'सिंहदरबारको फोहोर उठाए म सक्किन्छु'

काठमाडौँ- संघीय सरकार र काठमाडौँ महानगरपालिकाबीच द्वन्द्व हुँदा दश दिनदेखि सिंहदरबार भित्रको फोहोर उठ्न सकेको छैन । गत शनिबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फेसबुकमा चेतावनी दिँदै लेखेका थिए, 'सिंहदरबारको फोहोर उठ्दैन र त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने ।' मेयर शाहले स्टाटस लेखेपछि सिंहदरबारबाट फोहोर उठ्न छाडेको हो ।
सिंहदरबारभित्रबाट दैनिक पाँच टन उत्पादन हुने फोहोर अहिले मुख्य सचिव कार्यालय अगाडिको उद्यानमा संकलन गरेर राखिएको परिवर्तन सेवाका अध्यक्ष मित्र घिमिरेले बताए ।
उनका अनुसार करिब डेढ दशकदेखि फोहोर संकलन गर्ने जिम्मा परिवर्तन सेवाले पाएको छ । २०६४ सालदेखि निजी कम्पनीले फोहोर उठाउँदै आएको छ ।
‘सिंहदरबारबाट काठमाडौँ महानगरले नउठा भनेसम्म फोहोर उठ्दैन,’ घिमिरेले भने, 'मैले मेरो खुसीले फोहोर उठाएँ भने व्यवसायिक रूपमा म सक्किन्छु ।'
१२ टन फोहोर थुप्रिएको घिमिरेले जानकारी दिए । शून्य फोहोरको अवधारणा अपनाउन थालिएको उनको भनाइ छ । खेर गएका खाद्यान्नहरू बाहिर दिन थालिएको छ । ‘खेर गएका खाद्यान्न दैनिक एक टन उत्पादन भइ बाहिर पठाउने गरिएको छ,’ उनी भन्छन्, 'पुनः प्रयोग गर्न मिल्ने कार्टुन, प्लाष्टिक र कागजजस्ता सामग्री कबाडमा दिन थालेका छौं ।'
पतकर जस्ता फोहोरहरू खाल्डो खनेर पुरिएको घिमिरेले इकागजलाई बताए । जबसम्म सिंहदरबारको फोहोर उठाउन केन्द्र सरकार र काठमाडौँ महानगरबीच सम्झौता हुँदैन तबसम्म यतिकै राखिने उनले प्रस्ट पारे ।
परिवर्तन सेवा प्रा.लि ले सिंहदरबारको फोहोर उठाउन शहरी विकास मन्त्रालयसँग सम्झौता गरेको हो । सिंहदरबारबाट फोहोर उठाउन प्रत्येक वर्ष सम्झौता हुने गरेको छ ।
सम्झौतामा सरकारले तोकेको स्थानमा फोहोर फाल्ने व्यवस्था उल्लेख छ । उनका अनुसार सिसडोलमा फोहोर फाल्ने गरिएको छ । सिसडोलमा महानगरले फोहोरको अप्रेसन गरिरहेको छ ।
परिवर्तन सेवाले सिंहदरबार, राष्ट्रपतिको कार्यालय, प्रधानन्यायाधीशको कार्यालय, सभामुखको कार्यालय, राष्ट्रिय सभा अध्यक्षको कार्यालय र मन्त्री क्वार्टर पुल्चोकबाट फोहोर उठाउने गरेको छ ।
‘सिंहदरबारबाट लगिएको फोहोर लगेमा महानगरले सदाका लागि थप काम गर्न नपाउने गरी कारबाही गरिने चेतावनी दिएको छ,’ उनले सुनाए, 'मैले फोहोर लैजानासाथ मेरो कम्पनीको गाडी जफत हुन्छ । शहरी विकास मन्त्रालयले मेरो गाडी जफत नहुने ग्यारेण्टी गरिनुपर्छ ।'
घिमिरेले अनलाइन बिट मार्फत फोहोर उठाउने जिम्मा पाएको बताए । मासिक साढे पाँच लाखमा फोहोर उठाउने ठेक्का पाएको उनले जानकारी दिए ।
परिवर्तन सेवाले महानगरको ६,७,८,१७ र १८ बाट फोहोर उठाउने गरेको छ । चैत २६ गतेबाट सिंहदरबार परिसरबाट फोहोर उठ्न छोडेको छ ।
शहरी विकास मन्त्रालयले भन्यो : फोहोर उठाउने वातावरण बनाइदिनू
‘काठमाडौँ महानगरपालिकाले संवैधानिक एवम् कानुनी प्रावधानविपरीत फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा आफ्नो दायित्वबाट विमुख भई अवरोध सिर्जना गरेको अवस्थामा सिंहदरबार केन्द्रीय सचिवालय रहेको परिसर, अतिविशिष्ट र विशिष्ट पदाधिकारीहरूको निवास रहेको स्थानबाट फोहोर मैला उठाइ व्यवस्थापन गर्ने कामका लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी फोहोर व्यवस्थापन गर्न सहजीकरण गरिदिन र उचित वातावरण बनाउन निर्णय भएको छ ,’ मन्त्रालयले भनेको छ ।

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

गुँलापर्व आजदेखि सुरु

नेपालीले भारतमा तीन महिना समयावधिको सीम कार्ड पाउने

प्रतिक्रिया