आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

गुरु अस्तका बेला शास्त्रले निषेध गरेका कर्म नगर्न अनुरोध

फाइल तस्बिर

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गुरु अस्तका बेला शास्त्रले निषेध गरेका कामना राखेर गरिने शुभ कर्म नगर्न आह्वान गरेको छ । समितिले आज विज्ञप्ति प्रकाशित गरी यही चैत १७ गते शुक्रबारदेखि  गुरु अस्त भई आगामी विसं २०८० वैशाख १५ गते शुक्रबार गुरुको उदय हुने भएकाले यस अवधिमा कामना राखेर गरिने शुभ कर्म नगर्न अनुरोध गरेको हो ।

गुरु अस्त भएका दिनमा गुरुको अस्त दोष र वैशाख १६ देखि १८ गतेसम्म गुरुको बाल्य दोष रहने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

अस्त समयमा गुरु शुक्र सूर्यको समिपमा रहने भएकाले यज्ञका फलदाता देवगुरुको र शुक्रको कुनै पनि सकारात्मक प्रभाव पर्दैन भन्ने नै शास्त्रको मनसाय भएको समितिले जनाएको छ । शास्त्रअनुसार फलको आशाले गरिने धार्मिक कृत्यहरू शास्त्रले निषेध गरेको समयमा गर्न मिल्दैन । यसो गरेमा जुन कामनाले गरिन्छ त्यो फल नपाइने समितिको भनाइ छ ।

हाल देशमा यस्तो वर्जित समयमा सप्ताह, नवाह र ठूला ठूला यज्ञहरू भइरहेका छन् र हुन लागेका छन् भन्ने सुन्नमा आएका छन् । यस्ता क्रियाकलाप बन्द गरिनुपर्छ भनी देशमा चारैतिरबाट जनगुनासासमेत समितिमा आएकाले यस विषयमा ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।