विष्णु पौडेलले अर्थतन्त्रलाई न्याय गर्न सक्छन् ?

काठमाडौंः नेपाली कांग्रेसको सरकार बन्दा डा. रामशरण महत जसरी बारम्बार अर्थमन्त्रीमा दोहोरिन्थे, त्यसरी नेकपा महासचिव विष्णु पौडेल दोहोरिँदै अर्थमन्त्री बन्ने ‘भाग्यशाली’ व्यक्ति बनेका छन् । भरतमोहन अधिकारीबाहेक पछिल्लो समयमा कम्युनिष्ट पार्टीको सरकार बन्दा हरेक पटक जसो फरक-फरक व्यक्ति अर्थमन्त्री भएका छन् । पौडेल यसअघि भारतीय नाकाबन्दीसँगै उत्पन्न संकटका बेला केपी शर्मा ओली सरकारकै अर्थमन्त्री बनेका थिए ।
पुनः नियतिले उनलाई प्रधानमन्त्री ओलीकै दोस्रो कार्यकालको अर्थमन्त्री बन्ने सौभाग्य दिएको छ । संयोग भन्नुपर्छ, उनको सत्तारोहण संकटकै समयमा मात्र भइरहेको छ । उर्जामन्त्री हुँदा देशमा चरम लोडसेडिङ थियो । २०६५ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारका उर्जामन्त्री बनेका उनले त्यही वर्ष हिउँदमा लोडसेडिङ दैनिक १४ घण्टा पुर्याउनुपर्ने भन्दै उर्जा संकटकाल घोषणा गरेका थिए ।
पहिलोपटक उनी अर्थमन्त्री बन्दा भारतीय नाकाबन्दीका कारण मुलुकको आपूर्ति व्यवस्था ठप्प थियो । मानवीय संकट आउन नदिन आपूर्ति व्यवस्था सुधार र बजेटरी प्राथमिकतालाई उत्पादन र आपूर्तिसँग जोड्नुपर्ने भन्दै उनले तत्कालीन आर्थिक अवस्थाका सम्बन्धमा श्वेतपत्र जारी गरेका थिए । यद्यपि उनले २०७३/७४ को बजेटमा आन्तरिक उत्पादन, स्वनिर्भर अर्थतन्त्र निर्माण, पूर्वाधार विकास सम्बन्धि केही महत्वपूर्ण कार्यक्रमहरु घोषणा गरेका थिए । विद्युतीय सवारी-साधनमा उनले भारी कर छुट गरे ।
विद्युतीय सवारी साधन सार्वजनिक यातायातमा १ प्रतिशत र निजी प्रयोजनका विद्युतीय सवारी साधनमा १० प्रतिशत भन्सार दर तोकेका थिए । यो उनको निकै दूरगामी निर्णय थियो । भारतीय कम्पनी आइएल एण्ड एफएसले न्यूनतम आम्दानी सुनिश्चितताका आधारमा मात्र काठमाडौं-तराई फास्ट ट्रयाक बनाउने शर्त सरकारले रद्द गरेर नेपालले आफैं निर्माण गर्ने सन्देश दिन उक्त बजेटमा १० अर्ब रुपैँया फास्ट ट्रयाकका लागि विनियोजन गरेको थियो ।
खतिवडाको अर्थमन्त्रीकालमा दुराग्रहपूर्ण व्यवहार झेलेको निजी क्षेत्र पौडेलको नियुक्तिप्रति ‘सकारात्मक’ देखिन्छ । अर्थमन्त्रीको सफलता भनेको निजी क्षेत्रलाई विश्वासमा लिन सक्नु पनि हो । निजी क्षेत्रलाई विश्वासमा लिने नाममा उनीहरुलाई मनपरी गर्न छुट दिने होइन, सरकारका प्राथमिकता अनुसार लगानी र सेवा प्रवाहका लागि प्रचलित नियम कानुनको अधिनमा राखेर डोर्याउने पनि हो । यसअर्थमा पौडेलले पूर्वअर्थमन्त्री खतिवडाले थुनेका सम्भावनाका ढोकाहरु खोल्न सफल हुनेछन् ।
सामाजिक सुरक्षा भत्ता कम्युनिष्ट सरकारको परिचायक र स्वामित्वको कार्यक्रम हो भन्ने अझै प्रष्ट पार्न उनले वृद्धवृद्धा, एकल महिला, अशक्त र आदिवासीहरुलाई दिने भत्ता दोब्बर गरेका थिए । यसबाहेक उनले बजेट विनियोजन नभएपनि विकास निर्माणका परियोजनाहरुलाई स्रोतको सुनिश्चितता दिने विकृत अभ्यास चलाए । जसको असर राज्यकोषमा दीर्घकालीन व्ययभार थप्ने काम भयो ।
नेकपाका शक्तिशाली महासचिव पौडेल मन्त्रिपरिषद्मा चौथो वरियताका मन्त्रीका रुपमा बिहीबारदेखि कार्यभारम्भ गरे । यसपटक कोभिड–१९ महामारीले अर्थतन्त्र संकटग्रस्त छ । यस्तो अवस्थामा उनले अर्थतन्त्रलाई कसरी न्याय गर्लान् भन्ने स्वभाविक प्रश्नहरु उठेका छन् । पौडेलको कार्यकालमा उनले अर्थतन्त्रलाई गति दिन विकास निर्माणको खर्च बढाउनुपर्ने हुन्छ ।
यस मामिलामा उनी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको तुलनामा काबिल हुनसक्छन् । राजनीतिक व्यक्ति भएकाले उनलाई काम गरेर देखाउनुपर्ने चुनौती छ । यसकारण उनले चौतर्फी राय सुझावहरु लिनेछन् । खतिवडाको तुलनामा उनलाई ज्ञानको अभिमान नरहेकाले उनले उचित रायसुझावहरु कार्यान्वयन गर्न अप्ठेरो मान्ने छैनन् । जुन विद्यमान अवस्थामा आर्थिक क्रियाकलाप बढाउन निकै हितकर छ । कर प्रशासनको कार्यसम्पादन फितलो हुन नदिने र खर्च प्रणालीलाई विकृत हुन नदिने दुई अस्त्र लिएर अघि बढेको खण्डमा पौडेलले अर्थतन्त्रलाई न्याय गर्न सक्छन् ।
खतिवडाको अर्थमन्त्रीकालमा दुराग्रहपूर्ण व्यवहार झेलेको निजी क्षेत्र पौडेलको नियुक्तिप्रति ‘सकारात्मक’ देखिन्छ । अर्थमन्त्रीको सफलता भनेको निजी क्षेत्रलाई विश्वासमा लिन सक्नु पनि हो । अर्थमन्त्री खतिवडाले आफ्नो कार्यकालमा भने निजी क्षेत्रको विश्वास आर्जन गर्न सकेनन् र निजी क्षेत्रप्रति ‘कठोर’को पहिचान लिएरै बाहिरिए ।
निजी क्षेत्रलाई विश्वासमा लिने नाममा उनीहरुलाई मनपरी गर्न छुट दिने होइन, सरकारका प्राथमिकता अनुसार लगानी र सेवा प्रवाहका लागि प्रचलित नियम कानुनको अधिनमा राखेर डोर्याउने पनि हो । यसअर्थमा पौडेलले पूर्वअर्थमन्त्री खतिवडाले थुनेका सम्भावनाका ढोकाहरु खोल्न सफल हुनेछन् ।
अर्थमन्त्री विष्णु पौडेलको छबिलाई लिएर कतिपयले उनको जस्तो स्वाभाव र खतिवडासँगको ज्ञानको संयोजनको सुन्दर चित्र पनि कोर्छन् । सबै मानिस, सबै दृष्टिकोणले निपुणः हुँदैनन् । पहिलोपटक अर्थमन्त्री हुँदा पौडेललाई खासगरी दातृ निकायसँग डिल गर्न नसक्नु कमजोरीको रुपमा चित्रण गरियो, जुन हिनभाव हो । दातृ निकायको विश्वास आर्जन त सरकारका नीति, कार्यक्रम र प्राथमिकताले निर्धारण गर्ने हो ।
पौडेलका विषयमा अर्थ मन्त्रालयमा एउटा रोचक किस्सा छ- उनी कुनै विषयमा वरिष्ठ कर्मचारीहरुले सहमति माग्दा, ‘मैंले सही गर्नुपर्छ कि पर्दैन ?’ भनेर सोध्ने गर्थे । सकेसम्म हस्ताक्षर नगर्दा कुनै निर्णय विवादास्पद भइहाले पनि बच्न सकिन्छ भन्ने सोच उनको अन्तर्मनमा देखिन्छ ।
बालुवाटार जग्गा प्रकरणका कारण केही वर्षयता उनी चर्चा र विवादको चुलीमा छन् । बुटवलको प्रदेश राजधानी अर्थमन्त्रीसँग साटेको भनी उनीमाथि कटाक्ष भइरहेको छ । पौडेलको राजनीतिक करिअरमा झुण्डिएका यी तरवारलाई उनले सरकारमा रहेर पन्छाउन सक्लान् त भन्ने प्रश्नको उत्तर भने उनले सरकारबाट दिने ‘डेलिभरी’ ले निर्धारण गर्नेछ ।

प्रधानमन्त्री ओलीसँँग राष्ट्रसङ्घीय अधिकारीको भेट

प्रधानमन्त्री ओली र म्यान्मारका प्रधानमन्त्री हलिङबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्योः राजावादीका आन्दोलनमा पक्राउ परेकाहरु हाम्रो का…

राष्ट्रपतिले नियुक्त गरे तीन देशका लागि गैरआवसीय राजदूत

राष्ट्रपतिले नियुक्त गरे तीन देशका लागि गैरआवसीय राजदूत

नेपालमा मातृ बाल स्वास्थ्य सेवा सुदृढ गर्न जापान र संयुक्त राष्ट्र जनसंख्या कोष…

प्रतिक्रिया