कस्तो छ ‘ज्याकी : आई एम ट्वान्टी वान’ ?

काठमाडौँ- गत हप्तादेखि नयाँ चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ । बनिरहेका चलचित्रको भिडमा यो फरक देखिएको छ । किनकि नृत्यलाई प्रमुख विषय बनाएर यसको कथा भनिएको छ । यसअघि नृत्यलाई नै मुख्य कथा बनाएर सिनेमाको कथा भनिएको थिएन ।
धराने केटो ज्याकी लिम्बू (धीरज मगर) मै केन्द्रित रहेको चलचित्रमा उनको पहिचान नृत्यले स्थापित गरेको हुन्छ तर ज्याकीका बुबा छोरालाई लाहुरे बनाउन चाहन्छन् । जेठा दाजु मिलनमार्फत पूरा नभएको सपना ज्याकीमाथि लादिएको छ । एकतर्फ बुबाको चाहना अर्कोतर्फ आफ्नो गन्तव्य । ज्याकी अलमलमा रहँदा नै एउटा घटनाले उसलाई काठमाडौँसम्म ल्याउँछ । ज्याकीझैँ रुबी (जसिता गुरुङ)को पनि सपना नृत्य नै हो । उनलाई आफ्नो भविष्य नृत्यकार भएर बनाउनु छ तर, घरमा आमाबाहेक उनको यो सपनामा साथ दिने कोही छैन । काठमाडौँमा यी दुईको भेट हुन्छ । एउटै गन्तव्य भएकाले सहकार्य गर्छन् । यी दुई पात्रले आफ्नो सपना पुरा गर्ने सन्दर्भमै ‘ज्याकी ः आई एम ट्वान्टी वान’को बाँकी कथा प्रस्तुत गरिएको छ ।
नृत्य निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रिनाशा राई राणाले यसको निर्देशन गरेकी हुन्। उनको यो दोस्रो निर्देशकीय चलचित्र हो तर, दर्शकलाई पर्दामा निर्मित पात्रसँग जोड्न नसक्दा यसले न त राम्रो समीक्षा नै पाइरहेको छ न त राम्रो व्यापार नै गर्न सकेको छ । पात्रहरुले आफ्ना उद्देश्य प्राप्तिका लागि प्रयत्न गर्दा आइपर्ने व्यवधान नै अवरोध हुन् ।
अवरोध नभएमा पात्रलाई उद्देश्य प्राप्त गर्न सहज हुन्छ । सहजताले दिएको सफलताले अन्यलाई प्रभाव पार्दैन। चलचित्रमा प्रमुख पात्रले आफ्नो उद्देश्य प्राप्तिका लागि खासै अवरोधहरुको सामना गर्दैनन् । तसर्थ उसको उद्देश्य प्राप्ति सजिलै हुन्छ । द्वन्द्व सिर्जनामा चुक्दा दर्शकले पात्रसँगै यात्रा गर्दैनन् । हिपहप डान्सलाई सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको छ । सङ्गीतको तालअनुसारका नृत्यका स्टेपको प्रस्तुती आकर्षक देखिन्छ। नृत्यझैँ कथालाई पर्दामा विश्वासिलो ढङ्गमा प्रस्तुत गर्न नसक्दा निर्देशक राईले राम्रो चलचित्र बनाउन चुकेकी छिन् ।
प्रमुख पात्रले सहजै गन्तव्य तय गर्न थालेपछि दर्शक जोडिँदैनन् । चलचित्रको सङ्गीत र यसमा देखाइएको नृत्यहरू धेरै मात्रामा प्रभावित भएको देखिन्छ । आफ्नो पात्रलाई जीवन्त बनाउन अभिनेता मगर, अभिनेत्री गुरुङसँगै अभिनेता अरुण क्षेत्रीले गरेको मेहनत देखिएता पनि प्रस्तुतिका कारण त्यो महसुस गर्न सकिँदैन ।
निर्माण समूहले उल्लेखित कलाकारलाई नृत्यको प्रशिक्षण नै दिएर चलचित्र निर्माण गरेको थियो । नेपाली चलचित्रमा आफ्नो पात्र निर्माणमा यस किसिमको मेहनत निकै कम कलाकारले गर्ने गरेका छन् । यद्यपि विषय र त्यसको प्रस्तुतिको कारण त्यो फिक्का देखिएको छ । एउटा गीतलाई उत्कृष्ट बनाउन निर्देशक राणाले गर्ने मेहनत चलचित्रमा देखिएको छैन । त्यसैले चलचित्र हेरिरहँदा कहीँकतै नृत्य रियालिटी सो हेरे जस्तो पनि लाग्छ तर, हिपहपका नृत्य रुचाउने, भूमिगत नृत्य गर्ने समूहलाई भने यसले आकर्षण गर्न सक्छ । किनकि चलचित्रमा कथा नभई नृत्य नै नृत्य छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया