आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

'जातीय विभेद कायमै रहनु दुःखद'

फाइल तस्बिर

भालुवाङ​- पूर्वसभामुख कृष्णबहादुर महराले समुदायमा जातीय विभेद कायमै रहनु दुःखद भएको बताएका छन् । अझै पनि जातीय विभेद अन्त्यका लागि सङ्घर्ष गर्न आवश्यक रहेको उनको भनाइ छ । 

नेपाल दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनलाई आज दाङको राप्ती गाउँपालिकास्थित मसुरीयामा सम्बोधन गर्दै महराले मानव जातिमा दुई वटामात्र थर रहेको तर समाजमा अझै पनि दलितको नाममा विभेद कायमै रहेको बताए ।

'हामीले यसरी वर्गीय विभेदलाई निर्मूल पार्नका लागि लडाई लड्दै गर्दा पनि देशका कैयौँ ठाउँमा दलित कुटिएका छन्, हेपिएका छन्, दुर्व्यवहारमा परेका छन्, त्यस कारण मलाई लाग्छ सामन्तसँगको लडाई अझै सकिएको छैन,' नेता महराले भने । 

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपाध्यक्षसमेत रहेका महराले दलित भन्ने शब्द अन्त्य गरिनुपर्ने बताए । उनले वर्तमान सरकार यथास्थितिमा सञ्चालन हुने र बिग्रेको अर्थतन्त्रलाई सुधार गर्दै लैजानेमा आफू आशावादी भएको बताए ।