एनएसएलः विराटनगरमाथि रोमाञ्चक जित दर्ता गर्दै काठमाडौँ प्लेअफमा

काठमाडौँ: काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) मा बिहीबार काठमाडौँ रेजर्सले विराटनगर सिटी एफसीमाथि ५-४ को रोमाञ्चक जित दर्ता गरेको छ । दुई गोलले पछि परेको अवस्थालाई उल्टाउदै काठमाडौँले विराटनगरलाई हराएको हो ।
एनएसएलमा काठमाडौँले हासिल गरेको यो तेस्रो जित हो । विराटनगरसँग भिड्नु अगाडि काठमाडौँको खातामा दुई जित र एक बराबरी थियो । ती तीन खेलमा काठमाडौँले कुल दुई गोल गरेको थियो । तर अफ्रिकी खेलाडी मेसौके ओलौमौउले ह्याट्रिक गरेपछि काठमाडौँले विराटनगरको पोष्टमा पाँच गोल गर्यो ।
जितसँगै काठमाडौँले १० अंक बनायो र प्लेअफका लागि छनौट हुने दोस्रो टिम बन्यो । धनगढी एफसीले यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ । पराजित विराटनगरको भने सात अंक छ । विराटनगरले लिग चरणको आफ्नो अन्तिम खेलमा ललितपुर एफसीको सामना गर्नेछ । प्लेअफ प्रवेशका लागि विराटनगरले त्यस खेलमा जित हासिल गर्नुपर्नेछ ।
खेलमा विराटनगरले सुरुवाती अग्रता लियो । अडेलजा ओलुवावुन्मीले छैँठौँ मिनेटमा गोल गर्दै विराटनगरलाई अघि बढाए । ३३ औँ मिनेटमा विराटनगरले अग्रता दोब्बर बनायो । यसपटक गोल गरे पेड्रो मान्जीले । तर त्यसको तीन मिनेटपछि नै काठमाडौँले गोल फर्कायो । ओलौमौउले काठमाडौँको पहिलो गोल गरे । उनै ओलौमौउले तीन मिनेटपछि खेललाई २-२ को अवस्थामा ल्याइपुर्याए । काठमाडौँ त्यतिमै रोकिएन । ४१ औँ मिनेटमा स्टेफन विनोङले गोल गर्दा काठमाडौँ खेलमा ३-२ ले अघि बढ्यो ।
दोस्रो हाफको ६८ औँ मिनेटमा ओलौमौउले ह्याट्रिक पूरा गर्दा काठमाडौँले ४-२ को अग्रता बनायो । रन्जित धिमालले ७९ औँ मिनेटमा गोल गर्दा विराटनगरले खेलमा फर्कने संकेत गर्यो । तर छिरिङ गुरुङले काठमाडौँको पाँचौ गोल गरेपछि खेल ५-३ को अवस्थामा पुग्यो । मान्जीले इन्जुरी टाइममा ब्यक्तिगत दोस्रो गोल थपे । तर त्यो विराटनगरको हार रोक्न पर्याप्त भएन ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया