निक्षेप १३ प्रतिशत बढ्दा २२ प्रतिशतले बढ्यो कर्जा

काठमाडौँ : चालु आर्थिक वर्ष २०७७–७८ को चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूको निक्षेप १३ प्रतिशतले बढ्दा कर्जा २२ प्रतिशतले बढेको छ । मौद्रिक नीतिले चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा जाने कर्जा २० प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण गरेको थियो । तर कर्जा विस्तारमा प्रभुत्व राख्ने वाणिज्य बैंकहरूको कर्जा परिचालन उल्लेख्य बढेकाले कर्जा विस्तार उक्त मौद्रिक लक्ष्यभन्दा माथि जाने देखिएको छ ।
चालु आर्थिक वर्षको चैतसम्म कुल ४ खर्ब ५५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भइ कुल निक्षेप ३९ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, सोही अवधिमा कर्जा विस्तार भने ६ खर्ब ५८ अर्ब रुपैयाँ छ । साउनदेखि चैतसम्म २२.६ प्रतिशतले कर्जा विस्तार भई वाणिज्य बैंकहरूको कुल कर्जा परिचालन ३५ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले जनाएको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले यस आर्थिक वर्षमा कात्तिकदेखि चैतसम्म आर्थिक गतिविधि सामान्य रहेकाले कर्जा विस्तार हुनु स्वभाविक भएको बताए । उनले प्रतीतपत्र (एलसी) को भुक्तानी लगायत कारणले वैशाख महिनामा पनि कर्जाको माग निरन्तर रहीरहेको बताए । उल्लेख्य कर्जा विस्तार भएपनि वाणिज्य बैंकहरूमा अझै कर्जा बढाउन उल्लेख्य ठाउँ रहेको उनको भनाइ छ । अहिले वाणिज्य बैंकहरूको कर्जा–स्रोत (निक्षेप र प्राथमिक पुँजी योग) अनुपात ७९ प्रतिशतको हाराहाीमा रहेको छ । यद्यपि नेपाल राष्ट्र बैंकले कर्जा–स्रोत अनुपात ८५ प्रतिशतसम्म कायम गर्न सकिने अनुमति दिएको छ ।
जानकारहरूका अनुसार, कर्जाको विस्तार अत्याधिक भएकाले नेपाल राष्ट्र बैंकले ट्र्याक गर्नुपर्छ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले उत्पादनमूलक क्षेत्रमा जानुभन्दा पनि कर्जालाई सदाबहार (लोन इभरग्रीनिङ) गर्न प्रयोग भएको हुनसक्ने आशंका गरे । अर्थतन्त्रमा कर्जा विस्तार भए अनुसारको प्रतिफल नदेखिनुले कर्जा पूर्ण रूपमा सदुपयोग नभएको हुनसक्ने बताए । वित्तीय क्षेत्र जति विस्तार भयो त्यति सरकार र निजी क्षेत्रलाई वित्तीय स्रोत परिचालनमा सहज भएको छ । ‘वित्तीय स्रोतको उपलब्धता बढ्यो, पुँजी परिचालनको बजार बढेको छ,’ थापाले अगाडि भने, ‘यससँगै अन्य उत्पादनशील क्षेत्रमा पनि उत्पादकत्व बढाउन पुँजीसँगै प्रविधि, सीप र अन्य व्यवसायिक वातावरणमा ध्यान दिनुपर्छ ।’
यसो भएको खण्डमा वित्तीय क्षेत्रको विस्तारसँगै वास्तविक क्षेत्रको पनि सँगै विस्तार हुने उनले बताए । कर्जा कहाँ गएको छ भन्ने महत्वपूर्ण हुन्छ,’ थापाले भने, ‘आर्थिक विस्तार भनेको उत्पादकत्वको विकास हो । पुँजी परिचालन भएको छ, श्रम पनि लागेको छ तर आधुनिक प्रविधिको अभाव वा अन्य प्रक्रियागत अवरोधले उत्पादकत्व नबढेको हुनसक्छ ।’

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया