प्रदेश १ का सबै अस्पताललाई कोभिड अस्पताल बनाउन कांग्रेसको माग
विराटनगर : प्रदेश १ का सबै सरकारी अस्पतालहरुलाई कोभिड–१९ अस्पताल बनाउन नेपाली कांग्रेस प्रदेश संसदीय दलले माग गरेको छ । आइतबार प्रदेश सभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख सचेतक केदार कार्कीले सरकारको संवेदनहीनताका कारण अहिले भयाभह अबस्था आएको आरोप लगाए ।
‘अब हामीसँग कुनै समय र उपाय छैन त्यसैले जनतालाई मृत्यु हुनबाट जोगाउने हो भने तुरुन्त सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा परिणत गर्नुपर्छ,’ कार्कीले भने, ‘आमनागरिकले गेटबाटै फर्किनु पर्ने र बाटोमै ज्यान गुमाउनु पर्ने बाध्यता छ ।’
प्रदेश सरकारले अहिलसम्म ६ ठूला अस्पतालमा कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाएको छ । तर धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० बेड कोरोनाका लागि छुट्याएको भन्दै सरकारले झुठो प्रचार गरेको कार्कीले अरोप लगाए । उनले भने, ‘धरानमा ३० वटा वेड मात्र सञ्चालनमा छन् ।’
अहिले प्रदेश सरकारको व्यवस्थापनमा रहेको मेची अस्पताल र कोभिड–१९ उपचार केन्द्र पनि संक्रमितहरुले भरिएको छ । भएका अस्पतालसमेत पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसक्नु सरकारको लाचारी पन भएको कांग्रेसको आरोप छ ।
प्रदेश १ मा बैशाख १७ गते ३३.३० प्रतिशतमा रहेको कोरोना संक्रमण दर बैशाख २५ गतेसम्म वृद्धि भएर ४९.२३ प्रतिशतमा पुगेको छ । कोरोना महामारीका बेला सरकार निष्क्रिय भएको भन्दै प्रमुख सचेतक कार्कीले सरकार खोपीमा बसेर कुर्सी जोगाउने कार्यमा व्यस्त देखिएको बताए ।
महामारी सरकारका लागी पैसा कमाउने मेलो भएको उनको दाबी छ । ‘कोरोनाको खोपदेखि औषधिको डोजसम्म कमिसनको खेल भएको छ’, उनले भने, ‘अघिल्लो पटक प्रधानमन्त्रीको संरक्षणमा ओम्नी समूहलगायतले गरेको अपराध यसपटक पुनः केही ठूला व्यापारीले गर्दैछन् ।’
संघीय सरकार अपराधी, तस्कर र बिचौलियाहरुको जालोमा रहेको कांग्रेसको आरोप छ । यस्तो अवस्थामा प्रदेश सरकार पनि संघीय सरकारको लाचार छायाँ बनेर बसेको आरोप कांग्रेसले लगाएको छ ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया