बालुवाटारमा मिल्यो बागमतीको भागबण्डा, आइतबारसम्म सरकारले पूर्णता पाउने
मकवानपुर- बागमती प्रदेशमा मन्त्रालय भागबण्डाको विषयमा भएको आपसी खिचातानी केन्द्रीय नेतृत्वको दवाबमा मिलाइएको छ ।
प्रदेश तहमा दलहरूको मागलाई सम्बोधन गर्दै भागबण्डा मिलाउन नसकिएपछि बिहीबार दिउँसो नेतृत्वलाई केन्द्रीय नेतृत्वले काठमाडौँ बोलाएको थियो । काठमाडौँमा राती अबेरसम्म चलेको छलफलपछि भागबण्डा मिलाइएको बुझिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा यो विषय मिलाइएको हो । भागबण्डा विवाद नमिल्दा नेकपा माओवादी केन्द्र नेतृत्वको बागमती सरकार निरन्तर दवाबमा परेपछि प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका नेताहरूलाई बालुवाटार बोलाएका थिए ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा र नेकपा एकीकृत समाजवादीका नेता तथा निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनाललाई राखेर प्रधानमन्त्री प्रचण्डले विवाद मिलाएका हुन् ।
अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको बालुवाटार बैठकमा प्रचण्डले लामा र खनाललाई मिलेर जान सुझाएका थिए ।
गठबन्धनका शीर्ष नेतृत्वको निर्देशनअनुसार भागबण्डा विवाद मिलेको नेता खनालले जानकारी दिएका छन् । खनालका अनुसार यससँगै झण्डै २ महिनादेखि मन्त्रालयको विषयमा भएको विवाद टुंगिएको छ ।
उनका अनुसार एकीकृत समाजवादीले २ र काँग्रेसले ३ वटा मन्त्रालय पाउने पक्का भएको छ । यस अघि मंगलबार पनि मोटामोटी यही सवालमा सहमति मिलेपछि आपसी विद्रोह कायम रहेको भन्दै अन्तिम प्रयासको लागि काठमाडौँ बोलाइएको थियो ।
नेतृत्वले अबको आइतरबारभित्र सरकार विस्तार गर्नेगरी निर्देशन दिएको छ । 'आइतबारसम्म सरकार विस्तार गर्नुपर्ने छ' खनालले इकागजसँग भने 'अब चाँही विवाद सकियो ।' सत्तासिन दलहरूको मन्त्रालय भागबण्डाको विवादले प्रदेश सरकार आफ्नो गतिमा अघि बढ्न सकेको थिएन ।
यसअघि नेपाली कांग्रेसले ६ वटा र एकीकृत समाजवादीले दुईवटा मन्त्रालय नलिई नछोड्ने अडानका कारण विगत ५४ दिनदेखि सरकार पूर्ण हुन सकेको थिएन । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मंगलबार कांग्रेसलाई पाँचवटा र एकीकृत समाजवादीलाई दुईवटा मन्त्रालय भागमा पर्ने गरी भागबण्डा लगाइदिएपछि विवाद आपसी तिक्तता अझै बढेको थियो । मुख्यमन्त्री जम्मकट्टेलले लगाएको भागबण्डाले चित्त नबुझेपछि एकीकृत समाजवादीले सरकार छोड्नेसम्मको चेतावनी दिएको थियो ।
प्रदेश सरकारमा खटपट हुने संकेत पाएपछि प्रधानमन्त्री प्रचण्डले नेताहरूलाई बालुवाटारमा बोलाएर मन्त्रालयको भागबण्डा मिलाएका हुन् । बागमती प्रदेशसभामा नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया