नेपाली तानमा बनाइएको 'नेचुरल कार्पेट' अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने

पाेखरा- २५ जना महिलाले झन्डै छ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ ।
ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले तयार पारेको उक्त कार्पेट १६ मिटर लामो रहेको संस्थाका संस्थापक कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिइन् ।
उनका अनुसार सुतीकाे धागोबाट जडीबुटी र फलफूलको रस प्रयोग गरी ‘केमिकल’रहित कार्पेट तयार पारिएको हो । नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउनका लागि कार्पेट तयार पारिएको उनले बताइन् ।
कार्पेटको बीच भागमा विभिन्न चित्र, नक्सा अङ्कित गरिएको छ । उनका अनुसार मोबाइल एपमार्फत कार्पेट बनाउँदा प्रयोग भएका कच्चा पदार्थका साथै तयार पार्ने महिलाको कथा हेर्न सकिनेछ । सोह्र मिटर लामो कार्पेटसँगै डेढ मिटरका अन्य २४ वटा साना नेचुरल कार्पेट पनि तयार गरिएको छ ।
ब्रिटिस काउन्सिलले गरिबी निवारणका लागि एकल, द्वन्द्वपीडित, हिंसापीडित, अपाङ्गता भएका एवं पछाडि पारिएका महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनका लागि ल्याएको कार्यक्रममा संस्थाको सहकार्य रहेको खड्काको भनाइ छ ।
'कार्पेट प्रदर्शनीका लागि मात्रै भएकाले मूल्य तोकेका छैनौँ,' उनले भनिन्, 'विभिन्न देशमा यसलाई प्रदर्शन गर्ने हाम्रो योजना अनुसार बेलायतबाट यसको सुरुआत गर्नेछौँ ।'
उनका अनुसार प्रदर्शनीपछि यसलाई बेलायतकै विश्वविद्यालयमा राखिने छ । प्रदर्शनपछि माग आएमा नयाँ कार्पेट तयार गरी मूल्य निर्धारण गरिनेछ ।
पोखरा महानगरको सहयोगमा मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा संस्थाबाट उत्पादित सामग्री प्रदर्शनीसँगै उक्त कार्पेटलाई पनि प्रदर्शन गरिएको थियो । विसं २०३२ मा स्थापना भएको महिला सीप विकास संस्थाले विशेष गरी आर्थिक रूपमा विपन्न, अपाङ्गता भएका, एकल र द्वन्द्वपीडित महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनका लागि पहल गर्दै आएको संस्थाका अध्यक्ष देवी गुरुङले जानकारी दिइन् ।
‘स्वदेशी हस्तकला सामानको प्रयोग गराैँ, स्वरोजगार सिर्जना गरौँ, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ ४७ वर्षदेखि हस्तकलाका सामग्री उत्पादन तथा निर्यातमा सक्रिय संस्थाले झन्डै एक हजारभन्दा बढी सामग्री उत्पादन गर्दै आएको छ ।
अध्यक्ष गुरुङका अनुसार हालसम्म करिब २१ हजार महिलालाई संस्थाले तालिम प्रदान गरिसकेको छ । हाल तीन सय ५० जना महिला उद्यमी संस्थामा आबद्ध छन् ।
संस्थाले झोला, पर्स, गुडिया र सजावटका सामान उत्पादन गर्दछ । स्थानीय कच्चा पदार्थ, अल्लो, मकैको खोस्टाबाट फूल, गुडियालगायतका अनेकौँ सामान उत्पादन गर्दछ । उत्पादनको ८० प्रतिशत विदेशी बजारमा निर्यात हुने गरेको छ भने बाँकी २० प्रतिशत आन्तरिक खपत हुने गरेको संस्थाको भनाइ छ ।
संस्थाले हस्तकला सामान निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्न सफल भएको संस्थाकी कार्यकारी निर्देशक खड्काको भनाइ छ । संस्थाका उत्पादन खासगरी अमेरिका, जर्मनी, इटाली, कोरिया, क्यानडा, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशमा निर्यात हुने उनले जानकारी दिइन् ।

अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

प्रतिक्रिया