्यो पुष्टि हुने त थियो नै, विद्यार्थी राजनीतिप्रति युवा पुस्ताको आकर्षण कायम रहने थियो ।
आफ्नो मुख्य चरित्र नै बिर्सिसकेका संगठनहरूले जुनसुकै हालतमा पनि चुनाव जितेर आफ्नो संगठनलाई बलियो देखाउन खोज्नु नौलो र अचम्मको कुरा हो र ?
अहिलेको युवा पुस्ता विद्यार्थी संगठनको खारेजी माग गर्दै कुनै दिन एक व्यक्तिले यसविरुद्ध महाअभियान खडा गरेको दिन यी संगठनहरू त मैदानबाट हराउने नै छन् । राजनीतिक दल पनि आफ्नो विद्यार्थी संगठनहरू खारेज गर्न बाध्य हुने छन् । किनभने नेपाली समाजमा परिवर्तनको बिगुल फुक्न मलिलो माटो तयार छ ।
नेपाली राजनीतिक परिवर्तनका चरणहरूमा विद्यार्थीले खेलेको भूमिका जतिसुकै गर्वभिलो किन होस् । घुसखोरीतन्त्र, मिलिमतोमा अनैतिक काम गराउने र दादागरी झार्ने अहिलेका विद्यार्थी संगठनहरू मुलभूत चरित्र हो । आफ्नो मुख्य चरित्र नै बिर्सिसकेका संगठनहरूले जुनसुकै हालतमा पनि चुनाव जितेर आफ्नो संगठनलाई बलियो देखाउन खोज्नु कुनै नौलो र अचम्मको कुरा भएन ।
मूल कार्यदिशा र कार्यनीति मै स्खलित संगठनहरूबाट अपेक्षा राख्ने तपाईं हामी विद्यार्थीहरू झन् मुर्ख हौं । विद्यार्थीहरू माझ गएर तिनीहरूका समस्या सुनेर ती समस्याहरूलाई स्ववियु निर्वाचनको मुख्य चुनावी मुद्दा बनाउन छाडेर आफ्ना कर्मचारी तन्त्रबाट पैसा मागेर पार्टीगत विद्यार्थीहरू चुनावकै लागि भर्ना गरेर चुनाव जित्ने दिवासपना देखेका संगठनहरूबाट तपाईं हामी जस्ता नियमित विद्यार्थीहरूले के सुधारको अपेक्षा गर्ने हो ? यो पल्टको स्ववियु चुनावको लागि संगठनको दबाबबाट, चुनावमा उठेर जित्ने आकांक्षाका साथ र भोटर बनेर आफ्नो पार्टीलाई चुनाव जिताउन देशैभरी विद्यार्थी भर्नाको दर बढेको छ ।
त्रिविको खस्कँदो पढाइले घटिरहेका विद्यार्थी संख्यामा यो पटक स्ववियु निर्वाचनले भर्नाका सन्दर्भमा नाटकीय सुधार गरे पनि यही अवस्था कायम रहने हो भने विद्यार्थीको पलायन कसैले रोक्न सक्ने वाला छैनन् ।
त्रिविले विद्यार्थी संगठनलाई दिएको अनावश्यक छुट र त्यसैको सिको गर्दै अरु विश्वविधालयले गरेका प्रावधानले गर्दा पनि पार्टीगत हतियार बनेका विद्यार्थी संगठनहरूको अघि प्रशासन मुख दर्शक छ । स्वार्थी संगठनका मागहरू विद्यार्थीको पक्षमा हुने कुरै भएन । आफ्नो समूहको फाइदा देखे सर्मथन गर्ने नभए क्याम्पसमा ताल लगाउने संघहरूलाई तपाई हामीले केका आधारमा विश्वास गर्ने ।
एउटा कुरा बोल्ने र अर्को गर्ने विद्यार्थी नेताहरू आफै पनि ढुक्कसँग स्ववियुको चुनाव हुन्छ भनेर भन्न सक्ने अवस्थामा छैनन् । भन्नका लागि भन्ने एउटा कुरा भयो तर इमानदार पूर्वक उत्तर दिन उनीहरू आँट र आत्मविश्वास छैन । किन भने नेपाली समाजले संज्ञा दिएको मिनी आम चुनावमा आफ्नो नेतृत्वमा कही पनि हार्न चाहँदैनन् । विद्यार्थी नेताहरूलाई लोकतन्त्रमा हार्नु भनेको सामान्य हो भन्ने कुरा सिकाउन नेपालको शिक्षा नीतिले सकेन भनौं या उनीहरूले हारबाट पनि सिक्न सकिन्छ भन्ने कुरा मनन् गर्न सकेन ।
जबसम्म स्ववियु चुनावलाई मिनी आम चुनावको रूपमा नेपाली समाजले हेर्छ । तबसम्म संगठनका नेताहरू यो चुनावबाट भागि रहने छन् । त्यसैले यो चुनावलाई विद्यार्थी हकहितका लागि गरिएको सामान्य लोकतान्त्रिक प्रकियाको रूपमा ग्रहण गर्न हुन हार्दिक अनुरोध छ ।
त्रिभुवन विश्वविधालय, राजनीतिकशास्त्र केन्द्रीय विभाग तेस्रो सेमेष्टरमा अध्ययनरत खनाल वाईसीएल नेपालका केन्द्रीय सदस्यका साथै वैकल्पिक ऊर्जा प्रवद्धर्न केन्द्रमा परामर्शदाता ईन्जिनियरको रूपमा कार्यरत छन् ।

साइकल चढ्ने हैसियत नभएकाले गाडी चढ्ने भए, यहि होइन् र जनताको अवस्था फेरिएको

स्ववियु र विद्यार्थी आन्दोलनको मार्ग: इतिहास र भविष्यको अवलोकन

राजनीतिक दलले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ

जरुर उठ्छ-उठ्नुपर्छ माओवादी आन्दोलन

सांसदले जनताको विश्वास जित्न काम गरेर देखाउनुपर्छ

संघीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन

‘नेपालमा वैदेशिक रोजगारको वृद्धिदर र यसको प्रभाव’

प्रतिक्रिया