बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

प्रशिक्षक रहेका पितालाई टेनिस स्टार केनिनले गरिन् बर्खास्त

काठमाडौँ: टेनिसमा खेलाडीले प्रशिक्षक परिवर्तन गर्नु नौलो कुरा होइन । सोफिया केनिनले पनि आफूले प्रशिक्षक परिवर्तन गर्न लागेको घोषणा गरिन् । २२ वर्षीय  केनिनका आफ्नै पिता एलेक्सको प्रशिक्षणमा खेल्दै आएकी थिइन् । अब केनिनसँग नयाँ प्रशिक्षण टिम हुनेछ । 

केनिनले एलेक्सको प्रशिक्षणमा खेल्दै सन् २०२० को अस्ट्रेलियन ओपन जितेकी थिइन् । त्यही वर्ष उनी फ्रेन्च ओपनको फाइनलमा पनि पुगिन् । पिताको प्रशिक्षणमा सन्तोषजनक प्रदर्शन गर्नसके पनि केनिनले नयाँ टेक्निकल टिमसँग प्रशिक्षण लिन चाहेकी हुन् । 

‘यो निर्णय गर्न मलाई सहज भएन । म यहाँसम्म आइपुग्‍न मेरो पिताको ठूलो भूमिका छ । अब म नयाँ प्रशिक्षकसँग काम गर्न चाहन्छु,’ महिलातर्फको विश्‍व वरियतामा चौँथो नम्बरमा रहेकी केनिनले शुक्रबार इन्स्टाग्राममा आफ्नो निर्णय सार्वजनिक गरेकी छिन् । अस्ट्रेलियन ओपन जित्‍नुअघि केनिन एकपटक मात्रै ग्रान्डस्लामको चौँथो चरण पुग्‍न सकेकी थिइन् ।