पर्दाका ‘चाणक्य’सँग फिल्मी शास्त्रार्थ

इसापूर्व ३७० मा तक्षशिलामा चानकको छोराका रूपमा चाणक्यको जन्म भएको थियो । चाणक्य सुरुमा तक्षशिलाका आचार्य थिए । भारतीय उपमहाद्वीपमा तक्षशिला र नालन्दा नामका दुई सुविख्यात विश्वविद्यालय भएको प्रमाण भेटिन्छन् र चाणक्य यसमध्ये तक्षशिलाका शिष्य थिए र कालान्तरमा यसैमा आचार्य थिए । उसबेलाको भारत सानासाना जनपदमा विभाजित थियो र शक्ति हत्याउने अभिप्रायले एकअर्काको जनपदमा धावा बोलिरहन्थे ।
चाणक्यको गृहनगर मगधमा नन्दवंशको शासन थियो । किवंदन्तीअनुसार एक दिन यसका राजा धनानन्दले चाणक्यको अपमान गरे । राजाको अपमानले चाणक्य यति क्रोधित भए कि उनले शिखा बाँधेको टुप्पी खोलेर नन्द वंशको विनाशको कसम खाए । नभन्दै उनले यसको केही वर्षपछि नै नन्द वंशको शासन समाप्त पारेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए र भारतमा मौर्य वंशको शासन सुरुवात भयो जुन सम्राट अशोकको पालासम्म निरन्तर रह्यो । तिनै सम्राट् अशोक जसले बुद्धको जन्मस्थल लुम्बिनी पत्ता लगाए । इतिहासकारका अनुसार सम्राट् अशोकपछि भने उनका सन्तानले मोर्य वंशलाई निरन्तरता दिन सकेनन् र यो राज्य अरुकै अधीनस्थ हुन गयो ।
चाणक्यले जीवनकालमा गरेका यथार्थ, कल्पना वा तिलस्मी कामका अनेक किस्सा भारत वर्षमा प्रचलित छन् । राज्य व्यवस्थादेखि जीवन–जगत्का साना–साना कुराबारे लेखिएका अर्थशास्त्र र चाणक्यनीति अहिलेको समयमा बेस्टसेलर बन्दै गरेका पुस्तक छन् । तर चाणक्यको यो योगदान भारत वर्षमा ३० वर्षअघिसम्म उति धेरै चर्चाको विषय थिएन । तर सन् १९९१ देखि भारतको दूरदर्शन टिभीमा प्रसारण भएको ‘चाणक्य’ले यसलाई नयाँ जीवन दियो । यसलाई नयाँ जीवन दिने व्यक्ति थिए लेखक, कलाकार तथा निर्देशक चन्द्रप्रकाश द्विवेदी ।
यिनै चन्द्रप्रकाश द्विवेदी आइतबार स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको निम्तोमा कुपण्डोलस्थित होटल हिमालयमा उपस्थित भएका थिए । भारतीय मूल्य–मान्यता, संस्कार–संस्कृति र सिनेमा निर्माणको ३० वर्षे लामो अनुभव बाँड्न उपस्थित द्विवेदीले फिल्म निर्माणबाहेक भारत वर्षका सांस्कृतिक मूल्य मान्यताका सरलता तथा जटिलताका बारेमा कुरा गरेका थिए । द्विवेदीसँग स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रकी निर्देशक आशावारी वापटले कुरा गरेकी थिइन् ।
बाल्यकालका स्मृति हुँदै सिनेमाको दुनियाँमा प्रवेशको किस्सा सुनाएका द्विवेदीले आफू संस्कृत शिक्षकको घरमा जन्मिएको र बाल्यकालमा नै रामायण, महाभारत र चाणक्य जस्ता ग्रन्थ पढेको स्मरण गरेका थिए । सजिलै बुझिने यी ग्रन्थ त भइहाले उनले गुरु थापेर बढ्नुपर्ने कठोपनिषद् जस्ता उपनिष्दका किताब पनि बाल्यवयमै छिचालेका थिए ।
‘पढ्नेबाहेक खै कसरी हो मलाई सिनेमामा पनि रुचि थियो । भागी भागी फिल्म हेर्थे । स्कुलमा हेरेँ र कलेजमा पुग्दा पनि यो आदत छुटेन । शिक्षकलाई सधैँ मेरो एटेन्डेन्समा गुनासो हुन्थ्यो । तर म सुध्रिनँ,’ उनको परिचयसँग जोडिएका दुई कुराको जवाफ एकैपटक दिँदै उनले भने ।
सानोमा परेश रावलको नाटक देखेर नाटकतिर पनि समय बिताएका उनले सिनेमा हेर्दा कहिल्यै पनि रमाइलोका लागि नहेरेको बताए । ‘मैले कहिलै पनि इन्जोय गर्नका लागि भनेर सिनेमा हेर्न सकिनँ । कहिले कलाकार दायाँबायाँ भएका सामानमा ध्यान जान्थ्यो त कहिले प्रकाशमा,’ उनले बताए, ‘प्रिय वा श्रेय बन्ने लोभमा मैले सिनेमा चुनेँ ।’
नभन्दै सन् १९९१ देखि १९९२ अगस्ट ९ सम्म दूरदर्शन टेलिभिजनमा प्रसारण भएको ‘चाणक्य’ले उनलाई रातारात सबैको प्रिय बनायो । यो यस्तो सिरियल बन्यो जो महाभारत र रामायणपछि टेलिभिजनमा सबैभन्दा लोकप्रिय सिरियल बन्यो । तर यो सिरियल बनाउनुअघि र बनेपछि पनि समान रूपमा उनले यसको पीडाको साक्षी बस्नुपर्यो । टेलिभिजनले धेरै वर्षसम्म यो सिरियल बनाउन नचाहेको उनको भनाइ थियो ।
‘चाणक्य आज तपाईंले सोचेजस्तो सजिलो गरी बनेको हैन । बहुत धक्का खानु परेको थियो । प्रसारण भएपछि पनि कहिले राष्ट्रियताको कुरा त कहिले केशरी रङको प्रयोगलाई लिएर विवाद भएको थियो । तर मैले यो सिरिज ९ वर्ष लगाएर लेखेको थिएँ र मसँग हरेक कुराको जवाफ थियो’ उनले दिक्क मान्दै जस्तो गरी सुनाए ।
द्विवेदीले विवादको विषयमा खुलेर कुरा नगरे पनि उसबेला सिरिजलाई अहिले सरकारमा रहेको भारतीय जनता पार्टीको धार्मिक सिद्धान्तलाई पक्षपोषण गर्ने अभिप्रायले बनाएको आरोप लागेको थियो ।
यही सिरिजमा चन्द्रप्रकाश द्विवेदीले कलाकारका रूपमा पनि दमदार अभिनय गरेका छन् । तर उनले शुद्धसँग संवाद बोल्ने र चाणक्यको कदकाठी मिल्ने अभिनेता नपाएकाले आफैँ अभिनय गरेको बताएका थिए ।
‘चाणक्य’पछि द्विवेदीले भारत–पाकिस्तान विभाजनमाथि अमृता प्रितमले लेखेको उपन्यासमा आधारित रहेर ‘पिन्जर’ भन्ने सिनेमा बनाएका थिए । चलचित्र क्षेत्रमा बेच्ने र बेचाउनेका माग अनेक हुने भएकाले कहिले निर्माताले आइटम गीत राख्न कर गरेको त कहिले कमेडियन राख्न दबाब दिएको स्मरण गरेका थिए ।
‘पहिले त आइटमको खिलाफमै थिएँ तर संगीत भारत वर्षको अभिन्न अंग रहेछ भन्ने अहिले महसुस भएको छ,’ उनले बताए । यसपछि उनले इन्द्र देवता र ब्रह्माको एउटा पौराणिक गाथा सुनाए । द्विवेदीका अनुसार ब्रह्माले देवताको मनोरञ्जनका लागि भनेर एउटा नाटक लेखेका रहेछन् ।
देवताका राजा इन्द्रले यो नाटकको मञ्चनको जिम्मा भरतमुनिका सय भाइ छोरालाई दिएछन् । केही दिनको अभ्यासपछि भरतमुनिले नाटक तयार गरेर ग्रान्ड रिहर्सलका लागि ब्रह्मासहित बाँकी देवता सबलाई बोलाए । तर नाटक हेर्दा ब्रह्मालाई कता के के नपुगे जस्तो महसुस भएछ । के पुगेन भनेर गम खाँदै गर्दा उनलाई महसुस भएछ, ‘अरे नाटकमा त शृंगार रस नै छैन । अनि कसरी रमाइलो हुन्छ त ।’ यसपछि उनले इन्द्रलाई २० जना अप्सरा राखेर फेरि रिहर्सल गर्न आदेश दिएछन् । यसपछि नाटक ब्रह्माले सोचेजस्तै स्वादको भएछ ।
यही प्रसंगमा उनले ‘पिन्जर’ भन्ने सिनेमा आफैँलाई लामो लागेर गुलजार र जावेद अख्तरलाई देखाएको तर काट्ने ठाउँ नदेखेको सुझाव पाएको स्मरण गरेका थिए । यही क्रममा उनले जावेद अख्तरसँगको अर्को घटना पनि स्मरण गरेका थिए ।
‘चाणक्य’पछि द्विवेदीले महाभारतका पात्र कर्णलाई लिएर ‘मृत्युञ्जय’ भन्ने सिरियल बनाएका थिए । शिवाजी सावन्तको उपन्यासमा आधारित सिरियल १३ भाग बनाएपछि टेलिभिजनले यो सिरियल बन्द गर्ने निर्णय गरेको थियो । तर यो सिरियलबाट द्विवेदीले उत्कृष्ट सिरियल र निर्देशकको अवार्ड जितेका थिए । उनले खासमा ‘महाभारत’ कस्तो हुनुपर्छ भनेर देखाउन यो सिरियल बनाएको तर दिनदिनै गाली खान परेको स्मरण गरेका थिए ।
‘बीआर चोपडाले बनाएको महाभारतमा चरित्र मात्र देखिन्छन्, समाज देखिन्न । हर कोही जतिबेला पनि कवच वा मुकुट लगाएर बस्छ । यस्तो त महाभारत कालमा छँदै थिएन । म देखाइदिन्छु असली महाभारत भनेर मैले यो बनाएँ । तर कसैले पनि रुचाएन,’ उनले सुनाए । तर यही सिरिजपछि जावेद अख्तरसँगको भेटको किस्सा भने रोचक रहेछ ।
स्क्रिन भिडियोकोन अवार्डको मुख्य जुरी जावेद अख्तर रहेछन् । उनले ‘मृत्युञ्जय’ हेरेपछि यसले त महाभारत नै अर्कै बनाएछ । अवार्ड यसैलाई दिऊँ भनेर बाँकी सदस्यलाई पनि मनाएछन् । यसरी अवार्ड पाएको भोलिपल्ट जावेद अख्तरले द्विवेदीलाई भेट्न घरमा बोलाएछन् । क्षेमकुशलको वार्तालापपछि जावेद अख्तरले सिरियलको तारिफ गर्दै ‘कस्तो चल्दै छ ?’ भनेर सोधेछन् । यसमा द्विवेदीले जवाफ दिएछन्, ‘हो सिरियल त राम्रै थियो तर आजैबाट बन्द भयो ।’
उनले यो सिरियलबाट मान्छेको मनमा बसेको कुराको उल्टो जानु गलत रहेछ भन्ने शिक्षा लिएको बताए । द्विवेदीले अब प्रदर्शन हुन लागेको ‘आदिपुरुष’का निर्देशकले खेपिरहेको गाली पनि यहीअन्तर्गत रहेको बताएका थिए ।
‘पोस्टर सार्वजनिक हुनेबित्तिकै त्यसका निर्देशक ओम राउतले गाली खाइरहेका छन् । रामले छालाको लुगा लगाउँदैनथे, हनुमान त्यस्ता थिएनन्, आदि आदि भनेर । तर वाल्मीकि रामायणमा बकाइदा यो कुरा लेखिएको छ,’ उनले स्पष्ट पारे, ‘वाल्मीकि रामायणमा रामलाई मान्छे जसरी नै प्रस्तुत गरिएको छ ।
त्यहाँ दशरथले रामलाई वनवास जाने आदेश दिएपछि लक्ष्मणले रिसाएर पिता दशरथ तरुनी श्रीमतीको वशीभूत भएर जथाभावी आदेश दिएको र दशरथलाई कैद गरेर राज्य चलाउनुपर्ने, यो बीचमा भरत आए भरतलाई पनि काट्ने कुरा छ । तर तुलसीदासकृत रामायणमा यी सारा प्रसंग छैनन् । जरासम्म नपुगेपछि हाँगाबिँगा नै अन्तिम सत्य हुनेरहेछ । यसका लागि अरुले भनेको कुरा सुन्नुपर्छ । तर हामीले त्यो धैर्य गुमाइसकेका छौँ ।
दुई घन्टा बढी चलेको अन्तक्र्रियामा उनले धर्म, संस्कृति, गुरु–शिष्य सम्बन्ध र आफ्ना फिल्ममा देखिने ऋतु चरित्रको चर्चा गरेका थिए । अन्तक्रियाको अन्त्यतिर उनले सन् २००४ मा पहिलोपल्ट नेपाल आएको र नेपालको सम्पदा देखेर फिल्म खिच्ने मनसायले तीन वर्षपछि आउँदा भिड देखेर अत्तालिएपछि फिल्म बनाउने सोच त्यागेको बताएका थिए ।
‘म २००४ मा चितवन आएको थिएँ । यहाँको भक्तपुर, वसन्तपुर आदि ठाउँ देखेर यहाँ सुटिङ गर्छु भनेर कथा तयार गरेँ । अमिताभ बच्चन र तब्बुलाई लिने गरी काम अगाडि बढ्यो । तर सन् २००७ मा एयरपोर्टमा मानिसको भिड देखेर म आत्तिएँ,’ उनले सुनाए, ‘अमिताभ लिएर यस्तो भिडमा सुटिङ गर्न सकिन्न भन्ने भएपछि म फर्किएँ । तर यो पटक धेरै शान्त लाग्यो । म दुइटा फिल्म बनाउने तयारीमा छु । सुटिङ नभए पनि म दुइटा फिल्मका लागि यहाँका कलाकारको जरुर अडिसन लिन्छु ।’
जाँदाजाँदै उनले नेपाल र भारतका कलाकारबीच कम्युनिकेसन ग्याप रहेकाले यसलाई तोड्न सहकार्य गर्नुपर्ने धारणा राखेका थिए । उनले आफूले पहिलो काम गरेको ‘चाणक्य’का मुख्य सहायक निर्देशक प्रेम रावल नेपालकै रहेको बताउँदै उनलाई सम्पर्कका लागि अनुरोध गरेका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया