कोरियामा सीप सिकेर नेपालमा उद्यम

नवलपुर- वैदेशिक रोजगारका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपालीहरू विदेश जान्छन् । वैदेशिक रोजगारमा गएका मध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप नेपाल फर्किएर प्रयोग गर्छन् ।
वैदेशिक रोजगारका क्रममा १५ वर्ष दक्षिण कोरिया बसी फर्किएका इभान गिरीले अहिले फ्रोजन मःमको व्यवसाय सुरु गरेका छन् । उनले यसरी बनाएको मःम रेष्टुराँ, होटल, क्यान्टिन लगायतमा बिक्री गर्दै आएका छन् ।
उनी यतिबेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको प्रथम गण्डकी औद्योगिक व्यापार मेलामा आफ्नो उत्पादनको बजारीकरणमा खटिएका छन् । चितवनको भरतपुर–५ तोरीखेतका गिरी कोरियामा छँदा मासिक रु तीन लाख आम्दानी गर्थे ।
गिरीले आफू उद्यमी मात्रै बनेनन् कम्पनीमा आठ जनालाई रोजगार पनि दिएका छन् । भरतपुर–५ शान्तिचोकमा ‘उरी मःम’ कम्पनी सञ्चालन गरेका छन् । कोरियन भाषाको ‘उरी’को अर्थ हाम्रो भएको उनले बताए ।
'हामीले स्वचालित मेसिनबाट चिकेन, बफ र भेज मःम उत्पादन गरेर विभिन्न डिपार्टमेन्ट स्टोर्स, रेष्टुराँ, होटल तथा क्यान्टिनमा बिक्री गरिरहेका छौँ,' गिरीले भने, 'रु बीस लाख लगानी गरी सुरु गरेको कम्पनीमा अहिले लगानी रु एक करोड पुगेको छ ।'
कोरियामा छँदा खाद्य उद्योगमा काम गरेका उनले नेपालमै केही गर्ने उद्देश्यले पाँच वर्षअघि फर्किएका थिए । सन् २०१८ मा नेपाल फर्किएपछि उनले कम्पनी सञ्चालनको प्रक्रिया सुरु गरेका थिए । सुरुमा गिरी दम्पतीले मात्रै कम्पनी सञ्चालन गरेका थिए भने पछि लगानी बढ्दै जाँदा कर्मचारी पनि थपिएको उनको भनाइ छ ।
कोरियन प्रविधि प्रयोग गरी उत्पादन गरिएको मःम फ्रोजन गरी होलसेल तथा खुद्रा बिक्री गर्दै आएको गिरीले बताए । 'मेसिनबाट उत्पादन हुने मःम फ्रोजनका लागि डिफ्रिजमा राख्नुपर्छ । छिट्टै फ्रोजन भएको मःम राम्रो हुन्छ,' गिरीले भने ।
'फ्रोजन मःमबारे आम उपभोक्तामा गलत धारणा भएका कारण कतिपय होटल, रेष्टुराँ तथा क्यान्टिनहरूले हाम्रो उत्पादन लुकाएर बिक्री गर्ने गर्नुभएको छ,' गिरीले भने, 'हाम्रो मःम ग्राहक वर्गले मन पराउनुभएको छ, तर रेष्टुराँहरूले फ्रोजन मःम हो भनेर बिक्री गर्न सक्नुभएको छैन ।'
उनले कम्पनीसँग दैनिक पाँच हजार प्लेट मःम उत्पादनको क्षमता भए हाल दैनिक दुई हजार प्लेट मःम उत्पादन भइरहेको बताए । 'मःमको बजारका लागि समस्या छैन, चितवनसहित नवलपुर, मकवानपुर, तनहुँ र पाल्पाको रामपुर पुर्याउँदै आएका छौँ,' उनले भने ।

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

नेपालमा पहिलोपटक ट्रान्सपोर्ट सेवालाई डिजिटल बनाउँदै ‘टिम भरिया’ एप

प्रतिक्रिया