मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

हो, जनता नबेच्‍ने हर्क साम्पाङ 'बहुला' हो

ढुङ्गा बोक्ने- बहुला हो
गिट्टी फोर्ने- बहुला हो !
चोर्न सक्ने ठाउँमा पुगेपछि पनि
चोर्दै नचोर्ने- बहुला हो !

यति, ओम्नी नपाल्ने- बहुला हो 
कात्रोमा खल्ती नहाल्ने- बहुला हो !
कति दु:ख गरेर मिलीजुली भत्काएको देश
एक्लै बनाउन थाल्ने- बहुला हो !

बजेट खाई-म्याउन छोडेर ।
काम गरी भ्याउने- बहुला हो !
आँगनमा पानीजहाज ल्याउन छोडेर
धारामा पानी ल्याउने- बहुला हो !

झोला नबोक्ने- बहुला हो
दास नबन्‍ने- बहुला हो !
भ्रष्टाचारीलाई 'बा' नभन्ने बहुला हो !

चुनाव जितेपछि पनि व्यहार नफेर्ने-बहुला हो ।
'देश नबना'भन्दा मरिगए नटेर्ने- बहुला हो !
तुइनबाट नदीमा खस्दै गरेको मान्छेलाई
भ्यू टावरबाट दूरबिनले नहेर्ने- बहुला हो !

हो, जनता नबेच्‍ने
हर्क साम्पाङ 'बहुला' हो !

(पराजुलीको फेसबुकबाट)