नयाँ वर्षमा पर्यटकले भरिभराउ घान्द्रुक

अन्नपूर्ण (कास्की)- नयाँ वर्ष २०८० को सुरुवातसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक पर्यटकले भरिभराउ भएको छ ।
शुक्रबार र शनिबार घान्द्रुकका होटल होमस्टे भरिभराउ भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । नयाँ वर्षको दिन शुक्रबार मात्र २ हजार १ सय पाहुना घान्द्रुक पुगेको अध्यक्ष गुरुङले बताए ।
‘बिदाको दिन अनि नयाँ वर्ष भएर होला शुक्रबार २ हजार नेपाली एक सय जना जति विदेशी पर्यटक घान्द्रुक आएका थिए,’ अध्यक्ष गुरुङले भने, ‘यहाँको होटल र होमस्टेले नपुगेर सामान्य घरमा पनि पाहुना मिलाएर राख्यौं ।’ शनिबार पनि उत्तिकै संख्यामा पाहुना पुगेको उनले सुनाए ।
गुरुङ कटेज घान्द्रुकका सञ्चालक किसम गुरुङले आफ्नो होटलको सबै कोठा प्याक भएको जानकारी दिए । पाहुनाको संख्या अत्यधिक हुँदा घान्द्रुकको बसपार्कमा सवारी व्यवस्थापनमा समस्या परेको गुरुङले बताए । उनका अनुसार शुक्रबार मात्र ५ सयको हाराहारीमा बस, जीप र मोटर साइकल घान्द्रुक पुगेको थियो ।
‘पाहुना धेरै आउँदा घान्द्रुकको खोलो भ्रों बस स्टेसनमा पार्किङ मै पनि समस्या होला जस्तो भएको थियो,’ होटल सञ्चालक गुरुङले भने, ‘शुक्रबार मात्र लगभग ५ मोटर साइकल २५ वटा बस र ७० वटा जीप थियो । हामीले जसोतसो पार्किङ व्यवस्थापन गरियो ।’
घान्द्रुकमा पाहुना राख्नका लागि ५५ को हाराहारीमा होटल र १८ वटा होमस्टे रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष गुरुङले जानकारी दिए । पाहुना धेरै भएको अवस्थामा १० घर जतिमा व्यवस्थापन गर्न सकिने उनले बताए । ७०/८० होटल होमस्टेमा एक दिनमा २ हजारसम्म मात्र पाहुना राख्न सकिने अध्यक्ष गुरुङले जानकारी दिए ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया