शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

नेकपा बहुमतको विद्यार्थी संगठनले लगाएको ताला काठमाडौँ महानगर फोड्‌यो

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयमा राजनीतिक गर्न पाउनुपर्ने भन्दै ताला लगाउने प्रयास विफल भएको बताएका छन् ।

नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले महानगरपालिकाको शिक्षा विभागमा लगाएको ताला फुटाएपछि मेयर शाहले विद्यालयमा राजनीति बर्जित गरिएको समेत बताएका छन् । 

‘विद्यालय पढ्ने ठाउँ हो, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौँ,’ मेयर शाहले भनेका छन्, ‘यसै सन्दर्भमा काठमाडौँ महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छ।’

महानगरपालिकाले गत म‌गलबार महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको राजनीतिक कार्यक्रम गरे र गराउने अनुमति दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने चेतावनीसहित परिपत्र जारी गरेको थियो ।

उक्त परिपत्र जारी भएपछि नेकपा बहुमत निकट विद्यार्थी संगठनले हिजो महानगरको शिक्षा विभागमा तालाबन्दी गरेका हुन्, जुन तालाबन्दी हिजो नै तोडिएको महानगरपालिकाले जनाएको छ ।