चीनबाट १० लाख खोप नेपाल ल्याइँदै

बेइजिङ : चीनबाट कोभिड-१९ विरूद्धको खोप नेपाल पठाउन चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डे हाल सक्रिय रहेका छन् । उनको पहलमा यसै मे महिनाको अन्तसम्ममा दश लाख खोप नेपाल भित्रिने पक्का भइसकेको छ । साथै अर्को दश लाख खोप जुनसम्ममा नेपाल पठाउन तयारी भइरहेको पनि उनले बताए । राजदूत पाण्डेले भने, ‘मिति फिक्स्ड भएको छैन तर दश लाख मेको अन्तसम्म पुग्ने र अर्को दश लाख दुई तीन दिन तलमाथि हुनसक्छ ।’
नेपालमा कोरोना महामारी (कोभिड-१९) भयावह बन्दैगएको वर्तमान अवस्थामा यथाशिघ्र खोप उपलब्ध गराउन चिनियाँ पक्षलाई अनुरोध गरेको उनले बताए । चीनको कोरोनाविरूद्धको खोप निर्माता तथा उत्पादकमध्येको एक साइनोफार्मसँग तत्काल बीस लाख डोज माग गरेको हो । चीनले नेपाललाई यसअघि साइनोफार्मबाट उत्पादित भेरोसेल खोपको आठ लाख डोज अनुदान स्वरूप दिएको थियो ।
यस पटकको बीस लाख डोज चीनले अनुदानमा दिने या खरिद गर्नुपर्ने त्यसको निर्क्योल भने भइ नसकेको राजदूत पाण्डेले बताए । यस जिज्ञासामा राजदूत पाण्डे भन्छन्, नेपालमा तत्काल आवश्यक भएकोले अनुदानको कुरा आफ्नो ठाउँमा छ, चलिरहन्छ र मित्रको हैसियतले कति गर्नसक्छ भन्ने कुरा छँदैछ, तर अहिले तत्काल चाहिएको कुरालाई प्राथमिकतामा राखेका छौँ ।
हालै विश्व स्वास्थ्य संगठनले उक्त साइनोफार्मको खोपलाई मान्यता दिएको छ । साइनोफार्मसमक्ष ६४ वटा मुलुकबाट खोपको माग आइरहेको र पठाउनुपर्ने प्रतिबद्धता रहेको बताउँदै नेपालको माग अनुरूप तत्काल दिन नसक्ने जनाएको थियो । यस क्रममा साइनोफार्मसँगको मिटिङमा वर्तमान अवस्थामा नेपाललाई खोपको टड्कारो खाँचो भएकोले उपलब्ध गराउन आवश्यक प्रक्रिया चलाउन अनुरोध गरिएको थियो ।
‘अनुदानस्वरूप माग गर्ने हो भने प्रक्रिया लामो हुने छ त्यस बेलासम्म नेपालमा स्थिति अझै भयावह हुनसक्ने छ । यसकारण अनुदानभन्दा पनि खरीद नै गर्न चाहेको बतायौँ ।’ राजदूत भन्छन्, ‘तर हालसम्म अनुदान पनि भनेको छैन साथै यति मुल्य पर्ने पनि भनी सकेको छैन । रिजनेबल प्राइसमा दिने कुरा भएको छ ।’
साइनोफार्मबाट दक्षिण एसियाली मुलुक पाकिस्तान, बङ्गलादेशले खोप खरीद गरेको छ । यस क्रममा पाकिस्तान, बङ्गलादेशलाई दिएको मुल्यसरह हुने देखिन्छ । यद्यपि सो भन्दा सस्तो हुनसक्ने सम्भावना पनि छ । यसर्थ, एस्ट्रेजेनेकाको भन्दा महँगो र मोडना र फाइजरभन्दा सस्तो हुने छ । यसबाहेक, उक्त खोप चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक नेपाल भ्रमण क्रममा अनुदान स्वरूप दिइएको ५६ अर्ब रूपैँया भित्र पार्नसक्ने सम्भावना पनि छ ।
यसै बीच, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले मे ७ मा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा महामारीको अवस्था भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै नेपाललाई यथासम्भव सहयोग गर्न तत्पर रहेको उल्लेख गरेका थिए ।
नेपालमा सङ्क्रमणको ग्राफ ठाडो रूपमा बढ्दैगएको अवस्थामा खोप एउटा आशा हो र महामारीलाई परास्त गर्नसक्ने अस्त्र हो । यसै गरी, नेपाल वायुसेवा निगमको विमान चीनले अनुदान दिएको सिलिण्डर र भेन्टिलेटर लिन सोमबार बेइजिङ आउँदै छ । उक्त विमानले ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर लाने भएको छ ।
मे ९ तारिख आईतबार बेलुकीसम्म ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर तयार हुने राजदूत पाण्डेले बताए । साथै ४० थान भेन्टिलेटर दुई तीन दिनमा स्थलमार्गबाट जाने पनि उनले बताए । नेपालबाट बीस हजार सिलिण्डर माग भएकोमा तत्काल दुई हजार सिलिण्डर तयार हुँदै गरेको र चीनले चरणबद्ध रूपमा उपलब्ध गराउने भएको छ ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया