आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

बिहारमा बिजुली निर्यातको सम्भावना

नेपाल–भारत विद्युत् आदान–प्रदान समितिको १४ औं बैठकमा नेपालको वर्षायामको बिजुली बिहारमा निर्यात गर्ने सम्बन्धमा एक महिनाभित्र ‘मोडालिटी’ तयार गर्ने सहमति भएको छ । वर्षायामअघि नै यसलाई तार्किक निष्कर्षमा पुर्‍याउने दुई मुलुकबीच भएको सहमतिले ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग अझ वृद्धि हुने अपेक्षा घनीभूत भएको छ । दुई मुलुकबीच ऊर्जा क्षेत्रमा सहकार्यबारे धेरै चरणमा छलफल र बहस हुँदा ४५२ मेगावाटसम्मको बिजुली निर्यातको ढोका खुलिसकेको छ— भारतको ऊर्जा विनिमय (आईईएक्स) मा ।

पछिल्लोपटक नेपाल भारत ऊर्जा सचिव स्तरीय बैठकमा नेपाली पक्षले वर्षायामको बिजुली बिहार राज्य वा बिहारका प्रसारण संरचना उपयोग गरी भारतको केन्द्रीय ग्रीडसम्म नेपालको बिजुली लैजाने प्रस्ताव गरेको थियो । नेपालको उक्त प्रस्ताव उपर सचिव स्तरीय बैठकले ऊर्जा आदान प्रदान समितिलाई यस सम्बन्धी निर्णय लिन कार्यादेश दिएको थियो । सोही कार्यादेश अनुसार गत शुक्रबार भारतसँग भएको बैठकमा एक महिनाभित्र के कसरी बिजुली लैजाने भन्ने तय गर्ने सहमति भएको हो । यो सहमतिअनुसार आगामी वर्षायामअघि नै मोडालिटी तय गर्ने भनिएको छ । यसपालिको आउँदो वर्षायाममा करिब ५ सय मेगावाट बिजुलीको बिहारलाई बेच्ने योजना नेपाल विद्युत् प्राधिकरणको छ । उक्त योजना साकार पार्न दुवै देशका अधिकारीबीच एकप्रकारको सहमति भइसकेको हुनाले आशावादी हुने ठाउँ पनि छ । 

भारत आफैमा नवीकरणीय ऊर्जा अभावग्रस्त मुलुक हो । त्यसमाथि भारतले अन्तर्राष्ट्रिय मञ्चहरुमा नवीकरणीय ऊर्जा उपयोगलाई जोड दिने वाचा गरिसकेको छ । विशेष गरी करिब दुई तिहाई गैरनवीकरणीय ऊर्जाको हिस्सा रहेको भारतलाई नवीकरणीयमा जान आन्तरिक र बाह्य दुबै दबाब छ । यसकारण भारतको ऊर्जा आवश्यकताको सम्बोधन केही हदसम्म भए पनि नेपालले गर्न सक्छ । फेरि नेपाल र भारतबीच ऊर्जा उत्पादन र खपतको प्रकृति पनि ठ्याक्कै मिलेको छ । भारतमा ऊर्जा माग र खपत ज्यादा भएका बखत नेपालमा जलविद्युत् उत्पादन जडित क्षमताअनुसार नै हुने गर्छ । भारतमा ऊर्जाको खपत कम भएका बखत नेपालमा माग बढी हुने गर्छ । यही भएर हामी वर्षायाममा बिजुली निर्यात गर्छाैं र हिउँदयाममा आयात ।

दुई देशबीच विभिन्न द्विपक्षीय संयन्त्रका बैठकहरुमा अन्तर्देशीय प्रसारण लाइन नयाँ निर्माण गर्ने, विद्यमान प्रसारण लाइनको क्षमता बढाउने वा अद्यावधिक गर्ने । बिजुली कारोबारको परिमाणलाई अझ बढाउनेलगायतका सहमति भएका छन् । त्यसअनुसार ४०० केभी र २०० केभीका नयाँ प्रसारण लाइन बनाउने सहमति भएको छ । सहमति कार्यान्वयन गर्न बुटबल–गोरखपुर ४०० केभीमा तीव्र गतिमा काम अघि बढेको छ । नयाँ प्रस्तावित ४०० केभीका थप लाइनहरुमा पनि काम अघि बढेका छन् । ढल्केबर मुजफ्फपुर ४०० केभीको प्रसारण क्षमता ८ सय मेगावाट तुल्याएको छ । अन्य विद्यमान १३२ केभीका प्रसारण लाइनबाट ४ सय मेगावाट र ढल्केबाट ८ सय गरी नेपालले अहिले नै १२ सय मेगावाट बिजुली भारत पठाउन सक्छ । आगामी दिनमा बन्ने नयाँ प्रसारण लाइनहरुले यस्तो क्षमता अझ बढाउनेछ ।

प्रसारण लाइनमा भारत गम्भीर हुनुको अर्थ भोलिका दिनमा उसले नेपालको बिजुली लैजाने योजना बनाएको सहजै अनुमान गर्न सकिन्छ । ऊर्जा वार्ता कर्मचारी तहमा मात्र सीमित हुँदै आएको छ । अब सरकारले पूर्णता पाएपछि मन्त्री वा प्रधानमन्त्रीस्तरमै ऊर्जा सहकार्यमा घनीभूत छलफल र बहस हुनुपर्छ । राजनीतिक तहमा हुने सैद्धान्तिक, नीतिगत र कार्यगत निर्णयले कर्मचारीतन्त्रमा काम गर्न मद्दत पुग्छ । त्यसकारण राजनीतिक तह नै गम्भीर हुनुपर्ने जरुरी छ ।

बिहारको निर्णयको प्रतीक्षामा रहेको नेपाल विद्युत् प्राधिकरणले आगामी वर्षायाममा जगेडा बिजुली पठाउने अनुमति पायो भने दु्ई देशको आर्थिक, सामाजिक, सांस्कृतिक र जनस्तरमा कायम रहेको सम्बन्ध अझ बढ्नेछ ।