मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

वर्तमान सरकार हरेक मोर्चामा पूर्ण रूपमा असफल भयाे : शारदादेवी भट्ट

काठमाडौँ- राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले वर्तमान सरकार हरेक मोर्चामा पूर्ण रूपमा असफल भएको बताएकी छिन् ।

मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य भट्टले सरकारले सय दिन पूरा गरे पनि हरेक मोर्चामा पूर्ण रूपमा असफल देखिएको बताएकी हुन् । उनले सय दिनमा पनि मन्त्रिमण्डललाई पूर्णता दिन नसकेको भन्दै सरकार निरीह र कमजोर भएको टिप्पणी गरिन् ।

उनले जालझेल गरेर तीन महिनामै गठबन्धन बदल्नुबाहेक सरकारले देश र जनताको पक्षमा कुनै काम गर्न नसकेको उल्लेख गरिन् । भट्टले देशको अर्थतन्त्र दयनीय अवस्थामा पुगेको बताइन् । उनले सरकारसँग निजी क्षेत्रको विश्वास गुम्दै गइरहेको बताइन् ।

उनले सरकारले सय दिनको उपलब्धि भनेर फेहरिस्त सार्वजनिक गर्नु जनताको आँखामा छारो हाल्नु भएको टिप्पणी गरिन् ।