नेपालमा ऐतिहासिक चलचित्र : बन्दै बन्दैनन्, बनेका फिटिक्कै चल्दैनन्

काठमाडौँ - चैतको पहिलो साता काठमाडौँमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भएको विभिन्न छलफलमा चलचित्रकर्मीले चलचित्र प्रदर्शनीबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवद्र्धन भइरहेको निष्कर्ष निकालेका थिए । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ ।
अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको दस्तावेजको रूपमा समेत बुझ्ने गरिन्छ । अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै भेषभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ । विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ । कुनै समय वा घटनालाई लिएर बनाइने चलचित्र त्यो समयलाई अहिलेको पुस्तासम्म पुर्याउनाका साथै इतिहासका लागि दस्तावेजको कामसमेत गर्छ तर नेपालमा भने त्यस्ता कथामा कमै चलचित्र बन्ने गरेका छन् । सीमित बनेका चलचित्रले दर्शकको साथ पाउँदैन ।
यसैवर्ष प्रदर्शन भएको चलचित्र ‘नालापानी’ समीक्षात्मक र व्यावसायिक दुवै हिसाबले असफल रह्यो । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको ऐतिहासिक लडाइँमा ‘नालापानी’ आधारित थियो । निर्माता तथा निर्देशक रिमेश अधिकारीले यो चलचित्रको सार्वजनिक प्रदर्शनको समयमा निर्माणका लागि ९ वर्ष खर्चिएको दाबी गरेका थिए । तर हलमा प्रदर्शन हुँदा न दर्शकले यसमा चासो राखे न सरकारले नै केही गर्यो ।
‘हामीकहाँ ऐतिहासिक विषयवस्तुमा बनेको चलचित्रलाई प्रोत्साहन वा प्रवद्र्धन गर्ने नीति नै छैन । हाम्रो कथा देखाउन कसैको साथ नपाउँदा लगानीसमेत सुरक्षित हुँदैन्”, निर्देशक अधिकारी भन्छन् ,‘चलचित्रको विकासका लागि विभिन्न संस्था खुले पनि निर्मातालाई प्रोत्साहन गरिदिने र सहज महसुस गराउने कुनै निकाय छैन । ठूलो लगानी चाहिने यस्ता चलचित्र एक्लो निर्माताको प्रयासले सम्भव हुँदैन ।’
अधिकारीले यसो भने पनि ऐतिहासिक विषय वस्तुमा फिल्म बनाउने प्रयास नभएका भने हैनन् । धेरै वर्ष पहिले किशोर रानामगरले लिगलिगका मगर राजाले छिमेकी राजासँग गरेको लडाइँमा आधारित रहेर ‘सीमारेखा’ भन्ने सिनेमा बनाएका थिए । यो फिल्मले व्यावसायिक सफलता पनि पाएको थियो । त्यसयता भने लामो समय ऐतिहासिक कथामा फिल्म बनाउने आँट नेपाली निर्माता तथा निर्देशकले गरेका छैनन् । तर पछिल्लो समय यो क्रम बढेको छ ।
गोर्खालीको वीरगाथालाई पर्दामा उतार्ने गरी अहिले निर्माता तथा निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’को सुटिङ गरिरहेका छन् । आफैँ पूर्वगोर्खा सैनिक रहेका चाम्स दश वर्ष अगाडिदेखि नै गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने प्रयासमा रहेको बताउँछन् । ‘चलचित्रको छायाङ्कनमै तीन वर्षभन्दा बढी समय खर्चिसकेँ । यसको प्राविधिक कार्यका लागि नेपालदेखि भारतसम्मका प्राविधिको प्रयोग गरेको छु’, निर्देशक चाम्सले भने । उनले गोर्खालीको वीरताको कथा देखाउने विषय भने मलाया युद्धलाई बनाएको बताए ।
भूतपूर्व गोर्खालीसँगै अहिले सेवामा रहेकासम्मलाई भेटेर मलाया युद्धको बारेमा बुझी कथा तयार गरेपछि चलचित्रमा त्यो समयलाई पर्दामा देखाउन भने निकै सकस भएको अनुभव छ, चाम्ससँग । उनले प्रविधिक सहयोग बाहेक सम्बन्धित निकायबाट सङ्ग्राहालयमा भएका पुराना सामान पाउनसमेत नसकेको दुःखेसो सुनाए । ‘आजभन्दा ८० वर्ष अगाडिको समय देखाउनुपर्ने भएकोले बेलायत र भारतबाट केही सामग्री पाए पनि त्यो पर्याप्त थिएन । मलाई समान जुटाउन नै एकवर्ष लाग्यो’ निर्देशक चाम्सले भने । उनले कथा छान्नमा पनि सुटिङको सजिलो मुख्य कारण थियो । चाम्सका अनुसार मलायाको युद्ध जंगलमा भएकाले जंगलमै मात्र सुटिङ गरे पुग्ने र धेरै खर्च नलाग्ने अनुमानमा यो कथा छानिएको थियो । चाम्सले यसको छायाङ्कन अठार दिन मलेसिया र पचास दिन सिन्धुलीमा गरेको जानकारी गराए ।
देशले गर्व गर्नसक्ने कथालाई पर्दासम्म ल्याउने क्रममा नीतिगतसँगै संस्थागत सहयोगको आवश्यकता रहेको चाम्स बताउँछन् । ‘व्यासायिक चलचित्रमा लगानी गर्ने जति पनि पाइन्छ तर जोखिमयुक्त ऐतिहासिक विषयमा लगानी गर्ने लगानीकर्ता पाउन गाह्रो छ । त्यसैले यस विषयमा सम्बन्धित सङ्घ संस्थासँगै राज्यले समेत सोच्नुपर्छ’, उनको भनाइ छ ।
निर्देशक तथा समीक्षक प्रकाश सायमीले ऐतिहासिक घटनाक्रमलाई आधार बनाएर तयार गरिएका चलचित्रले विश्वसनीयता नकमाएकाले यस्ता फिल्म बन्ने वातावरण नबनेको धारणा राखे । ऐतिहासिक चलचित्र बन्नुपर्छ । हामीले प्रोत्साहन पनि गर्नुपर्छ तर दर्शक विश्वस्त भएको पाइदैन’, उनले भने । तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा कीर्तिपुरमा गर्नुभएको आक्रमणलाई लिएर बनाइएको चलचित्र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ का वितरक करण श्रेष्ठले व्यावसायिक रूपमानै यस्ता चलचित्र तयार गरिनुपर्नेमा जोड दिनुभयो ।
‘ऐतिहासिक घटनाक्रम समेटिएको पछिल्लो केही चलचित्रमा स्थापित अनुहार भने देखिएन । त्यसको असर व्यापारमा परेको हुनसक्छ । दर्शकलाई परिचित अनुहारमा बढी विश्वास नभएको पनि हुनसक्छ’, वितरक श्रेष्ठले बुझाइ छ ‘कलात्मकरूपमा अब्बल रहँदै बन्ने त्यस्ता चलचित्रलाई व्यावसायिक रूपमा तयार गर्नु नै चुनौती रहेको छ ।’ पछिल्लो समय नेपालमा कृति र ऐतिहासिक घटनाक्रमबाट चलचित्र बन्नेक्रम विस्तारै बढे पनि त्यस्ता चलचित्रले व्यावसायिक सफलता नपाउँदा सोचे जस्तो संख्यामा बन्न नसकेको धेरैको बुझाइ छ ।
(भेषराज कार्की\रासस)

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया