शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

कानुन व्यवसायीहरूकाे आन्दाेलन तेस्रो दिन पनि जारी

जनकपुरधाम- जनकपुरधाममा कानुन व्यवसायीहरूकाे दबाबमूलक आन्दाेलन तेस्रो दिन पनि जारी रहेकाे छ ।

समग्र न्यायपालिकामा भइरहेको भ्रष्टाचार, विकृति, विसंगति अन्त्य तथा न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि विभिन्न ८ बुँदे मागसहित कानुन व्यवसायीहरूले बुधबार पनि नेपाल बार एसोसिएसन जनकपुरधामको मूलगेटमा धर्ना दिएका हुन् ।

समग्र न्यायपालिकाको सुधारका लागि दबाबमूलक आन्दाेलन गर्ने केन्द्रीय बारको निर्णय अनुसार विभिन्न जिल्लामा आइतवारदेखि  सुरु गरिएकाे आन्दोलन नेपाल बार एसोसिएसन जनकपुरधामले तेश्राे दिन पनि जारी राखेका छन् ।

स्वतन्त्र न्यायपालिकाको रक्षा गर्नुपर्ने, न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गर्नुपर्ने, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणाली लागू हुनुपर्ने, प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब हुनुपर्ने लगायतका माग आफूहरूकाे रहेकाे कानुन व्यवसायी विपिन झाले बताएका छन् ।

 सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्त गर्नुपर्ने, संवैधानिक दायित्व पूरा गर्नुपर्ने, संवैधानिक परिषद्को बैठक अविलम्ब बोलाउनुपर्ने र संसदीय सुनुवाइ समिति गठन गर्नुपर्नेलगायतका माग समेत उनीहरूकाे रहेको जनाइएकाे छ ।