मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेस गरेको प्रस्तावमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ ।
 
उनले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रस्ताव पेस गरेका हुन् ।
 
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले तीन महिना पुग्दा नपुग्दै दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
 
यसअघि नेकपा एमालेसहितका राजनीतिक दलको प्रस्ताव र समर्थनमा उहाँले ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेर एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन अवस्था आएको हो ।
 
यसअघि प्रतिनिधिसभाको आजको बैठकमा दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा छलफल भई प्रधामन्त्रीले उठेका प्रश्नको जवाफ दिइसकेका छन् ।
 
बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमाथि सदस्यको हस्ताक्षरसहितको मत विभाजनको आधारमा छिनोफानो हुने र त्यसका लागि आवश्यक  प्रक्रिया सुरु भएको जानकारी दिए ।