एकल महिलाको जीवनस्तर उकास्न पाठापाठी वितरण

उर्लाबारी - विभिन्न कारणले समाजमा एकल जिवन बिताइरहेका महिलाको जीवनस्तर उकास्ने उद्देश्यले मोरङको उर्लाबारी नगरपालिका–२ ले वडामा रहेका १३ एकल महिलालाई सहयोग गरेको छ । वडा नं २ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १३ एकल महिलालाई बाख्राका पाठापाठी वितरण गरेको हो ।
वडाले ‘लक्षित वर्ग उत्थान कार्यक्रम’अन्तर्गत आम्दानीको स्रोत नभएका एकल महिलाका लागि घरमै बसेर आर्थिक उपार्जन गर्नसक्ने गरी दिगो आर्थिक स्रोतको पहिचान गरी पाठापाठी वितरण गरिएको वडाध्यक्ष कुमार कँडेल (राजन)ले बताए ।
क्यान्सरका कारण श्रीमान् बितेपछि एक्लै सङ्घर्ष गरेर जीवन बिताइरहेकी स्थानीय सीता नेपाली वडाले सहयोग गरेपछि खुसी भएकी छिन् । 'श्रीमान् बिरामी पर्दा पनि वडाध्यक्षले सहयोग गर्नुभएको थियो । श्रीमान् बितेपछि छोराछोरी पढाउने, हुर्काउने जिम्मा आफैलाई आएको छ । वडाले सहयोग गरेको छ, अब यसैलाई मलजल गरेर अगाडि बढ्दै जानुछ', उनले भनिन् ।
आर्थिक अभावका कारण जीविकोपार्जनका लागि संघर्ष गरिरहेका दुई एकल महिला भानी धिमाल र रेखा उराउ पनि वडाले बाख्राका पाठापाठी लिएर सहयोग गरेकामा खुसी लागेको बताउँछन् । उराउ भन्छिन्, 'श्रीमान् बितेपछि बिहान बेलुका हातमुख जोड्नै गाह्रो भइरहेको अवस्थामा छोराछोरीलाई पढाउन किताब, कपी, डटपेन कसरी किन्ने भन्ने पिरलो परिरहन्थ्यो । अब यिनै पाठापाठीलाई स्याहार गर्छौं र आयआर्जनको बाटो बनाउँछौँ ।'
एकल महिलाको जीवनस्तर उकास्ने उद्देश्यले चालु आर्थिक वर्ष २०७९/८० को वडास्तरीय बजेटअन्तर्गत रू एक लाख विनियोजन गरी नगर उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्ष राजनकुमार कँडेललगायतले बाख्राका पाठापाठी वितरण गरेका हुन् । रासस

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफल समाप्त

एसियाली राजमार्ग : काँकडभिट्टा-लौकही खण्डमा कालोपत्र थालियो

कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

भोजपुरमा विद्युत् सेवा विस्तार

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

प्रतिक्रिया