महामारीमा स्थानीय सरकारको प्रयास : घर-घरमै अक्सिजन

बुटवल : कोभिड-१९ महामारी संक्रमणको दोस्रो लहरसँगै बुटवल उपमहानगरपालिकाले जनताको घरदैलोमै सेवा प्रदान गर्ने अभियान चालेको छ । उपमहानगरले अक्सिजन बैंकको स्थापना गरी संक्रमितहरुको घर घरमै सेवा पुर्याउने तथा चिकित्सकीय परामर्शसहित औषधिहरु उपलब्ध गराउने काम भइरहेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी गराए ।
महामारी नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसहित यहाँका सामाजिक संघ संस्थाहरुसँगको सहकार्यमा उपमहानगरले अभियान जारी राखेको उनले बताए । यसैगरी कोभिड संक्रमित भएका र आइसोलेशनमा बसेकाहरुलाई प्राथमिक उपचारमा सहयोग पुर्याउने तथा अस्पतालसम्म लैजान सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गरिएको प्रवक्ता रेग्मीले जानकारी गराए ।
अक्सिजन बैंकबाट आइसोलेशनमा रहेकाहरुलाई सेवा
उपमहानगरपालिकाभित्र होम आइसोलेसन, होटल आइसोलेसन र सामुदायिक आइसोलेसनमा रहेका कोभिड संक्रमितहरुलाई लक्षित गरी उपमहानगरले अक्सिजन बैंक सञ्चालन गरेको छ । निश्चित मापदण्डका आधारमा अक्सिजन आवश्यक पर्नेहरुलाई आपतकालिन रुपमा २४ सै घण्टा सेवा प्रदान गरिने उपमहानगरले जनाएको छ ।
बैंकमार्फत हालसम्म २ सय ७० जना बढी संक्रमितहरुले घरमै बसेर सेवा लिएका छन् । अहिले पनि २ सय १० ले सेवा लिइरहेको उपमहानगरले जनाएको छ । पाँचजना स्वास्थ्यकर्मीहरुसहितको ४ वटा समूह निर्माण गरी संक्रमितहरुको घरदैलोमै सेवा प्रदान गर्ने गरिएको छ । अक्सिजन बैंकले स्थापना भएको ५ दिनको अवधिमा दैनिक ५० देखि ६० जना संक्रमितहरुलाई घरमै भेटेर सेवा प्रदान गर्ने गरेको छ ।
लायन्स क्लब अफ बुटवल क्षेत्र ४ ले सिलिण्डरहरु रिफिल गर्नुका साथै बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले प्रदान गरेको ३५ वटा सिलिण्डरबाट अक्सिजन बैंकको सुरुवात गरिएको थियो ।
बैंक सञ्चालनका लागि रुपन्देही उद्योग संघ, औषधि व्यवसायी संघ, बुटवल उद्योग बाणिज्य संघ र गौतमबुद्ध सामुदायिक मुटु हस्पिटलले सहकार्य गरेका छन् । अक्सिजन बैकंमा हाल ठूला र साना गरेर करिब एक सय ५० वटा मात्र अक्सिजन सिलिण्डर रहेको प्रवक्ता रेग्मीले जानकारी दिए ।
आइसोलेसन निर्माण तथा घरदैलोमै आयुर्वेद औषधि
बुटवल उपमहानगरले कोभिड संक्रमणको दोस्रो लहरसँगै आइसोलेशन सेन्टर निर्माणलाई पनि प्राथमिकतामा राखेको प्रवक्ता रेग्मीले बताए । उपमहानगरले हाल बुटवल ११ देवीनगरमा अवस्थित एन्फा एकेडेमीमा ४० जना क्षमताको आइसोलेशन सेन्टर स्थापना गरी सञ्चालन गरिरहेको छ भने थप क्षमता विकासका लागि समेत तयारी अवस्थामा रहेको बताएको छ ।
उपमहानगरमा थप आइसोलेशन आवश्यक परेको अवस्थामा बुटवल ११ र बुटवल–१३ नवनिर्मित वडा भवनलाई आइसोलेशनका रुपमा प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा राखिएको उनले बताए ।
यसैगरी उपमहानगरले संक्रमितको घरदैलोमै भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, जिकं, पेन्टाप्राजोल, सिटामोल, गिलोये चुर्ण, अमला चुर्णसहितका आयुर्वेद औषधि वितरण गरेको छ । यसैक्रममा दोस्रो लहर सुरु भएयता बुटवलका विभिन्न वडाहरुमा घरदैलोमा पुगेर एक हजार बढीलाई निःशुल्क आयुर्वेद औषधि वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
निःशुल्क पीसीआर परीक्षण
उपमहानगरले १९ वटै वडाहरुमा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा रहेका नजिकका व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्ने गरेको छ । यस्तै कतिपय लक्षण देखिएका संक्रमितहरुको घरमै पुगेर स्वाब परीक्षण गर्ने गरिएको उपहानगरका स्वास्थ्य शाखा प्रतिनिधिले बताए ।
हालसम्म दोस्रो लहर सुरु भएयता एक हजार ५५ जनाको निःशुल्क स्वाब परीक्षण गरिएको तथ्याङ्कमा उल्लेख छ । यसैगरी उपमहानगरको स्वास्थ्य शाखा र वडामा आउने सूचनाका आधारमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने गरिएको प्रवक्ता रेग्मीले बताए ।

रुपन्देहीमा चट्याङ लागेर यादवको मृत्यु

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बजेट अभावमा विद्यालय भवन अधुरो

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

प्रतिक्रिया