राम्रो व्यापार गरिरहेको 'जारी' का निर्देशक र कलाकार के भन्छन् ?

काठमाडौँ - नेपाली चलचित्र 'जारी' अहिले प्रदर्शन भइरहेको छ । चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको चलचित्र निर्माण टिमले जनाएको छ । उनीहरूले बुधबार पत्रकार सम्मेलन गर्दै दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन् ।
निर्देशक उपेन्द्र सुब्बाले नेपाली समाजमा सबैभन्दा स्वतन्त्र जीवन जिउने महिलाहरू लिम्बू समुदायमा रहेको बताए । तर, पनि उनीहरूको स्वतन्त्रता घरका मान्छेले कहाँ गइस् भनेर नसोध्नु मात्रै होइन भन्ने कथावस्तु आफूले देखाउन खोजेको उनले बताए । महिलाहरूले पैतृक सम्पत्तिको उपभोग गर्न नपाउन्जेल अन्य स्वतन्त्रताको अर्थ रहन्न भन्ने यथार्थलाई चलचित्रमा देखाउन खोजेको उनको भनाइ छ । ‘नेपाली समाजमा खुला समाज भनेको लिम्बूहरूको हो । बढी स्वतन्त्रता लिम्बूहरूले नै उपभोग गरिरहेका छन् भन्ने गरिन्छ,' उनले भने, 'यहाँभित्र महिलाहरूको हक बढी हुन्छ भन्ने कथन छ । मलाई यत्तिले मात्रै पुग्दैन भनेर लागेको हो । जबसम्म छोरीमा पैतृक सम्पत्तिको हक लाग्दैन तबसम्म अरु स्वतन्त्रता फिक्का रहन्छन् भन्ने सोचेर नै जारी बनाउने सोच निकालेँ । बनाउँदा बनाउँदै के के बनाएँ नै थाहा छैन ।’
अभिनेता दयाहाङ राईले लिम्बू संस्कृतिसँग सम्बन्धित चलचित्र भएकाले काम गर्न केही कठिनाइ भए पनि आफू लिम्बू संस्कृतिसँग धेरै नजिक हुँदा सहज लागेको बताए । उनले सांस्कृतिक हिसाबले पनि आफूलाई अभिनय गर्न सहज भएको बताए । ‘धेरैले राम्रो प्रतिक्रिया दिनुभएको छ । मलाई काम गर्न केही कल्चरको हिसाबले उस्तैउस्तै भएर धेरै नै सहज भयो, अभिनय निभाउनलाई । कल्चर मिल्दोजुल्दो थियो, हृदम पनि मिल्दोजुल्दो थियो,' उनले भने, 'स्क्रिप्ट छर्लङ्ग थियो, त्यो मेरो लागि चुनौती थियो । रिस, प्रेम, इगो सबै थियो । सांस्कृतिक हिसाबले पनि मलाई अभिनय गर्न धेरै सहज भयो ।’
अभिनेत्री मिरुना मगरले अन्य चलचित्रमा अभिनय मात्रै हुने भए पनि जारीमा पात्रअनुसार भिजेर अभिनय गर्न पाएको बताइन् । उनले चलचित्रमा अभिनय गर्दा पात्रको विषयवस्तुलाई महसुस गरेर काम गरेकाले राम्रो प्रतिक्रिया पाइरहेको बताइन् । ‘मैले काम गरेका चरित्रहरूमा जारी भन्दा भिन्न थियो । जारीको स्क्रिप्ट पढ्दा नै मैले धेरै नै भिन्न पाएको थिएँ,' उनले भनिन्, 'मलाई स्क्रिप्ट पढ्नेवित्तिकै काम गरेको जस्तो फिल हुन्छ होला भन्ने लागेको थियो । मैले यो चरित्रमा वास्तविक अभिनय गर्ने प्रयास गरेको छु । चलचित्रमा मैले पात्रको अभिनयलाई महशुस गरेर काम गरेँ र धेरैकुरा सिक्न पाएँ ।’
त्यस्तै अभिनेता विजय बरालले लिम्बू समुदायको कथावस्तुलाई चलचित्रमा उतारिएकोले त्यही अनुसारको पात्र बन्दा केही कठिनाइ भएको बताए । उनले लिम्बू भाषा बोल्नै नजान्नेलाई सबैभन्दा बढी लिम्बू भाषा प्रयोग गर्नुपर्ने पात्र बनाउँदा केही कठिनाइ भएको तर सिक्दै जाँदा सहजै अभिनय गर्न सकेको बताए ।
लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमानको कथा समेटिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बू लगायतले अभिनय गरेका छन् । जारी नयाँ वर्षको दिन देशभर प्रदर्शनमा आएको थियो । चलचित्रले राम्रो व्यापार गरिरहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया