आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट तीन जनाले उम्मेदवारी दिने

काठमाडौँ- सत्ता गठबन्धनको बैठकमा उपराष्ट्रपतिमा सहमति जुट्‌न सकेको छैन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति जुट्‌न नसकेको हो ।

आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । आज सत्ता गठबन्धनबाट तीन जनाले उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने र भोलि शीर्ष नेताबीच छलफल गरेर अन्तिम टुंगो लगाउने बैठकमा सहभागी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बताए ।

जनमत पार्टीले पनि ममता झालाई उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गराउने राउतले बताए । उनले उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि सोही रहेको भन्दै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने बताए ।

उनले जनता समाजवादी पार्टी नेपालले पनि दुई जनाको उम्मेदवारी गर्ने अवस्था देखिएको बताए ।

‘आज १० दलको बैठक थियो । उपराष्ट्रपतिको उम्मेदवारबारेमा छलफल भयो । उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको छ । हामीले पनि महिला नै सकेसम्म उठाउनुपर्ने, त्यसमा रिस्क नलिने भन्ने कुरा भयो । किनभने त्यसमा निर्वाचन आयोगले जुन निर्णय गरेको छ । त्यसमा संविधानको धारा ३८ प्रयोग गरिएको छ । त्यो आधारमा जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्नेछ' उनले भने 'आज जसपाले पनि सम्भवतः दर्ता गर्नेछ । भोलिसम्ममा निस्कर्ष निस्केर एउटा मात्रै उम्मेदवार कायम हुने देखिन्छ । गठबन्धनबाट तीन जना उम्मेदवार हुने सम्भावना देखिएको छ ।  जसपाबाट २ जना उम्मेदवार बनाउने अवस्था देखिएको छ ।’

अध्यक्ष राउतले गठबन्धनबाट आज तीन जनाको उम्मेदवारी पर्ने अवस्था देखिए पनि आइतबारसम्म सर्वसम्मतिले एक जना मात्रै उम्मेदवारी हुने बताए ।