शनिबार ३० चैत, २०८१
Saturday, April 12, 2025

‘अपांगताको क्षेत्रमा ८० को दशक यस्तो होस्’

'अपांगता भएका व्यक्ति भन्नेबित्तिकै अहिले पनि हाम्रो दिमागमा एनएसीअघिल्तिर गीत गाउन बसेकाहरू मात्रै आउँछन्'

हामी ७० को दशकलाई बिदा गर्दै छौँ । अब ८० को दशक सुरु हुँदै छ । इतिहासका अर्थात् ७० को दशकका गल्तीबाट पाठ सिक्दै अघि बढ्दा कसरी अघि बढ्न सकिएला ? ८० को दशक कस्तो होस् ? १० वर्षे दृष्टिकोणसहित केही समीक्षा र केही अपेक्षा शृंखला इकागजले सुरु गरेको छ । यो यही शृंखलाको पाँचौँ किस्ता हो । यसै सन्दर्भमा अपांगताको सवालमा केन्द्रित रहेर यसै क्षेत्रमा लामो समयदेखि क्रियाशील सरिता लामिछानेसँग हामी संवाद गर्दैछौँ । गोरखामा जन्मिएकी लामिछाने दृष्टिविहीन युवा महिला हुन् । उनी अपांगता, लैंगिकताको क्षेत्रमा काम गर्ने संस्था प्रयत्न नेपालमा आबद्ध छिन् । प्रस्तुत छ, उनीसँगको संवाद :

७० को दशकलाई हामी बिदा गर्दैछौँ । यो संविधानबाटै कुरा सुरु गरौँ । अपांगता–सवालको आँखाले हेर्दा संविधान कस्तो छ ? 
सैद्धान्तिक हिसाबले नेपालको संविधान निकै प्रगतिशील छ । अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क शिक्षा हुनेछ भनिएको छ । ब्रेल र सांकेतिक भाषामा शिक्षाको अधिकारको कुरा गरिएको छ । कुनै पनि किसिमको विभेद गर्न पाइँदैन भनिएको छ । राष्ट्रिय र प्रतिनिधि सभामा प्रतिनिधित्वको कुरा पनि गरिएको छ । हरेक क्षेत्रमा सहभागिताको विषय उल्लेख गरिएको छ । तर, कार्यान्वयन केही भएको छैन । संविधानमा उल्लिखित विषय मात्रै कार्यान्वयन हुने हो भने अपांगताको हिसाबमा धेरै ठूलो फड्को मार्न सकिन्थ्यो । 

कार्यान्वयनको पाटोमा किन/कसरी पछि पर्‍यो ?
संघीयतापछि तीन तहको सरकार बन्यो । त्यहाँ कसको जिम्मेवारी के हो नै थाहा भएन । अलमल भयो । देश संघीयता भए पनि बजेटमा संघकै भर पर्नुपर्छ । यसको अर्को कारण, राजनीतिक अस्थिरता पनि हो । कर्मचारीहरू सरुवा भइरहँदा पनि अपांगताको सवालमा प्रभाव परेको छ । एउटा कर्मचारी अपांगताको विषयमा सूसुचित र संवेदनशील भएर काम गर्न थालेको हुन्छ, सरुवा हुनेबित्तिकै नयाँ आउने मान्छेसँग सुरुबाटै काम गर्न प्रेरित गर्नुपर्छ । सबै कुरा संविधानमा लेखेर मात्र हुँदैन । त्यसको कार्यान्वयन भयो/भएन निरीक्षण पनि गर्नुपर्छ । 

अपांगता भएका महिलालाई जबर्जस्ती बन्ध्याकरण गरिदिने, पाठेघर निकालेर फ्याँकिदिनेसम्म भएको छ ।

कानुनी पाटोमा कति काम भएको छ ?
हामीले २०७० को दशकमा अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन÷नियमावली पायौँ । अपांगतामैत्री सञ्चार निर्देशिका पायौँ । सरकारका नीति तथा कार्यक्रमले पनि अपांगताको सवाललाई केही हदसम्म जोडेको पाइन्छ । ती कतिपय प्रगतिशील पनि छन् । अहिले स्थानीय तहमा अपांगता समन्वय समिति गठन गर्ने प्रावधान छ । जसकारण अपांगता भएका व्यक्तिहरूले स्थानीय तहसँग संगठित हुने अवसर पाएका छन् । परिचयपत्र वितरणमा प्रभावकारिता ल्याउन मद्दत मिलेको छ । तर, हुनुपर्ने जति काम अझै भएको छैन । 

सरकारी नीति र कार्यक्रम कस्ता छन् ? 
अपांगता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सहायक सामग्रीहरूमा भन्सार छुट गरेको पाइन्छ । बागमती प्रदेशले स्थानीय तहमा अपांगताको सवालमा कार्यक्रम र सशक्तीकरणका लागि वार्षिक तीन लाख रुपैयाँ अनुदान छुट्याउने प्रावधान ल्याएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत अपांगता भएका व्यक्तिहरूका लागि काम गर्न खोज्ने संघसंस्थालाई बजेट बाँडफाँड भइरहेको छ । तर, यति मात्रै पर्याप्त छैन । 

शिक्षामा अपांगता भएका व्यक्तिहरूको पहुँच कस्तो छ ?
यो ७० को दशकमा हामी झनै पछाडि हट्यौँ । पहिला समावेशी शिक्षा नीति बनेको थियो । संघीयतापछि त्यो नीति खारेज भयो । समावेशिताको कुरा गर्दा, कतिवटा विद्यालयमा अपांगता भएका व्यक्तिहरू व्यवस्थापन समितिका सदस्य छन् ? कतिवटा शिक्षक र अभिभावक संघमा अपांगता भएका व्यक्तिले प्रतिनिधित्व गरेका छन् ? कानुनतः अपांगता भएका व्यक्ति भनेर उल्लेख गरिएको ठाउँमा मात्र प्रतिनिधित्व सुनिश्चित छ । नत्र सीमान्तीकृत, जोखिममा पारिएका समुदाय भनेर लेखिएको ठाउँमा सहभागिताबाट वञ्चित हुनुपरेको छ । 

दृष्टिविहीनको हकको कुरा गर्दा माध्यमिक तहमा ब्रेल पाठ्यपुस्तक उपलब्ध छ । ती नेपालीमा छन् । तर, स्कुलमा अंग्रेजी माध्यमबाट पढाउन थालिएको छ । कलेज तहमा त ब्रेलमा पाठ्यपुस्तक नै छैन । दृष्टिविहीनलाई सहयोगी लेखकको अभाव छ । जसकारण धेरैले परीक्षा नै दिन पाउँदैनन् । 

हाम्रो दिमागमा अहिले पनि अपांगता भएका व्यक्ति भन्नेबित्तिकै एनएसीअघिल्तिर गीत गाउन बसेकाहरू मात्रै आउँछन् ।

हाम्रा क्याम्पस सहजै ह्विलचियरमा जान मिल्ने छैनन् । सुनाइसम्बन्धी अपांगता भएकाले पढ्न चाहेमा नक्सालको एउटा स्कुलबाहेक अर्काे छैन । उनीहरूले उच्च शिक्षा हासिल गर्न त झन् सम्भवै छैन । सरकारले समावेशिताको कुरा जति गरे पनि सांकेतिक भाषामा पढाइँदैन । सहरकै स्कुलहरूमा पनि अपांगता भएका विद्यार्थीमाथि विभेद हुन्छ । अपांगता भएका व्यक्तिहरू शिक्षक सेवा आयोगको परीक्षा पास गरेर विद्यालय पुग्दा हाजिर गर्नबाट रोकिएको छ । पढाउन सक्दैनन् भनेर उनीहरूलाई अविश्वास र अपमान गरिन्छ । प्रतिस्पर्धात्मक परीक्षा पास गरेर योग्य भनिइसक्दा पनि अविश्वास गरिन्छ भने अरुलाई कस्तो व्यवहार गरिन्छ होला ? फेरि विद्यालय त शिक्षा र चेतना दिने थलो पनि हुन् । यस्तो खराब व्यवहार गर्ने अरु क्षेत्रलाई चेतनशील बनाउनुपर्ने शिक्षकहरू स्वयं विभेद गर्छन् ।

बौद्धिक अपांगताको सवालमा केही स्रोत कक्षाहरू सञ्चालनमा आएका छन् । तर, ती स्रोत कक्षाका दुर्दशा आफ्नै किसिमका छन् । चलाउनका लागि मात्रै चलाइएको छ, कसैले स्वामित्व लिएको छैन । ब्रेल नै राम्रोसँग सिकाइँदैन । समयमा ब्रेल पेपर नपाउने समस्या पनि उत्तिकै छ । 

पूर्वप्राथमिक तह (ईसीडी)ले अपांगता भएका बालबालिकालाई समेटेकै छैन । पाठ्यक्रम विकास केन्द्रले ईसीडीमा योजना बनाइरहेको सुनिन्छ । तर, कार्यान्वयन नभएसम्म भन्न सक्ने अवस्था छैन । जसकारण अपांगता भएका बालबालिकाको शिक्षामा पहुँच छैन, भए पनि गुणस्तरीय छैन । सबै जना पढ्नकै लागि सहर आउन सक्दैनन् । 

भूकम्पपछि थुप्रै विद्यालय/कलेजका संरचना भत्किए । तर, त्यसपछि बनेका संरचना पनि अपांगतामैत्री बनेनन् । ७० को दशकको योभन्दा ठूलो अर्को विडम्बना के होला ? भूकम्प विनाशकारी भए पनि हाम्रा लागि अवसर थियो । तर, त्यसमा पनि हामी चुक्यौँ । 

स्वास्थ्यमा अवस्था कस्तो छ ?
हाम्रा अस्पतालहरूबाटै कुरा सुरु गरौँ । हाम्रा अस्पताल अपांगतामैत्री छैनन् । डेलिभरीका लागि लेबर बेडहरू ह्विलचियर युजरले प्रयोग गर्नै नसक्ने खालका छन् । अहिले अस्पताललाई राम्रो देखाउन मार्बल लगाउने चलन छ । त्यो मार्बलमा चिप्लेर वैशाखी, ह्वाइट केन, ह्विलचेयरको सहारा लिनेहरू कतिको दुर्घटना हुन्छ । स्वास्थ्यकर्मीहरूको तालिममा अपांगताको विषयवस्तु नै छैन । हामीले एकपटक प्रयत्न नेपालबाट स्वास्थ्यकर्मीहरूलाई तालिम दिएका थियौँ । तालिममा सहभागी हुनेहरूले काम गर्न थालेको २० वर्ष भयो, यस्तो तालिम पहिलोचोटि लियौँ भने । त्यस्तै, मेडिकल पढ्न चाहनेहरू अपांगता भएकै कारण पढ्न चुनौती भएको अनुभव सुनाउँछन् । उनीहरूलाई भर्ना लिन हिचकिचाएको पाइन्छ ।

स्वास्थ्यको कुरा गर्दा मलाई एउटा केस याद आयो । सुनाइ र बोलाइसम्बन्धी अपांगता भएका दम्पती सुरक्षित गर्भपतन गराउन अस्पताल गएछन् । डाक्टरले उनीहरूको सांकेतिक भाषा बुझेनछन् र आइरन चक्की दिएर पठाएछन् । दम्पतीले त्यही चक्कीलाई गर्भपतनको औषधि भनेर खाएछन् । तीन÷चार महिनापछि मात्रै उनीहरूलाई त्यो आइरन चक्की भएको थाहा भयो । पछि बच्चा जन्मियो । यो हाम्रो अस्पतालहरूमा सांकेतिक भाषामा दोभासेको व्यवस्था नहुँदाको परिणाम हो ।

स्वास्थ्यको सवालमा काम गर्ने थुप्रै संस्था छन् । तर, उनीहरूले सचेतनामूलक सामग्री बनाउँदा अपांगता भएकालाई सोच्दैनन् । ती सामग्री कि चित्रमा हुन्छन् कि अडियो वा भिडियोमा । चित्र दृष्टिविहीन, अडियो सुनाइसम्बन्धी अपांगता भएकाको पहुँचमा पुग्दैन भन्ने कुरा उनीहरूले विचार गर्नुपर्छ कि पर्दैन ? सचेतनामूलक सामग्रीहरू बहुढाँचामा नहुँदा पनि अपांगता भएका व्यक्तिहरूले निकै चुनौती बेहोर्नुपरेको छ ।  

स्वास्थ्यकै कुरा गरिरहँदा अपांगता भएका महिलाहरूले बेहोर्नुपरेका अतिरिक्त चुनौती के–के हुन् ?
महिनावारी स्वास्थ्यमा सरकारी, गैरसरकारी संघ–सस्थाले काम गरिरहेका छन् । तर, स्कुलमा महिनावारी शिक्षा दिँदा अपांगता भएका छात्रालाई केन्द्रित भएर दिइँदैन । अहिले बजारमा महिनावारी कप भनेर आइरहेको छ । ती र त्यस्ता साधन दुवै हात नभएकाले प्रयोग गर्छु भन्दा त्यसको विकल्प के ?  गाउँघरमा अहिले पनि कपडाकै प्याडको प्रयोग हुन्छ । त्यसको किटाणु मार्न घाममा सुकाउनुपर्छ भनिन्छ । तर, सुकाउन नदिएको गुनासो धेरैले गर्छन् । महिनावारी बार्ने चलनले पनि धेरैलाई गाह्रो भएको छ । सार्वजनिक धारोमा नुहाउन जाँदा उत्तिकै समस्या भोग्नुपरेको छ ।  अपांगता भएका महिलाको स्वास्थ्यको कुरा गर्दा जबर्जस्ती बन्ध्याकरण गरिदिने, पाठेघर निकालेर फ्याँकिदिनेसम्मका प्रयास भएको पाइन्छ । बौद्धिक अपांगता भएकालाई अनिश्चित गर्भ रोक्ने हर्मोनहरू खुवाउने गरेको पनि पाइएको छ । 

रोजगारीमा पहुँचको अवस्था कस्तो पाउनुहुन्छ ?
सरकारी तहमा पाँच प्रतिशत अपांगता आरक्षणको कुरा हुन्छ । तर, अपांगता परिचयपत्र डाक्टरसँग चिनजान, राजनीतिक पहुँचका आधारमा बन्छ । लोक सेवामा धेरैले त्यसरी नै आफ्नो पद सुनिश्चित गरेको पाइन्छ । गैरसरकारी संघसंस्थाहरूको सबैभन्दा प्यारो शब्द समावेशिता हो । बस्दिनँ भन्दाभन्दै पनि बोर्डमा अपांगता भएका व्यक्ति खोजी–खोजी राख्छन् । तर, तीनै संस्थाले काम गर्न सक्दैनन् भनेर कर्मचारी बनाउँदैनन् । डोनरले खोज्छ भनेर जेसी पोलिसी सबैले बनाएका छन् । तर, त्यसको कार्यान्वयन छैन । 

बेकरी क्याफेमा सुनाइसम्बन्धी अपांगता भएका व्यक्तिहरूले काम गरेको देखिन्छ । काठमाडौँ मोडल अस्पतालमा दुई जना दृष्टिविहीनले काम गरिरहेका छन् । त्रिभुवन विमानस्थलमा पनि १० जना जति छन् । तर, धेरै आइएनजीओ छन् जो अपांगताको सवालमा प्रश्न उठाउँछन्, तर, अपांगता भएका कर्मचारी राख्दैनन् । बाध्यकारी भएकाले बरु निजीभन्दा सरकारीमा सहभागिता धेरै देखिन्छ ।

सहभागिताको कुरा गर्दा मिडिया क्षेत्रमै अपांगता भएका व्यक्तिहरू छैनन् । सुरुमा पोखराको हिमचुली एफएमले अपांगता भएका व्यक्तिलाई आम सञ्चारमा जोड्ने काम गरेको थियो । दृष्टिविहीन श्रीकान्त सापकोटाले त्यहाँ काम गर्नुभयो । दृष्टिविहीन जीवन बानियाँले एक अनलाइनमा काम गर्नुहुन्छ । पछिल्लो समय ग्यालेक्सी टेलिभिजनमा  रमेश प्रसाईंले काम गर्नुहुन्थ्यो । अपांगता भएकालाई पहिला पहिला यही सवालमा मात्रै कार्यक्रम चलाउन लिइन्थ्यो । तर, अहिले अरु बिटमा पनि काम गर्ने वातावरण बन्दै गएको छ ।

त्यस्तै, अपांगता भएका मानिसहरूले बनाएको सामानको फिनिसिङ राम्रो हुँदैन भन्ने मानसिकता छ । जसकारण ती सामानलाई बजारसम्म जोड्न सकिएको छैन । इनड्राइभ, टुटल, पठाओ जस्ता राइड सेयरिङ एपमा धेरै अपांगता भएका व्यक्तिहरू काम गर्छन् । तर, चारपांग्रेमा मान्छे लिन जाँदा लडाउँछन् भनेर मानिसहरू चढ्नै नमानेको अनुभव धेरै जनाले सुनाउँछन् । डिजिटल प्लेटफर्मले अपांगता भएकालाई रोजगारी दिएको छ । तर, उनीहरूलाई स्वीकार गरेको पाइँदैन । किनभने, उनीहरूका सफलता कथा आएका छैनन् । हाम्रो दिमागमा अहिले पनि अपांगता भएका व्यक्ति भन्नेबित्तिकै एनएसीअघिल्तिर गीत गाउन बसेकाहरू मात्रै आउँछन् । दृष्टिविहीन चिरञ्जिीवी पौडेलले सञ्चालनमा ल्याएको सिइङ ह्यान्ड्स मसाज क्लिनिकमा १३–१४ जनाले रोजगारी पाएका छन् । उमेश थापाको डाँफे मयुर उद्योगमा झोल साबुन र धूप बनाउने काम भइरहेको छ । सहयोगी हात खोजिरहेका पनि छन् । दृष्टिविहीन कमला विक भारतबाट बेकरीको तालिम लिएर आउनुभएको छ । उहाँले एउटा मेसिन किन्न सहयोग मागिरहनुभएको छ । तर, उहाँलाई सहयोग गर्ने मान्छे भेटिएको छैन । 

रोजगारीको विषयमा चर्चा गर्दा छुटाउनै नहुने एउटा कुरा छ । त्यो हो, रोजगारीको विज्ञापन । धेरैजसो रोजगारीको विज्ञापन फोटो खिचेर राखिएको हुन्छ । त्यो विज्ञापन बुझ्न दृष्टिविहीनले दोस्रो व्यक्तिको भर पर्नुपर्छ । त्यस्तै, रोजगारीको सूचना प्रकाशित गर्दा बाइक भएको, लाइसेन्स भएको भनेर उल्लेख गरिन्छ । यस्तो हुँदा अपांगता भएका व्यक्तिहरूले यो मेरा लागि होइन होला भनेर आवेदन नै दिँदैनन् । 

पहिला नै सही/गलत सिकाउन थाल्यौँ भने मानिसहरू हच्किने रहेछन् ।

प्रविधिमा चाहिँ पहुँचको अवस्था कस्तो छ ?
प्रविधिले हाम्रो हिँडडुल सजिलो बनाइदिएको छ । राइड सेयरिङ एपले परनिर्भरतालाई हटाइदिएको छ । अपांगता भएकाहरूको पनि स्वतन्त्र जीवन सुरु भएको छ । कम्प्युटरमा साक्षर हुनेले डिजिटल प्लेटफर्ममा उपलब्ध किताबहरू पढ्न पाएका छन् । तर, कुनै प्रविधिको निर्माण गर्दा अपांगता भएको व्यक्तिको संलग्नता भएको भए झनै पहुँचयुक्त हुन्थ्यो । युजर टेस्टिङको बेला मात्रै अपांगता भएकालाई सम्झिइन्छ । बनाउने क्रममै प्रविधिको जमातले हामीलाई सम्झिदैन । 
प्रविधिले जीवन सहज बनाए पनि यो एकदमै महँगो छ । क्यास रिडर भनेर दृष्टिविहीनहरूका लागि एउटा एप आएको छ । इन्स्टा रिडर भन्ने तस्बीरमा भएको कुरा पढिदिने अर्को एप पनि छ । तर, ती डलर तिरेर चलाउनुपर्छ । कतिपय अवस्थामा किन्छु भन्दा पनि पाइँदैन । 

त्यस्तै, प्रविधिको अर्को नराम्रो पक्ष चाहिँ मन्जुरी नलिई अर्काको फोटो खिचिदिने र सामाजिक सञ्जालमा राखिदिने । म एकदिन माइक्रो बसमा थिएँ । कसैले मैले मोबाइल चलाएर मेसेज गरेको देखेर अचम्म मानेर फोटो/भिडिओ खिचिरहेको रहेछ । सोध्दै नसोधी । सँगै बसेको अर्को एकजनाले भनेपछि मात्रै थाहा पाएँ । सबैले सही नियतले खिच्छन् भन्ने छैन ।

प्रविधिको कुरा गर्दा हामी साक्षरतालाई बिर्सिरहेका छौँ । अपांगता भएकालाई हातमा मोबाइल दिएर मात्रै हुँदैन, चलाउन पनि सिकाउनुपर्छ । इन्टरनेटको कुरा गर्दा पनि त्यसको पहुँचको कुरा गर्नुपर्छ । इन्टरनेट सेवा प्रदायकलाई नेट चलेन भनेर फोन गर्दा, ‘कस्तो बत्ती बलेको छ ?’ भनेर सोधिन्छ । दृष्टिविहीन एक्लै घरमा हुँदा कसरी कुन रङको बत्ती बलेको छ भन्ने ? दृष्टिविहीनलाई ध्यानमा राखेर केही आवाज आउने सिग्नल राख्न सकिँदैन ? हामी प्रविधिको युग भन्छौँ । तर, नेपाल सरकारको सूचना नै सबैका लागि पहुँचयुक्त हुँदैन । एक वर्षअघि सूचना प्रविधि विभागमा हामी डिजिटल पहुँचयुक्तताको तालिम दिन्छौँ भनेर गएका थियौँ । त्यहाँ ‘सरकारलाई सिकाउन आउने तिमीहरू को ?’ भनेर हामीलाई थर्काएर पठाइयो । उनीहरूलाई आफू अपडेट हुनुपर्छ भन्ने नै मतलब छैन । 

प्रविधिको प्रयोगमा समस्या छ नै । अपांगता भएकाहरू स्वयं प्रविधि पढ्ने, सीप सिक्ने वातावरण कस्तो छ ?  
केही केहीले पढ्न थाल्नुभएको छ । जस्तैः सागर प्रसाईं डाइभर्स प्याटर्न चलाइरहनु भएको छ । पहुँचयुक्त प्रविधिका लागि उहाँले धेरै काम गरिरहनुभएको छ । अर्को रवीन्द्र पन्त हुनुहुन्छ । उहाँ पनि यो क्षेत्रमा काम गर्नेमा पर्नुहुन्छ । तर, यी कथाहरू कतै डकुमेन्टेड छैनन् । अपांगता भएका व्यक्तिहरू प्रविधिमा को–को छन् ?, कसरी जीवनयापन गरिरहेका छन् ? भन्ने कुरा नै डकुमेन्टेसन गर्न पनि जरुरी छ ।

अपांगतालाई हेर्ने आम मानसिकता कस्तो छ ? सकारात्मक परिवर्तन आएको पाउनुहुन्छ ? 
अपांगता भएकालाई कि त एकदमै धेरै देवत्वकरण गरिन्छ, कि एकदमै झुर भनिन्छ । मान्छे नै मानिँदैन । दृष्टिविहीनले बोलेको भरमा मान्छे चिन्नु खत्रा होइन । आँखाले नदेखेपछि कानलाई सक्रिय बनाउनैपर्छ । ह्वाइट केन टेकेर बाटो देख्नु पनि खत्रा भएर होइन, बाँच्नलाई त्यो वातावरणमा ढल्किनैपर्छ । 

कतिपय ठाउँमा पारिवारिक जमघट वा चाडपर्वमा अपांगता भएकालाई लुकाउने चलन छ । साथीभाइ घुम्न जाँदा, हाइकिङ जाँदा ‘तिमी पनि जाने हो ?’ भनेर कहिल्यै सोधिँदैन । फिल्म हेर्न जाँदा ‘आँखा नदेख्ने पनि के फिल्म हेर्ने आएको होला’ भनिन्छ । त्यस्तै, फिल्ममा अपांगता भएकालाई हेर्ने दृष्टिकोण उस्तै गलत छ । 
सम्बन्धमा अझै जटिलता छ । जति मात्रामा अपांगता भएका ज्वाइँहरू स्वीकारिन्छ, बुहारीहरू स्वीकारिँदैन । हाम्रो समाजमा बुहारी घरधन्दासँग जोडिएका छन् । त्यसैले महिलाहरू अपांगता भएकै परिवारमा पनि स्वीकारिदैनन् । 

म कलेज पढ्छु । तर, मैले पहिलादेखि नै चिनेका साथीबाहेक अरु मसँग बोल्न आउँदैनन् । सँगै बस्न खोज्दैनन् । हामीले मर्यादित शब्दको कुरा गरिरहँदा मानिसहरू तर्सिए जस्तो लाग्छ । अब चाहिँ मलाई पहिला संगत गर्न दिऊँ, अनि मात्र मर्यादित हुन सिकाऊँ जस्तो लाग्न थालेको छ । पहिला नै सही÷गलत सिकाउन थाल्यौँ भने मानिसहरू हच्किने रहेछन् । के भन्न हुने हो, के नहुने हो भनेर तर्किने रहेछन् । धेरै संवेदनशील हुन सिकाउँदा कहिलेकाहीँ सम्बन्ध नै विकास हुन नसक्ने रहेछ । त्यो भन्दैमा मनपरी शब्द प्रयोग गर्न पाइन्छ भनेको होइन । तर, शव्दको निहुँ पारेर मानिसहरू उम्किरहेका छन् । 

अब ८० को दशकको कुरा गरौँ । ७० को दशकबाट हामीले दोहोर्याउन नहुने गल्ती के हो ? सिक्नुपर्ने पाठ के हो ? 
विनाशले कहिलेकाहीँ विकास पनि ल्याउन सक्छ । भूकम्पपछि अपांगतामैत्री संरचना बनाउने अवसर थियो । त्यसलाई बेवास्ता गरियो । यो पाठ ७० को दशकबाट सिक्नुपर्छ । ७० को दशकले पटक–पटक इन्क्लुजनमा टोकनिजम नगर भनिरहेको छ । अबको दशकमा देखावटी समावेशी नगरौँ । योजना बनाउँदा अपांगता भएकालाई पनि समेटौँ । राजनैतिक अस्थिरता ८० को दशकमा नदोहोर्‍यौँ । 

त्यस्तै, ७० को दशकबाट हामीले भर्चुअल वर्क पनि गर्न सकिन्छ भनेर सिक्यौँ । कोरोनाभन्दा पहिले भर्चुअल मिटिङ गरेर काम गर्न सकिन्छ भनेर कसैले सोचेको थिएन । अपांगता भएकालाई त्यसले सजिलो बनाएको छ । जस्तै ः दृष्टिविहीनलाई पानी परेका बेला बाहिर निस्किएर काम गर्न गाह्रो हुन्छ । घरबाटै काम गर्ने कल्चरले धेरै राम्रो भएको छ । 

८० को दशकलाई राज्यले अपांगताको क्षेत्रमा काम गर्ने गरी अपांगता दशकको घोषणा गर्यो भने १० वर्षमा कुन कुन क्षेत्रमा के–के काम गर्नुपर्ला ? 
शिक्षा क्षेत्रले पाठ्यक्रममा अपांगताको विषयवस्तु समावेश गर्नुपर्छ । 

–    स्वास्थ्य क्षेत्रमा सेवा प्रवेशकै बेलामा स्वास्थ्यकर्मीहरूलाई अपांगताको विषयमा जानकारी दिनुपर्छ । हरेक स्वास्थ्य संस्थालाई अपांगतामैत्री बनाउनुपर्छ । 
–    रोजगारीको क्षेत्रमा आरक्षण भइरहेको विकृति हटाउने कार्यक्रम सञ्चालनमा ल्याउनुपर्छ । अपांगता भएका व्यक्तिहरूको सफलताका कथा समेट्नुपर्छ । 
–    सरकारी तहबाट आउने सूचनाहरू अपांगताको पहुँचयुक्त हुनुपर्छ । 

–    आमसञ्चारको माध्यमले अपांगताको सवालमा कार्यक्रम सञ्चालन गर्दा पीडितहरूलाई मात्र पात्र नबनाई सफलताका कथा पनि समेट्नुपर्छ ।
–    अत्याधुनिक कृषि भनिरहँदा, अपांगता भएका कृषकहरूका लागि अपांगतामैत्री औजारहरू बनाउनुपर्छ ।
–    अपांगतामैत्री यातायतामा जोड दिन सरकारले नीति बनाउनुपर्छ । 

–    दूरसञ्चार प्राधिकरणले सुलभ सेवा दिने हो भने ग्रामीण भूभागलाई केन्द्रमा राखेर योजना बनाउनुपर्छ । नेपाल टेलिकम सबैको सञ्चार भनिरहँदा साँच्चै सबैका लागि भएको छ/छैन विचार गर्नुपर्छ । 

–    सरकारी, गैरसरकारी, संयुक्त राष्ट्रिय संगठनले आफ्नो संस्थाको भौतिक र डिजिटल पहुँचयुक्तताको परीक्षण गर्नुपर्छ । 
–    समावेशी आयोग नाम मात्रको समावेशी भएर भएन । समावेशी प्रतिनिधित्व पनि हुनुपर्छ । 
–    सबै ठाउँमा अपांगता भएका व्यक्तिहरू बिनाअवरोध आवतजावत गर्न सक्ने हुनुपर्छ । 
–    आम जनसमुदायले अपांगता भएकालाई भगवान् होइन, मानव भएर बाँच्न दिनुपर्छ । 
–    अपांगतालाई उडाएर, होच्याएर बनेका चलचित्रलाई सेन्सर गर्नुपर्छ । 

अपांगताप्रतिको बुझाइ बदल्न परिवार, विद्यालय, सञ्चार माध्यम, नागरिक समाजको भूमिका कस्तो छ र हुनुपर्छ ? 
७० को दशमा अपांगता भएका व्यक्तिलाई सबैजसो परिवारले परिचयपत्र बनाइदिएका छन् । तर, उनीहरूले नागरिकता भने छैन । परिचयपत्रबाट भत्ता पाइन्छ । नागरिकता बनाएपछि अंश दिनुपर्छ । अपांगता भएका सबैजना राज्यकै भर पर्नु नपर्ने खालका पनि हुन्छन् । तर, परिवारले अपांगता नभएका सन्तानलाई आठ÷दश लाख लगानी गर्छ । तर, अपांगता भएकालाई पढाउनुपर्दा छात्रवृत्ति खोज्दै हिँड्छ । परिवार उनीहरूमा लगानी गर्न खोज्दैन । 

नागरिक समाजले र्‍याली गर्ने बेला मात्रै अपांगता भएका व्यक्ति सम्झिएर हुँदैन । र्‍याली गर्दा पनि मर्ने गरेर हिँड्न लगाइन्छ । अपांगता भएका व्यक्तिलाई बोलाउँदा कति हिँडाउने त्यो विचार गर्नुपर्छ । कार्यक्रम अपांगता भएका व्यक्ति पुग्नै नसक्ने ठाँउमा गरिन्छ । अरुलाई खबरदारी गर्ने नागरिक समाज आफू कत्तिको संवेदनशील छु भनेर कहिले समीक्षा गर्ने ? 

आमसञ्चार माध्यमले अपांगता र सीमान्तीकृतको विषयमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्नुपर्छ । यी विषयमा तालिम दिनुपर्छ । टेलिभिजन कार्यक्रमहरूमा ‘स्क्रिनमा देखाइएको नम्बरमा फोन गर्नुहोला’ भनिन्छ । दृष्टिविहीनले कसरी थाहा पाउने, स्क्रिनको नम्बर ? मिडियाले पनि सबैको पहुँचमा पुग्ने सामग्री निर्माण गर्नुपर्छ । नेपाल टेलिभिजनले सांकेतिक भाषामा समाचार दिन्छ । समाचार मात्रै होइन, बहसका कार्यक्रम, फिल्म र मनोरञ्जनका कार्यक्रम पनि राखौँ न सांकेतिक भाषामा । त्यस्तै, किन कम्प्युटर चलाएका अपांगता भएका व्यक्तिहरूको मात्रै कथा ल्याउने ? ग्रामीण क्षेत्रमा भैँसी पाल्ने, दूध दुहुने, घाँस काट्ने, ट्र्याक्टर चलाउनेहरूको पनि कथा ल्याऔँ न ।