शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह : व्यापारमा भन्दा उत्पादनमूलक उद्योगमा लगानी केन्द्रित गर्नूस्

फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताएका छन् ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभइ उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले मुलुकका हरेक संयन्त्रमा समस्या रहेको भन्दै सबैले सुधार गर्न आवश्यक रहेको जिकिर गरे ।

अर्थमन्त्री महतले सरकारको पनि प्रभावकारीता र पारदर्शीता बढाउन आवश्यक रहेको बताए । उनले निजी क्षेत्रले उत्पादनमूलक उद्योग व्यवसायमा लगानी केन्द्रित गरे सरकारले लगानीको वातावरण सहज बनाउनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरूको व्यवस्था गर्ने बताए ।

अर्थमन्त्री डा.महतले अन्तर्राष्ट्रिय स्तरमा भइरहेका युद्धहरूको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि ४ प्रतिशतभन्दा माथि हुने बताए ।