मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

प्रधानमन्त्रीलाई दाहालको सुझाव : नयाँ सरकार गठनको लागि बाटो प्रसस्त गर्नुस्

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कुनै आधार नरहेको बताएका छन् । सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि प्रतिनिधि सभामा बोल्दै दाहालले यस्तो बताएका हुन् ।

'देश कोभिडको कारणले आक्रान्त भइरहेको छ, जनता पीडामा छट्पटाइरहेको अवस्थामा विशेष प्रकारको अधिवेशनमा उपस्थित भएका छौँ, सरकारबारे छलफल गरिरहेका छौँ, दोस्रो लहर भयावह भएको छ, यससँग लड्न देशका सबै शक्ति एक हुन अपिल गर्छु यसमा पूर्ण सहयोग रहन्छ', उनले भने,'सरकारको तर्फबाट भर्खरै प्रधानमन्त्रीले विश्वासको मतका लागि आग्रह गर्नु भएको छ, प्रधानमन्त्रीजीलाई राम्रोसँग थाहा छ यो सदनले विश्वासको मत दिँदैन ।' 

लोकतान्त्रिक अधिकारभित्रैकाे कुरा भएकाले सम्मान विश्वासको मतलाई सम्मान गरेको दाहालले बताए । 'तपाइँको नेतृत्वमा सरकार गठन भएपछि भएका गतिविधि हेर्दा विश्वासको मत दिने कुनै आधार छैन', उनले भने,'मैले संसद् पुन:स्थापना भएकै दिन गम्भीरताका साथ भनेको थिएँ राजीनामा दिएर नयाँ सरकार गठनको प्रस्ताव राखेको थिएँ, तपाइँले अहिले पनि राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो प्रसस्त गर्नु नै उपयुक्त हुन्छ भनेर सुझाब दिन चाहन्छु ।'