पीडामा स्वास्थ्यकर्मी : जोखिमबारे भनिसाध्य छैन, जोखिम भत्ता नै बेपत्ता
भएकाले तलब भत्ता पाएका छैनन्, नयाँ स्वास्थ्यकर्मी भर्ना गर्दै प्रदेश-२ सरकार

जनकपुरधाम : नयाँ भेरिएन्टसहितको कोभिड-१९ को संक्रमण तीब्र रूपमा फेलिरहेको बेला बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीले पूरानो बक्यौता तलब र जोखिम भत्तासमेत पाएका छैनन् । पहिलो लहरको संक्रमणका क्रममा प्रदेश २ का विभिन्न कोभिड अस्पताल र आइसोलेशनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र करारमा भर्ना गरिएका कर्मचारीले अझैंसम्म पनि तलब तथा जोखिम भत्ता पाएका छैनन् ।
करारमा खटाइएकोहरूको ४ महिनाको तलब र ५ महिनाको जोखिम भत्ता तथा स्थायी दरबन्दी भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले मंसिर महिनाको तलब र ५ महिनाको जोखिम भत्ता नपाएको बताएका छन् ।अहिले दोस्रो चरणको संक्रमण तीब्ररर गतिमा फेलिरहेका बेला सरकारले ४१७ स्वास्थ्यकर्मी थप गर्ने निर्णय गरेको छ । तर, स्वास्थ्यकर्मीहरूको पूरारै बक्यौता रकम भुक्तानी भएको छैन । जोखिममा काम गरेको तल र भत्ता नदिदाँ अहिले काम गर्न समेत गाह्रो भएको उनीहरूले बताउन थालेका छन् ।
स्वास्थ्यकर्मीहरूकै पूरानो तलब र जोखिम भत्ता भुक्तानी विवादका कारण यस पटक प्रदेश २ मा कोभिड अस्पताल र आइसोलेशन कक्ष संचालन हुन सकेको छैन । पछिल्लो पटक निर्माण गरिएका कोभिड अस्पताल तथा आइसोलेशन कक्ष स्वास्थ्यकर्मी आभावकै कारण हालसम्म संचालन हुन नसकेको सम्बन्धित निकायले बताउँदै आएका छन ।
महोत्तरीस्थित जलेश्वर अस्पतालका मेडिकल सुपरिडेन्ट डा. शतिश साहले गतवर्ष खटाइएका चिकित्सक र स्वास्थ्यकर्मीहरूको तलब र जोखिम भत्ता भुक्तानी हुन नसकेको कारण अस्पतालको कोभिड वार्डमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काम गर्नबाट हिच्किचाई रहेको बताए । समाजिक विकास मन्त्रालयलाई पटक-पटक जानकारी गराए पनि हालसम्म भुक्तानी नभएको उनले बताए ।
'केही दिनअघि प्रदेश कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकमा बक्यौता रहेको तलब र जोखिम भत्ता चिकित्सकहरूलाई चाँडै उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ', उनले भने, 'तर अहिलेसम्म भएको छैन। हेरौं कहिलसम्म हुन्छ ।' हुनत सो अस्पतालमा अहिलेसम्म संक्रमितको उपचार सुरु हुन सकेको छैन । दुई/तीन दिनभित्र उपचार सुरु गरिने मेसु डा. साहले बताए ।
प्रादेशिक अस्पताल जनकपुरधामका मेसु डा. प्रमोद यादवले पहिलो लहरमा खटाइएका चिकित्सक तथा स्वास्थ्यकर्मीको बक्यौता रहेको तलब तथा जोखिम भत्ता भुक्तानी गर्न नसकिएको कारण काम गर्न समस्या भएको बताए । 'स्वास्थ्यकर्मीहरूको तलब र जोखिम भत्ता मात्रै होइन अन्य शीर्षकको पनि बक्यौता रकम सरकारले उपलब्ध गराएको छैन,' उनले भने, ' जसका कारण काम गर्न निकै समस्या भएको छ ।'
उनले पहिलो चरणमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूलाई अहिलेसम्म खटाएका काममा नखटाइएको बताए । केहीलाई भने पनि काम गर्न नमानेको उनले बताए । प्रदेश सरकारलाई पटक-पटक आग्रह गरे पनि कुनै चासो नलिएको गुनासो उनले गरे ।
प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गतको कोभिड अस्पताल र विभिन्न आइसोलेशनमा मात्रै १0२ जना स्वास्थ्यकर्मी खटाइएको थियो । तिनीहरूमध्ये स्थायी स्वास्थ्यकर्मीहरूको ५ महिनाको जोखिम भत्ता र मंसिर महिनाको तलब बक्यौता रहेको प्रादेशिक अस्पतालमा कार्यरत डा. मनोज मण्डलले बताए ।
'पूरानो बक्यौता भुक्तानीका लागि हामीले प्रदेश सरकारलाई ज्ञापन पत्र समेत बुझाएको र आन्दोलनसमेत गरेपनि हालसम्म पाउन नसकेको गुनासो डा. मण्डलले गरे । 'पूरानो बक्यौता रकम भुक्तानी र नयाँ दरबन्दीमा स्पष्ट रूपमा कति दिनका लागि काम गर्ने तथा कति भत्ता दिने कागजी सम्झौता नभएसम्म काम गर्न गाह्रो छ ।'
हाल महोत्तरीस्थित मटिहानी स्वास्थ्य चौकीमा कार्यरत डा. दिपेन्द्र साहले पनि पूरानो भुक्तानी नभएसम्म काम गर्न गाह्रो भएको बताए । पूरानो बक्यौता भुक्तानी र नयाँ दरबन्दी स्पष्ट रूपमा उल्लेख गरी कागजी आधार दिए मात्रै काम गर्न सकिने उनको भनाइ छ । 'अस्पतालले बोलाएको बैठकमा पनि हामी कुरा राखिसकेका छौं,' उनले भने, 'अहिलेसम्म स्पष्ट जवाफ आएको छैन । हामी प्रतिक्षामा छौं ।'
पूरानो भुक्तानी बाँकी रहेको अवस्थामा प्रदेश सरकारले फेरि संक्रमण फैलिन थालेपछि स्वास्थ्यकर्मी नियुक्त गर्ने कुरा गलत भएको
हेल्थ असिस्टेन्ट मुकेशकुमार सिंहले बताउँछन । 'ज्यान जोखिममा राखेर महिनौं दिन अस्पतालमा बसेर हामीले काम गर्यौ । तर पूरानौ तलबभत्ता भुक्तानी नगरी प्रदेश सरकारले फेरि काममा बोलाएपछि अन्योलमा परेको छु,' उनले भने ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले सामाजिक विकास मन्त्रालयका सचिवले भुक्तानी अड्काइदिँदा स्वास्थ्यकर्मीलाई समयमै तलबभत्ता दिन नसकिएको जिकिर गरे । हालै मन्त्रिपरिषद्स्तरीय निर्णय गरेर भुक्तानी प्रक्रिया अगाडि बढिसकेको उनले बताए ।
यता प्रदेश सरकारका मुख्य सचिव गोकर्णमणि दुवाडीले भने पूरानो तलब भुक्तानीका लागि सरकारले छलफल गरिरहेको बताए । 'जोखिम भत्ता हामीले होइन संघ सरकारले भुक्तानी गर्ने हो,' उनले भने, 'हामीले संघ सरकारले पत्रचार गरिसकेका छौं । त्यहाँबाट आएपछि मात्रै भुक्तानी गर्न सकिनेछ ।'
गएको चैत १२ गते प्रदेश सरकारविरुद्ध बक्यौता भुक्तानीको माग गर्दै कोभिड अस्पताल तथा आइसोलेशनमा खटेका चिकित्सक, स्वास्थ्यकर्मी र टेक्निसियनहरूले सडक जामगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि धर्ना दिदैं आन्दोलन नै गरेका थिए । तलब भत्ताको माग गर्दै स्वास्थ्यकर्मीहरूको समूहले गएको माध २७ गते मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।
प्रदेश २ सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार प्रदेशका आठ वटै जिल्लामा महामारीको समयमा प्रदेशको सामाजिक विकास मन्त्रालयले विज्ञापन गरी २०७७ असार मसान्तसम्मका लागि नियुक्त दिई करारमा खटाईएका स्वास्थ्यकर्मीलाई पुनः आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकसम्मका लागि सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर मन्त्रालयले थपिएको अवधिको स्थायी स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको मंसिर महिनाको तलब र जोखिम भत्ता तथा करारमा खटिएका स्वास्थ्यकर्मीहरूको चार महिनाको तलब तथा ५ जोखिम भत्ता भने अहिलेसम्म उपलब्ध गराउन सकेको छैन् ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया