भोलिको बैठकबारे के गर्लान् ओली ?

काठमाडौँ : सत्तारुढ नेकपाको बुधबार बस्ने भनिएको सचिवालय बैठक प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सार्ने संकेत गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले नेताहरूसँग भेटवार्ता थालेका छन् । मंगलबार बिहानैदेखि उनी राजनीतिक भेटवार्तामा सक्रिय रहेका हुन् । खुमलटार निवासमा उनले बिहानै महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलसँग बुधबार बस्ने सचिवालय बैठकका विषयमा छलफल गरेका थिए ।
बुधबारको सचिवालय बैठक प्रभावित हुन नदिने विषयमा दुई नेताबीच लामो छलफल भएको थियो । महासचिव पौडेलले अध्यक्ष दाहाललाई अर्का अध्यक्ष एवं प्रधानमन्त्रीओलीको जवाफमा लेखेको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि दाहालले अस्वीकार गर्दै यो आफ्नो एकल प्रस्ताव नभएको बताएका थिए । पौडेल ओलीको सन्देश बोकेर खुमलटार पुगेका थिए ।
बैठक प्रभावित पार्ने सम्भावना भएकाले पार्टीभित्रका सबै समस्या बैठकका माध्यमबाट हल गर्न दोस्रो तहका नेताहरुले सक्रियता देखाएका छन् । उनीहरूमा दल फुटको संघारमा पुगेकोमा चिन्ता पनि उस्तै छ । प्रधानमन्त्री ओलीको सबै चाल बुझेका दाहालले स्थायी कमिटी सदस्यहरूसँग पनि छलफल गरेका छन् ।
उनले पूर्व माओवादीका नेताहरू टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हरिबोल गजुरेल लगायतका नेताहरूसँग पनि छलफल गरेका थिए । बहुमत सचिवालय सदस्यसँग त उनी नियमित छलफलमा नै छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले दाहालको राजनीतिक प्रस्ताव फिर्ता नभए बैठक सार्ने बताएसँगै स्थायी समितिका सदस्यहरूसँग पनि दाहालले सल्लाह सुझाव मागेका हुन् ।
बुधबार सचिवालय बैठक जसरी पनि बस्छ । के कारण छ र रोक्ने ?
‘भोलिको सचिवालय बैठकको विषयमा छलफल गर्न अध्यक्षले बोलाउनु भएको हो । खासगरी भोलि हुने सचिवालय बैठकमा ओली पक्षधर भनेर देखिएकाहरू नआए कसरी अगाडि बढ्ने भन्ने विषयमा नै छलफल भएको छ’, एक सदस्यले बताए ।
'पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयास पनि जारी छ । आशा छ, संकटका बादलहरू हटेर जानेछन् । कमरेडहरूलाई आग्रह छ, नीतिगत बहस गरौँ, आरोप-प्रत्यारोप नगरौँ ,' परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ट्वीटरमा लेखेका छन्, 'एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ।आहानै छ, खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नुपर्छ ।' दोस्रो तहका नेताहरूले सामाजिक संजालमा लेख्न पर्ने अवस्था आउनु पक्कै सुखद् हाेइन ।
भोलिको सचिवालय बैठक प्रभावित हुन नदिन नेताहरूले अध्यक्षहरूसँग भेटेर छलफल गरिरहेका छन् । पार्टीभित्रका समस्या बैठकका माध्यमबाट समाधान गर्नुपर्ने दोस्रो तहका नेताको भनाइ छ । यही भएर बहुमत सचिवालय सदस्य बुधबारको बैठक नरोक्ने पक्षमा छन् ।
वरिष्ठ नेता झलनाथ खनालले भोलिको बैठक कुनै पनि हालत नरोकिने बताए । ‘बुधबार सचिवालय बैठक जसरी पनि बस्छ । के कारण छ र रोक्ने ? यदि निर्णय केही गर्नुपर्ने भए बैठकमै गर्दा हुन्छ । निर्णय लिने स्थान नै बैठक हो । जे हुन्छ त्यही हुन्छ,’ नेता खनालले भने ।
बहुमत सचिवालय सदस्य बैठकको पक्षमा रहेकाले बैठक स्थगित नहुने नेकपा नेताहरूले बताइरहँदा आशंका यथावत छ । प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालको राजनीतिक प्रस्ताव फिर्ता नलिए बैठक बस्न नसक्ने अडान लिएका कारण पनि यस्तो आशंका भएको हो ।
भोलि बस्ने पूर्वनिर्धारित सचिवालय बैठक स्थगन गर्ने तयारीमा ओली समूह छ भने समयमा बैठक गर्ने पक्षमा बहुमत नेताहरू रहेका छन् । एक नेताका अनुसार प्रधानमन्त्री ओलीले २८ गते पेस भएको राजनीतिक प्रस्ताव फिर्ता नलिएसम्म बैठक नराख्ने आफु निकटका नेताहरू समक्ष बताइसकेका छन् ।
पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयास पनि जारी छ । आशा छ, संकटका बादलहरू हटेर जानेछन् ।
आइतबार साँझ ओली समूहका नेताहरुले अध्यक्ष दाहालको राजनीतिक प्रस्तावको जवाफ दिन आवश्यक नभएको सुझाव दिएका थिए । सोहीअनुसार प्रधानमन्त्रीले पनि उक्त प्रस्ताव फिर्ता लिन दूतहरूमार्फत दाहालसँग पहल गर्दैछन् । जसका कारण भोलिको बैठक बस्न नसक्ने आधार रहेको एक नेताले बताए । तर, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक स्थगित नहुने जानकारी दिएका छन् ।
बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री ओलीले उक्त प्रस्तावको जवाफ दिनुपर्ने बताएका छन् । ओली निकटका केही नेताहरुले दाहालको पत्रको जवाफ दिनु नपर्ने अडान राख्दै आए पनि बहुमत सचिवालय सदस्यविरुध्द जान ओली सक्दैनन् । अध्यक्ष दाहालको पत्रलाई ओली पक्षधरले आरोपपत्रको संज्ञा दिँदै आएका छन् ।
आइतबार साँझ बालुवाटारमा भएको भेटवार्तामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले अध्यक्ष दाहालको पत्रको जवाफ नदिन प्रधानमन्त्रीलाई सुझाएका थिए । त्यसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका थिए ।
उनले अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । तर, जवाफमा दुवै नेताहरुले उक्त प्रस्ताव पाँच जना सचिवालय सदस्यहरूको छलफलबाट तयार भएको बताउँदै बैठकमा फेस गर्न आग्रह गरेका थिए ।
ओलीले उपाध्यक्ष गौतमलाई दाहालको राजनीतिक प्रस्ताव फिर्ता लिन पहल गर्न आग्रह गर्दै प्रस्ताव फिर्ता नलिए संकट थप चुलिने संकेत गरेका थिए । जवाफमा गौतमले प्रधानमन्त्रीको कार्यशैली नसच्चिएसम्म उक्त प्रस्ताव फिर्ता नहुने जवाफ फर्काएको जानकारी पनि नेताहरूले दिए ।

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

प्रतिक्रिया