आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

दुईवटा संसदीय समिति सभापतिमा राप्रपाको दाबी

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा संसदीय समितिको सभापतिमा दाबी गरेको छ ।

संघीय संसद् सचिवालयले संसदीय समिति गठनको प्रक्रिया अगाडि बढाएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा समितिको सभापतिमा दाबी गरेको हो । राप्रपका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो पार्टीले दुईवटा सभापतिमा दाबी गरेको बताए । उनले दुई सभापति आफूहरूले अनिवार्य पाउनैपर्ने उल्लेख गरे ।

राप्रपा प्रतिनिधि सभाको पाँचौं ठूलो दल र दोस्रो ठूलो प्रतिपक्षी दल भएको भन्दै उनले दुई सभापति पाउनु आफूहरूको अधिकार भएको बताए ।

शाहीले समितिमा सदस्यहरूलाई विषयगत ज्ञानको आधारमा पठाउनुपर्ने जिकिर गरे । राप्रपाले आफ्ना प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत ज्ञान र दक्षताको आधारमा सम्बन्धित समितिमा पठाउने पनि उनले उल्लेख गरे ।