बागलुङमा बाढीपहिराे : डेढ दशकमा ७५ को मृत्यु, सोह्र जना अझै बेपत्ता

ढोरपाटन- बागलुङमा हरेक वर्ष बाढीपहिराेमा परी धेरैले ज्यान गुमाउने गरेका छन् । तल समथर भूभाग माथि अग्लो पहाड । त्यसमाथि हुने जताततै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ । बर्सातको समयमा बाढीपहिराेले सयौँ क्षेत्रफल खेती योग्य जमिन बगाउने गरेको छ भने बस्तीसमेत बगाउने गरेको छ ।
जिल्लामा बर्सेनि पहिराेका कारणले जनधनको क्षति हुने गरेको विगतको तथ्याङ्कले छ । पन्ध्र वर्षयताको बाढीपहिराेको तथ्याङ्क हेर्दा ७५ जनाको ज्यान गएको छ भने १६ जना बेपत्ता छन् । विसं २०६४ देखि २०७९ सम्म बागलुङमा दर्जनौँ बस्ती विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयले बेपत्ता नागरिकको परिवारलाई मृतक सरह राहत रकम प्रदान गरेको छ ।
पन्ध्र वर्षको अवधिमा पहिराेबाट सबैभन्दा बढी ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिका क्षेत्रमा मानवीय क्षति भएको छ । हालको बडिगाड गाउँपालिकामा पर्ने साबिकको ग्वालिचौरमा विसं २०६४ मा गएको पहिराेमा परी २९ जनाले ज्यान गुमाएका थिए । पहिराेमा बेपत्ता भएका नागरिकलाई पनि मृतकमै गणना गर्ने हो भने ढोरपाटन–९ मा विसं २०७७ मा गएको पहिराेले जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो मानवीय क्षति गरेको छ । उक्त पहिराेमा परी २३ जनाको मृत्यु भएको थियो । पन्ध्र जना बेपत्ता छन् ।
बेपत्तालाई मृतकका सूचीमा राख्ने हो भने पहिराेमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुग्छ । जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा पहिराेको प्रकोप एक नम्बरमा परेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन् । जिल्लामा हरेक वर्ष हुने मनसुनजन्य प्रकोपबाट मानवीय क्षति भएकै छ ।
विसं २०७५ असार ११ गते बरेङ गाउँपालिका–१ धुल्लुबासकोटको पहिराेमा दुई, २०७५ साउन ३० गते निसीखोला गाउँपालिका–३ मा पहिरो गई घर पुरिँदा तीन जनाको मृत्यु भएको थियो । मनसुन आपत्कालीन योजनामा समावेश तथ्याङ्कअनुसार २०७६ साल साउन ७ गते गलकोट नगरपालिका–८ ज्यामिरेको पहिराेमा एक, २०७६ साउन २० गते तमानखोला गाउँपालिका–४ लाम्मेला शिवपुरीमा पहिरो गई तीन जनाको मृत्यु भएको उल्लेख छ ।
जिल्लाको काठेखोला गाउँपालिका–४ मा २०७७ साल असार ६ गते पहिरो गई एक, २०७७ साउन १० बागलुङ नगरपालिका–१ मा आएको पहिराेले पुरिएर एक जनाको मृत्यु र एक बेपत्ता भएका थिए । निसीखोला–१ मा २०७७ साउन १२ गतेको पहिराेले एक जना सोही दिन तमानखोला–२ मा आएको पहिराेमा परी दुई, २०७७ साउन ३० गते निसीखोला–३ का एक जना र निसीखोला–५ का दुई जनाको मृत्यु भएको थियो ।
ढोरपाटन–२ मा २०७७ साल भदौ ९ मा एक, ढोरपाटन–१० मा भदौ १६ गते आएको बाढीपहिराेले एकको मृत्यु भएको थियो । विसं २०७७ कै भदौ २७ मा बडिगाड–१० मा एक, भदौ २८ र २९ गतेको पहिराेमा परी जैमिनी–२ मा दुई र वडा नं ५ मा एक जनाको मृत्यु भएको थियो । समग्रमा २०७७ सालमा बागलुङमा ४० जनाको बाढीपहिरो चट्याङबाट मृत्यु भएको, १६ जना बाढीपहिराेमा बेपत्ता भएको थिए । विसं २०७८ असारको वर्षाका कारण बागलुङ–कुश्मिसेरा सडकको गलुवा खण्डमा पहिराेबाट क्षतिग्रस्त सडक साउन ३ गतेदेखि सञ्चालन गरिएको थियो ।
गत वर्षको असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षाका कारण जिल्लाभरीका तीन हजार पाँच सय कृषकको चार सय १० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा समेत प्रभाव पारेको थियो । ४१ जना कृषकको एक सय चार रोपनी क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रूपमा क्षति भएको थियो । पहिराेले विस्थापित परिवार हिउँदमा जीर्ण घरमै बसे पनि बर्खा लागेपछि थात थलो छाडेर अन्तै सर्नुपर्ने स्थिति छ । रासस

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया