मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

तस्बिरमा दया, कर्म, मेनुका र साम्राज्ञीको अभिनय रहने ‘नांगो गाउँ’को वर्कसप

काठमाडौँ  - दीपेन्द्र लामाको निर्देशन रहने ‘नांगो गाउँ’ले फिल्म भित्रका विभिन्न विभागको १५ दिने वर्कसप सम्पन्न भएको छ । निर्देशक लामाले निर्देशन टिम, प्रोडक्सन डिजाइन टिम, छायांकन टिम र कस्ट्युम टिमको अलग अलग वर्कसप गरिएको जानकारी गराए । कलाकारबाहेकको वर्कसपपछि बल्ल कलाकारको टिमसँग वर्कसप सञ्चालन भएको थियो । 

निर्देशक लामाले सुटिङको समय सजिलो बनाउन पहिलाका फिल्ममा पनि वर्कसप गर्ने गरेको भए पनि पहिलेका वर्कसप कलाकार केन्द्रित मात्र रहने गरेकोमा यो पटक अरु विभाग पनि समावेश गरेको बताए ।चलचित्र ‘नांगो गाउँ’लाई कलात्मक र प्राविधिक रुपमा परिपक्व बनाउन वर्कसप सञ्चालन गरिएको निर्देशक दीपेन्द्र लामाले बताए । ‘मैले अहिलेसम्म यतिको घनिभूत किसिमले वर्कसप गरेको थिइनँ । कलाकार तथा प्राविधिकहरूको सक्रियता पूर्वक सहभागिता जनाउनुभयो । वर्कसपबाट म आफूले पनि कतिपय पक्षमा स्पष्ट हुने र सिक्ने अवसर पाएँ,’ दीपेन्द्रले भने ।

 कलाकारको वर्कसपमा दयाहाङ राई, कर्म, मिरुना मगर, शिशिर बाङ्देल, बुद्धि तामाङ, अंकित खड्का र रवीन्द्र झा सहभागी भए । कलाकारलाई पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य–तथ्य संरचनाका विषयमा प्रकाश पारिएको लामाले बताए । निर्देशन टिम र कलाकाअर टिमबीचको अन्तक्र्रिया  रचनात्मक र प्रगतिशील बनाइएको पनि उनको भनाइ थियो । ‘कुनै पनि पात्रले कुन संवाद किन बोल्दैछ ? कुन पहिरन किन पहिरिँदैछ ? कथालाई अगाडि बढाउन उसको के भूमिका छ ? लगायतको कुरा विश्लेषण गरिएको थियो,’लामाले बताए । 

 वर्कसपको सहजीकरण राजेश विश्वकर्माले गरेका थिए । यस्तो खालको वर्कसपले पटकथामा लेखिएका दृश्यहरुलाई सशक्त रुपमा पर्दामा उतार्न सहयोग मिल्ने अभिनेता दयाहाङले बताए । त्यस्तै मिरुनाले वर्कसप आफूलाई अत्यन्तै फलदायी भएको अनुभव सुनाइन् । साम्राज्ञी शाह नेपालबाहिर रहेकीले वर्कसपमा सहभागी भएकी थिइनन् । ‘नांगो गाउँ’मा हिमाल शर्माको निर्माण रहेको छ भने फिल्मलाई दीपेन्द्र स्वंयले लेखेका हुन् । आलोक शुक्लाको छायांकन रहेको चलचित्र ‘नांगो गाउँ’को छायांकन यही चैत १० बाट काभ्रेमा सुरु हुने भएको छ ।