आज रातिदेखि रौतहटमा पनि निषेधाज्ञा

जनकपुरधाम : कोभिड–१९ संक्रमण तीब्र रूपमा बढदै गएपछि प्रदेश २ को रौतहटमा पनि आज रातिदेखि एक साताका लागि निषेधाज्ञा लगाइने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा वैशाख २४ गते शुक्रबार राति १२ बजेदेखि वैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि जिल्लाभरी निषेधाज्ञा जारी गरिएको हो ।
संक्रमणको चेन ब्रेकगरी रोकथाम तथा नियन्त्रण गर्न सरकारको निर्णय तथा जिल्लामा संक्रमणको अवस्थाको मूल्यांकनगरी जिल्लाभरि लागू हुने गरी निषेधाज्ञा लगाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने उनले बताए । उनकाअनुसार एकसातासम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञामा बन्द गरिएको जिप्रकाद्वारा जारी सूचनामा उल्लेख छ ।
औषधि उपचार एवं सूचनामा उल्लेख भए बमोजिमका अत्यावश्यक काम बाहेक सबै सेवा बन्द गरिएको र सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।
निषेधाज्ञा अवधिभरि हाट बजार, पसल, व्यवसाय सहित सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, ब्युटिपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद लगायतका सञ्चालन गर्नसमेत रोक लगाइएको सूचनामा उल्लेख छ ।
यसका साथै विवाह, व्रतवन्धजस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जनासम्म सहभागी भई स्वास्थ्य मापदण्ड पूरा गरी गर्न सकिने र सो प्रयोजनमा बढीमा २ वटा साना गाडी र एउटा ठूलो गाडीमा शुभविवाहको ब्यानर राखेर सञ्चालन गर्न सकिने प्रजिअ यादवद्वारा जारी सूचनामा भनिएको छ ।
निषेधाज्ञा आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ । यसअघि प्रदेश २ का पर्सा, धनुषा, महोत्तरी र बारा जिल्लामा निषेधाज्ञा जारी रहेको छ भने सप्तरीमा शनिवार बिहान ६ बजेदेखि निषेधाज्ञा लगाइने भएको छ ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया