कर्णालीमा खुल्दै फिस्टुला पीडित, चार सयले पाए उपचार

सुर्खेत- पछिल्लो समय फिस्टुला पीडितहरू खुल्न थालेका छन् । जनचेतनाको अभावका कारण समस्या लुकाउँदै आएका महिलाहरू उपचार हुन्छ भन्ने थाहा पाएपछि समस्या राख्न थालेका हुन् ।
पहिले ग्रामीण भेगमा उपचारको अभावमा महिलाहरू रोग लुकाएर बस्न बाध्य थिए । अहिले उपचार हुने थाहा पाएपछि उनीहरू खुल्न थालेका छन् । कर्णालीमा आयोजना हुने विभिन्न शिविरमार्फत झण्डै चार सयले फिस्टुलाको उपचार सेवा लिएका छन् । फिस्टुला अस्पतालका अनुसार शिविरमार्फत दुई सय ६६ र नियमित सेवा उपचारमार्फत एक सय २५ महिलाले उपचार पाएका छन् ।
साइनिङ्ग अस्पताल आई एनएफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा फिस्टुला उपचार केन्द्र वीरेन्द्रनगरबाट नि:शुल्क सेवा प्रदान हुँदै आएको छ । अस्पतालले कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका दुर्गम जिल्लाहरूमा स्त्रीरोग सम्बन्धी शिविर सञ्चालन गर्ने क्रममा केही फिस्टुला बिरामीहरू पहिचान भएको अस्पतालले जनाएको छ ।
फिस्टुला केन्द्रका निर्देशक तथा स्त्रीरोग विशेषज्ञ डा. सेर्ली हेउडले पछिल्लो समय अस्पतालमा सेवा लिन आउनेको संख्या बढेको बताइन् । उनले विभिन्न ठाउँमा फिस्टुलाको समस्याबाट पीडित महिलाहरूको उपचारका लागि देखेको सपना पूरा भएको बताइन् ।
प्रदेश अस्पतालका निमित्त निर्देशक डाक्टर गणेश थापाले फिष्टुला सम्बन्धी जनचेतना जगाउन सके रोगको पहिचान हुन सहज हुने बताए । पछिल्लो समय अस्पतालले दिएको सेवा प्रभावकारी भएकै कारण बिरामीहरूको चाप बढेको थापाको भनाइ छ ।
प्रदेश अस्पतालका स्त्रीरोग विभागका प्रमुख केशर ढकालले कर्णालीका महिलाहरूमा फिस्टुलाको समस्या अत्यधिक हुने गरेकाले सुर्खेतमा अस्पताल स्थापना गरिएकाले सहज भएको बताउँछन् । उनले बिरामीले रोग लुकाउने चलनका कारण यस क्षेत्रमा फिस्टुला नियन्त्रणमा चुनौती देखिएको बताए ।
फिस्टुला केन्द्रले निःशुल्क उपचारका साथै बिरामी र कुरुवालाई यातायात खर्चसमेत उपलब्ध गराउँदै आएकाे छ ।
नेपाल पत्रकार महासंघ सुर्खेतका निवर्तमान उपाध्यक्ष माया थापाले पश्चिम नेपालका फिस्टुला रोगबाट ग्रसित महिलाहरूको पूर्ण रूपमा निःशुल्क उपचार पाउने व्यवस्था रहेको बताउँछिन् । उनले अझै ग्रामीण क्षेत्रमा रोग लुकाउने समस्या देखिएकाले जन चेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताइन् ।
बच्चा जन्माउँदा लामो प्रसव बेथाका कारणले महिलाको पिसाब थैली र योनीद्वारमा प्वाल परी पिसाब चुहिने समस्यालाई फिस्टुला भनिन्छ । सन् २०३० सम्म फिष्टुला अन्त्य गर्ने सरकारले लक्ष्य लिएको छ ।

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

प्रतिक्रिया