सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

कहर

हिजोआज
मानौँ कुनै विभीषिकाको भयले तर्सिएको
कम्पित जीर्ण शरीर जस्तै
सिरानीमुनि सपना थन्क्याएर   
मनभरि छट्पटीको पहाड उचाल्दै
केही थान आँखा
चिहाइरहेछन् जिन्दगी खट्प्वालबाट ।१।

हिजोआज
खेत र खलियानहरू
बारी र बस्तीहरू
सहर र सडकहरू
सुनसान छन्
तर रातलाई चिर्दै झ्याउँकिरीको स्वरमा
कर्कस ध्वनि निकाल्दै
मडारिरहेछ डरको तुवाँलो
तर स्यालहरू
उद्यत छन् कफन र कात्रोमा र्‍याल काढ्न
र कमिसन खोज्‍न यन्त्र र उपकरणमा ।२।

हिजोआज
शक्तिको शिखरमा
क्षेप्यास्त्र, अणु र परमाणुले चुलिएकाहरू
अहमं र आवेगभन्दा बाहिर
शस्त्र र अस्त्रभन्दा पर
औँलामा ब्रह्माण्ड नचाउन खोज्नेहरू
पराजित हुँदैछन् सूक्ष्म विषाणुसँग
भयातुर छन् सुरक्षित हुन
बेरिएर प्लास्टिकको पोकामा ।३।

हिजोआज
तिमी र म
भोग्दैछौँ लकडाउन
सिक्दैछौँ क्वारिन्टाइन र आइसोलेसन
आफ्नासँग टाढिएर बाँच्‍ने सीप
ढोका थुनेर मृत्यु जित्‍ने कला
अनि हरेक दिन,
मृत्युका खबरले तानिरहेछौँ टेलिबारहरू
र बनाइरहेछौँ रेखाचित्र
उकालो लागेको नेप्सेजस्तै ।४।