ठाकुर अध्यक्ष त हुन् तर संसदीय दलको नेता होइनन् : यादव
काठमाडाैँ : केपी शर्मा ओलीलाई सत्तामा नै राख्ने कि नयाँ गठबन्धनमा जाने भन्ने अन्यौलतासँगै नेतृत्वबीच मत बाझिदा जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । अध्यक्ष महन्थ ठाकुर समूह ओलीलाई नै सत्तामा राख्न चाहन्छ भने अर्का अध्यक्ष उपेन्द्र यादव समूह ओलीको विकल्प खोज्न लागि परेको छ । यही विवादले चर्को रूप लिएपछि जसपा फुटको संघारमा पुगेको हो ।
यादव समूहले सोमबार विपक्षी गठबन्धन नेपाली कांग्रेस र माओवादीसँगै प्रधानमन्त्रीको विपक्षमा मतदान गर्यो भने ठाकुर समूहका १५ सांसद तटस्थ बसेका थिए । आफ्नै दलका नेताले ह्विप उल्लंघन गरेपछि प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाइसकेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवको माग बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न बैशाख ३० गते राति ९ बजेसम्मको समय सोमबार दिएकी छन् ।
उनले दिएको समयमा विपक्षीले बहुमत पुर्याउन नसकेमा धारा ७६ को उपधारा ३ अनुसार अोलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ । नयाँ बन्ने प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिन पर्ने संवैधानिक व्यवस्था छ । त्यसो हुन नसके मुलुकलाई निर्वाचनमा लैजान पर्छ । त्यो बीचमा उनले संकटकाल देखाएर निर्वाचन अवधि लम्ब्याउन भने सक्छन् ।
राष्ट्रपतिको समयसीमा लगत्तै जसपाभित्र विवाद सुरु भएको हो । जसपाका अध्यक्ष ठाकुरले सोमबार राति नै विज्ञप्ती जारी गरेर जसपा र ओली नेतृत्वको सरकारबीच वार्ता सकरात्मक ढंगले अघि बढेको भन्दै मुद्दा सम्बोधनलाई नै ध्यानमा राखेकाे स्पष्ट पारेका छन् । 'कुनै पनि किसिमको वैकल्पिक सरकारको गठनमा हामी संलग्न हुने छैनौँ ,' ठाकुरले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
ठाकुरले राष्ट्रपति कार्यालयलाई आफू नै प्रथम अध्यक्ष भएको र यादवको निर्णय आधिकारीक नभएको जानकारी गराइसकेका छन् । यद्यपि यादव समुहले भने दल र पार्टीको कार्यकारिणीमा आफ्नो बहुमत भएको दाबी गर्दै आएको छ । 'उहाँ एक्लैले गरेर केही हुँदैन । उहाँ अध्यक्ष हो तर संसदीय दलको नेता होइन । हाम्रो संसदीय दलको नेता चयन भएपछि आधिकारीक निर्णय राष्ट्रपतिकोमा जानेछ,' यादवले इकागजसँग भने ।
ठाकुरले गरेको कार्य विधिसम्वत नभएको यादवले बताए । किन यस्तो भइरहेको हो, भन्नेबारेमा छलफल भइरहेको र आवश्यक परे पार्टीले कारबाहीसम्मको नीति अख्तियार गर्ने यादवले बताए ।
जसपा वरिष्ठ नेता राजेन्द्र महतोले पनि अध्यक्ष यादव सत्ताको खेलमा लागेको आरोप लगाउँदै आएका छन् । ठाकुर र महतो ओली सरकारको पक्षमा देखिएका छन् । ओली नेतृत्वको सरकारले नै मधेसको मुद्दा सम्बोधन गरिरहेको बेला कांग्रेस र माओवादीले सुरु गरेको सत्ताको खेलमा पार्टी लाग्न नहुने महतोको धारणा छ ।
जसपाका तर्फबाट कसैले सरकार बनाउने दाबीसहित राष्ट्रपतिलाई पत्र पठाएमा आफ्नो तर्फबाट पनि पत्र आउने जानकारी राष्ट्रपति कार्यालयलाई दिएको ठाकुरले जनकारी दिएका छन् । जसपाभित्र यादव र संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराई प्रधानमन्त्री ओली प्रतिगमनको नाइके भएको भन्दै उनलाई साथ दिन नहुने बताउदै आएका छन् ।

देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री देउवाको निर्देशन

‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’

तीन तहको सरकारको समन्वयमा उत्कृष्ट काम हुन्छ भन्ने उदाहरण भरतपुर सडक हो : उपप्…

गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोटमा प्रचण्ड

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री ओली

विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैन : शंकर पोखरेल

प्रतिक्रिया