‘बहाव’को प्रिमियर : नेता-अभिनेता कसलाई कस्तो लाग्यो सिनेमा ?

काठमाडौं - शुक्रबारबाट रिलिज हुने फिल्म ‘बहाव’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि फिल्मकर्मी तथा नेताले फिल्मको विषयवस्तु फरक लागेको प्रतिक्रिया दिएका छन् ।
एमाले नेता रघुजी पन्तले ‘बहाव’ नेपाली फिल्म जगतमा सम्भावना बोकेको फिल्म बनेको प्रतिक्रिया दिए । ‘फिल्मको विषयवस्तु नयाँ छ । नेपाली दर्शकका लागि यसले फरक स्वाद दिनेछ । फिल्मले हामीले समाजमा देख्दै र भोग्दै आएको विषयलाई गम्भीर किसिमले उठान गरेको छ’, उनले भने । उनले प्रमाेद कँडेलको रुपमा नेपाली फिल्मले राम्रो निर्देशक पाएको बताउँदै उनको निर्देशनमा उच्च भविष्य रहेको बताएका थिए ।
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री र सांसद पदम गिरीले फिल्मले समाजभित्रको अन्तरविरोधलाई देखाएको बताए । उनले समाजभित्र रहेको विभेदको जरा उखेल्न नसिरहेको अवस्थामा ‘बहाव’ ले त्यो जरा उखेल्न भूमिका निर्वाह गर्ने दाबी गरे । ‘यस्तो फिल्मले समाजलाई बदल्न महत्वपूर्ण भूमिका खेल्छ । फिल्मले समाजको वास्तविक कथा बोलेको छ’, उनले भने ।
निर्देशक नरेश पौडेलले ‘बहाव’ नेपालमा बनिरहेका फिल्म भन्दा फरक शैलीमा बनेको जनाए । उनले आफूले जापानी फिल्म हेरेको अनुभव गरेको खुलाए । ‘फिल्म हेरिरहँदा जापानी फिल्म हेरेको अनुभव गरें । कथावस्तु फरक भएकाले पनि मलाई हेर्न मजा लाग्या’, उनले भने ।
कलाकार भोलाराज सापकोटाले कथादेखि प्रस्तुतिकरण, कलाकारको अभिनय राम्रो लागेको बताए । अर्का कलाकार दीपक आचार्यले नेपाली परिवेशमा एउटा राम्रो फिल्म बनेको उल्लेख गरे । कलाकार विजय बरालले फिल्मको कन्सेप्ट आफूलाई मनपरेको बताए ।
अभिनेत्री लुनिभा तुलाधरले फिल्मले आफ्नो कथा भनेजस्तो अनुभव गरेको बताइन् । उनले मानसिक स्वास्थ्यको विषयलाई उठान गरेकोमा आभार व्यक्त गर्दै यस्ता कथामा अझ फिल्म बन्नुपर्ने सुझाव दिइन् । फिल्मका अभिनेता कमलमणि नेपालले फिल्ममा आफू कठोर देखिए पनि वास्तविक जीवनमा कमलो मनको भएको बताए । कोरोना महामारीको समयमा काम गरे पनि राम्रो सिर्जना दर्शकमाझ ल्याएको जनाए । श्रीधर पौडेलले निर्माण गरेको फिल्ममा सुरक्षा पन्त शीर्ष भूमिकामा छिन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया