वैशाख दोस्रो सातासम्म देशभरका विद्यार्थीहरूले पाठ्यपुस्तक प्राप्त गरिसकेका छन् : शिक्षा मन्त्रालय

काठमाडौँ- नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा सबै विद्यार्थीले सहज रूपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज पत्रकार सम्मेलन गरी यही वैशाख दोस्रो सातासम्ममा सामुदायिक विद्यालयमा भर्ना भएका सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको जानकारी दिँदै भर्नासँगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउने कार्यमा माथिल्लो निकाय, सम्बन्धित निकाय र सञ्चार क्षेत्रबाट सकारात्मक सहयोग मिलेको जनाएको छ ।
मन्त्रालयका अनुसार यस शैक्षिक सत्रका लागि प्रक्षेपित कक्षा १ देखि ५ सम्म जम्मा २३ लाख ९२ हजार छ सय ३६ र कक्षा ६ देखि १० सम्म २० लाख ४६ हजार चार सय ५० का लागि आवश्यक पुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र निजी प्रेसबाट उत्पादन गराइएको छ । जनक शिक्षाबाट कक्षा ६ देखि १० सम्मका लागि एक करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रकबाट कक्षा १ देखि ५ सम्मका लागि एक करोड १८ लाख थान पाठ्यपुस्तक छपाइ कार्य सम्पन्न भएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मुख्यसचिव शङ्करदास वैरागी, संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतबाट भएको निर्देशन र पहलका कारण यस वर्ष सहज रूपमा उत्पादन र बिक्रीवितरण भएको बताए । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले उत्पादन क्षमतामा वृद्धि भएकाले आगामी वर्षका लागि पनि कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक समयमै छपाइ र बिक्रीवितरणका लागि तयार रहेको स्पष्ट गरे ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले परिवर्तन गरिएका पाठ्यक्रममा बाहिरी आवरण मात्रै परिवर्तन गरेर भित्री पृष्ठमा पुरानै विषयवस्तु हुबहु छापेर बिक्री गर्ने आठराई प्रकाशन र ओएसिस प्रकाशनलाई स्पष्टीकरण सोधिएको र कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक चूडामणि पौडेलले विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउँदा भर्ना अभियानमा सहयोग पुगेको र भर्ना अभियानको समग्र अगुवाइ स्थानीय तहले गरिरहेको बताए ।

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

प्रतिक्रिया