गाउँ जानेले कसरी लगाउने ‘भेरोसेल’ को दोस्रो डोज खोप ?

काठमाडौँ : झापा, दमककी शिक्षा कार्कीले बैशाख ८ गते ‘भेरोसेल’ को पहिलो डोज खोप लगाएकी थिइन् । महाराजगञ्ज नर्सिङ क्याम्पसमा मास्टर्स गरिरहेकी उनी निषेधाज्ञाले कलेज बन्द भएपछि घर गइन् । उनी बस्ने होस्टेल अहिले बन्द छ ।
हालै उनले जेठ २ गतेदेखि भेरोसेलको दोस्रो डोजको खोप लगाउने तयारी भइरहेको सूचना पाइन् । अहिले उनी खोप लगाउन काठमाडौँ आउने/नआउने दोधारमा छिन् । ‘होस्टल बन्द छ, त्यसमाथि निषेधाज्ञाले काठमाडौँ जाने उपाय पनि छैन’ उनले दुखेसो पोखिन्, ‘खोपलाई लिएर अहिले म जस्ता धेरैजना अन्यौलमा छन् । यो विषयमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।’
यस्तो विषयमा प्रदेश सरकारले चासो नदेखाएकोमा उनको गुनासो छ । ‘यस्तै अप्ठ्यारो नपरोस् भनेर प्रदेश सरकार बनेको होइन ?,’ उनले प्रश्न गरिन्, ‘एउटा खोप लगाउन पनि केन्द्रमा थाउनुपर्यो भने संघियता आएको के काम ? प्रदेश र स्थानीय सरकार बनेको के काम ?’
प्रदेश सरकारले खोपको व्यवस्था गरे जसरी पनि खोप लगाउन जाने उनको सोच छ । ‘खोपको व्यवस्था कम्तीमा प्रदेशसम्म आइपुग्यो भने जसरी पनि जान्छु,’ उनले भनिन्, ‘काठमाडौँ त गए पनि फेरि फर्किने कसरी ?
दोलखा, चरिकोटका शेखर बराललको गुनासो पनि उही छ । निषेधाज्ञाले होटल बन्द भएपछि उनी गाउँ पसे । चैत्र ३१ पहिलो डोज खोप लगाएको कार्ड कोठामै छ । सरकारको दोस्रो डोज खोप लगाउने सूचना आएपछि उनी पनि चिन्तित छन् । ‘काठमाडौँमा धेरै कोरोना बढेको सुनिन्छ,’ उनले भने, ‘खोप लगाउने चक्करमा फेरि कोरोना बोकेर आइएला । त्यसैले अब गइन्न ।’ कोभिडले नछोओस् भनेर अहिले उनी गाउँघरमा पाइने जडिबुटी पानीमा पकाएर खाने गरेका छन् । ‘अहिलेलाई हाम्रो भ्याक्सिन त्यही हो,’ उनले भने ।
‘पहिला लगाएकै जिल्लामा मात्र लगाइन्छ’
स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा. झलक गौतमका अनुसार पहिलो डोज जुन-जुन जिल्लामा लगाइयो दोस्रो पनि तिनै जिल्लामा मात्र लगाइन्छ । पहिलो चरणमा काठमाडौँ, भक्तपुर, ललिपतुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी सात जिल्लामा खोप लगाइएको थियो ।
‘योबाहेक प्रदेश र स्थानीय सरकारलाई खोप दिइएको छैन,’ उनले भने, ‘त्यसैले खोप पहिला लगाएकै जिल्लामा लगाइन्छ । त्यहाँमध्ये आफूलाई पायक परेको खोप केन्द्रमा गएर लगाउन सकिन्छ ।’
डा. गौतमलाई फोन गरेर धेरैले यही जिज्ञासा राखिरहेका छन् । ‘उनीहरूलाई पनि हामीले यही आउनुपर्छ भनिरहेका छौँ,’ उनले भने, ‘बरु जेठ २ गते नै पालो परेकालाई १० गतेसम्म लगाउन सकिन्छ । तर, अवस्था अप्ठ्यारो भएकाले उनीहरू पुगेकै ठाउँसम्म भने खोप पुग्दैन ।’
स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले पनि यस विषयमा आफूहरूले जिम्मा लिन नसक्ने बताए । ‘त्यसको जिम्मा हामीले लिन सक्दैर्नौँ,’ उनले भने, ‘यो विषयलाई लिएर पछि केही सूचना आउला । अहिलेलाई तोकेकै खोप केन्द्रमा आएर खोप लगाउनुपर्छ ।’
‘उपत्यका बाहिर जानेको खोप सुरक्षित राखिदिनुपर्छ’
खोप विज्ञ डा.श्यामराज उप्रेतीले उपत्यकामा पहिलो डोज खोप लगाएर बाहिर जाने समस्यामा परेको बताए । ‘सूचनाअनुसार उनीहरूले दोस्रो डोज खोप उपत्यकामै आएर लगाउनुपर्ने देखिएको छ,’ उनले भने, ‘त्यस्ता व्यक्तिहरूलाई उनीहरूको भ्याक्सिन सुरक्षित तरिकाले स्टोर गरेर राखिदिनुपर्छ । पछि फर्किएर उनीहरूले आफ्नो भ्याक्सिन लगाउन पाउनुपर्छ ।’
यो भ्याक्सिनको म्याद दुई वर्ष लामो भएकाले स्टोर गरेर राख्ने सकिने उनले बताए । त्यस्तै, लामो समय दोस्रो डोज खोप नलगाउँदा त्यससको प्रभावकारिता घट्ने समेत उनले बताए । ‘भेरोसेले पहिलो मात्रा लगाएको २१ देखि २८ दिनसम्म लगाउनू भनेर उत्पादक कम्पनीले भनेको छ,’ उनले भने, ‘त्यस्तै, एउटा खोप लगाएकाले अर्को खोप लगाउनु हुँदैन भन्ने विश्वव्यापी मान्यता पनि छ । त्यसैले यो विषयलाई गम्भिरतापूर्वक लिनुपर्छ ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया