सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

निजी विद्यालयमा विद्यार्थी आकर्षित भएपछि...

फाइल फोटो

स्वर्गद्वारी - प्युठानमा नयाँ शैक्षिकसत्र २०८० का लागि भर्ना अभियान सम्पन्न भइसक्यो । जिल्लाका सबै विद्यालयमा पठनपाठनसमेत धमाधम चलिरहँदा प्युठान नगरपालिका कार्यालयकै छेउमा रहेको विद्यालयका कक्षाकोठा रित्ता छन् ।
 
प्युठान–४ थापडाँडास्थित सरस्वती प्राथमिक विद्यालय विद्यार्थी नभएका कारण बन्द हुने अवस्थामा पुगेको छ ।  नगरकार्यपालिकाको कार्यालयबाट करिब पाँच सय मिटरको दूरीमा अवस्थित सो विद्यालयमा विद्यार्थी भर्ना सङ्ख्या शून्य भएको छ ।  विसं २०१२ मा स्थापना भएको पुरानो विद्यालय यो शैक्षिकसत्रमा विद्यार्थीविहीन भएको प्रधानाध्यापक हरिप्रसाद थपलियाले जानकारी दिए । 

विद्यालयमा शिक्षक÷अभिभावकले विद्यार्थी भर्नाका लागि लिएर आउँछन् कि भन्ने आशमा अझै छन् । तर अहिलेसम्म कुनै पनि विद्यार्थी त्यहाँ भर्ना हुनका लागि नआएको उनले बताए । उनका अनुसार विद्यालयले शैक्षिकसत्र सुरु गर्न विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको थियो । विद्यार्थी भर्नाका लागि अभिभावकसम्म पुगेर बालबालिकालाई भर्ना गर्न अनुरोधसमेत गरिएको थियो । “विद्यार्थी प्रोत्साहनका लागि कापी, कलम, पोशाकको समेत व्यवस्था गर्ने सोचमा थियौँ । स्थानीय बालबालिका निजी विद्यालयमा भर्ना हुन गएका कारण यहाँ भर्ना हुन आएनन्”, प्रधानाध्यापक थपलियाले भने । 

विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएपछि प्युठान नगरपालिकाले कक्षा ५ सम्म पढाइ भइरहेको विद्यालयलाई कक्षा १ देखि ३ कक्षासम्म हुने निर्णय गरेको थियो । कक्षा १ देखि ५ सञ्चालन हुँदै आएका छ प्राथमिक विद्यालयको कक्षा ग्रेड घटाइएको प्युठान नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीले बताए । शून्य विद्यार्थीको विद्यालय के गर्ने ? भन्ने निर्णयमा प्युठान नगरपालिका छलफलमा रहेको उनको भनाइ छ ।  रासस