मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

देउवाकै नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने कांग्रेसको निर्णय

फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमै नयाँ सरकार गठन गर्न आवश्यक समर्थन जुटाउने निर्णय गरेको हो । सभापति देउवाको निवास बुढानीलकण्ठमा भएको वर्तमान तथा पूर्वपदाधिकारी बैठकले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने गरी थप तयारी थाल्ने निर्णय गरेको सहमहामन्त्री डा.प्रकाशशरण महतले इकागजलाई जानकारी दिए । 

‘बैठक भरखरै सकियो । कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न आवश्यक समर्थन जुटाउने निर्णय भयो,’ उनले भने । बैठकले कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल समूहसहितको सरकार बनाउने विषयमा आवश्यक तयारी गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् ।  

जसपाका महन्थ ठाकुरसँग पनि नियमित छलफल भइरहेको उनको भनाइ  छ । ‘उहाँ (महन्थ) सँग चरण–चरणमा छलफल भइरहेको छ,’ उनले भने, ‘संविधानको धारा ७६(२) अनुसार सरकार बनाउन राष्ट्रपतिले तोकेका म्याद अझै कायमै छ । उहाँसँग पनि अब अर्काे चरणमा छलफल फेरि हुन्छ ।’